|

दैलेख : जिल्लाका सिरिस्थान नावीस्थान, कोटिला, धुलेश्वर लगायत क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली आउने भएको छ । 

जमिनमुनिबाट पेट्रोलियम ग्यास निस्किरहेको पञ्चकोशी क्षेत्रमा पेट्रोलियम अन्वेषण औपचारिकरुपमा सुरु गर्न चिनियाँ टोली आउन लागेको हो।

नेपाल र चीनबीच लामो छलफलपछि चीनको विशेषज्ञ टोली ग्यँस अन्वेषणका लागि यही असार १५ गते दैलेख आउने प्रतिनिधि सभा सांसद रवीन्द्रराज शर्माले जानकारी दिए। 

केपी शर्मा पहिलो पटक प्रधानमन्त्री हुँदा भारतले नेपालमा नाकाबन्दी गरेपछि मुलुकभर पेट्रोलियम पदार्थको चरम संकट भएको थियो। 
त्यसपछि २०७२ मंसिर २१ गते तत्कालिन सरकारका उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले शिरिस्थानमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने घोषणा गरेको थियो। 

त्यही अनुसार चाइना जिओलोजीकल सर्वेका उपप्रमुख वाङकुलसहितको टोली आउन लागेको हो। नेपालको तर्फबाट खानीतथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा बेइजिङ पुगेर सम्झौता गरेका थिए। 

त्यही सम्झौता अनुसार असार १५ देखि पेट्रोलियम अन्वेषण अघि बढ्ने छ। खानी तथा भूगर्भ विभागका परियोजना प्रमुख सुदीप रजौरेले शिरिस्थानबाटै औपचारिक काम थालिने बताए । नेपाल–चीनबीच २ अर्ब २० करोड बजेट यसमा लगाउने सम्झौता भइसकेको छ।

समृद्धिको ढोका खुल्छ। 

पेट्रोलियम अन्वेषणका लागि लामो समय कसरत गरिएको बताउँदै सांसद रवीन्द्र राज शर्माले यसले जिल्लाको विकासमै फरक पर्ने बताए ।

यही वर्षबाट दैलेख हुँदै चीनसम्मको सिमानामा रहेको नाम्जे–नाँग्ला सडक सरकारको प्राथमिकतामा रहेकोे छ। यो सँगै पेट्रोलियम अन्वेषण खानी उत्खनन् भएमा दैलेखले समृद्धि हासिल गर्ने शर्माले बताए ।

दैलेखका शिरिस्थान, नाभीस्थान, पादुका, धुलेश्वर र पञ्चकोशी क्षेत्रमा पेट्रोलियम रहेको छ। यो क्षेत्र धार्मिक तथा पर्यटकीय केन्द्र पनि हो ।

यो क्षेत्रमा पछिल्ला दिनहरुमा पर्यटकहरुको उलेख्य उपस्थिती हुँदै आएको छ । मुगुको राराताल घुमेर आउने अधिकांह पर्यटकहरु दैलेखको पंचकोशी क्षेत्र पुगेर फर्कने गरेका छन् । पञ्चकोशी क्षेत्रको अस्तित्व बचाएर अन्वेषण हुने सांसद शर्माले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.