|

बैतडी : बैतडीका खडक बोहरा १९ वर्षमुनीको राष्ट्रिय टोलीमा पर्न सफल भएका छन्।  मलेसियामा हुने यू–१९ इस्टर्न रिजन खेल्ने टिमको नामावली मंगलबार सार्वजनिक गरिएको हो।

यसअघि मलेसियामै भएको आईसीसी यू–१९ विश्वकप छनोटमा सहभागिता जनाएका चार खेलाडीलाई छोड्दै प्रशिक्षक विनोद दासले चार जना नयाँ खेलाडीलाई मौका दिएका छन्।

यू–१६ टिमका कप्तान विशाल बिक्रम केसी, लोकेश बम, खडक बोहरा र तिलक भण्डारीले टिममा स्थान बनाएका छन्। खडक बैतडीको निंगलाशैनी क्रिकेट क्लवमा आवद्ध खेलाडी हुन्।  उनले प्रधानमन्त्री क्रिकट कप र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेकाले टिममा पर्न सफल भएका हुन्।

खडक प्रधानमन्त्री क्रिकट कपमा उदयीमान खेलाडी भएका हुन् भने  आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान भएका थिए। खडक यू १९ टोली पर्न सफल भएसँगै खुसी लागेको निंगलाशैनी क्रिकेट क्लवका म्यानेजर रोशन बोहराको भनाई रहेको छ।

यसअघि टिममा रहेका आसिफ शेख, सन्दिप जोरा, सूर्य तामाङ र अविषेक बस्नेत भने यो पटक टिमबाट बाहिरिएका छन्  । जुलाई २ देखि ९ सम्म हुने प्रतियोगितामा आठवटा टिम सहभागि छन् ।

मलेसिया जाने खेलाडीको सूची रोहित कुमार पौडेल (कप्तान) रित गौतम, पवन सर्राफ, भीम शार्की, हरि बहादुर क्षेत्री (चौहान), कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, प्रतिश जिसी, विशाल बिक्रम केसी, लोकेश बम, खडक बोहरा र तिलक बम रहेका छन्।

५० ओभरको प्रतियोगितामा नेपाल, हङ्कङ, मलेसिया, सिंगापुर, थाइल्याण्ड, भुटान, चीन र म्यानमार छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारसंग खेल्ने भएको छ। समूह ’ए’ मा रहेको नेपालले म्यानमारसंग जुलाई २ मा खेल्नेछ। यस्तै नेपालले दोस्रो खेलमा जुलाई ५ मा सिंगापुर र अन्तिम खेलमा जुलाई ६ मा चीनसंग खेल्नेछ।

अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन्। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.