|

डडेल्धुरा : भूगोलका हिसाबले नेपालकै दोस्रो ठूलो नगरपालिका परशुराम नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ को लागि ६१ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट बनाएको छ।

जोगबुडामा मंगलबार आयोजित पाँचौ नगरसभामा नगरप्रमुख भीमबहादुर साँउदले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको बजेट सार्वजनिक गरेका हुन्।

नगरको बजेटमा नेपाल सरकारको सशर्त अनुदान तर्फ २२ करोड ८७ लाख र वित्तीय सामान्यीकरणतर्फ ११ करोड ९१ लाख अनुदान रहेको छ। यस्तै नेपाल सरकारबाट प्राप्त राजश्व अनुदानतर्फ ११ करोड ४३ लाख अनुदान दिने प्रस्ताव बजेटमा छ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सामान्यीकरणमा ७२ लाख २१ हजार र राजश्व अनुदानतर्फ ३६ लाख ८६ हजार रुपैयाँ अनुदान दिने बजेटमा अनुमान गरिएको छ।

परशुराम नगरपालिकाले आन्तरिक स्रोत परिचालनबाट कूल बजेटको १ करोड ७५ र सञ्चित कोषतर्फ ५ करोड ७० लाख ५८ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ।

यस्तै ज्येष्ठ नागरिक, दीर्घ सेवा समान तथा सामाजिक सुरक्षा कार्यक्रम तर्फ ५ करोड ७५ लाख, प्रदेश तथा स्थानीय तह क्षमता विकास कार्यक्रममा ५ लाख, सडक बोर्ड नेपालबाट ४० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६० लाख र बहुक्षेत्रीय पोषण कार्यक्रमबाट १७ लाख ८६ हजार गरी कुल ६१ करोड ३३ लाख ५१ हजारको अनुमानित बजेट ल्याएको हो।

उनले चालू आर्थिक वर्षको यथार्थ आय ५१ करोड ९६ लाख ९४ हजार ४ सय ५० र जेठ मसान्त सम्म ३१ करोड ४६ लाख ७८ हजार ४ सय ७५ रुपैँया खर्च भएको नगरप्रमुख साँउदले जानकारी दिए।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतलाई पहिलो प्राथमिकतामा राखेर बजेट आएको छ। उद्यमशिलता र तालिममा पनि जोड दिएको साँउदको भनाइ छ। पहिलेको भन्दा थप सुधार भएर आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याएको उनको दाबी छ। परशुराम नगरपालिकाको नीति तथा कार्यक्रममा धेरैजसो पुरानै प्राथमिकताका क्षेत्र समेटिएका छन्। विगतमा जस्तै यसपालि पनि पूर्वाधार विकासमै जोड दिइएको छ।

आलिताल गाउँपालिकाले पनि आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गरेको छ। गाउँपालिका उपाध्यक्ष जला कुमारी बिष्ट बोगटीले ३६ करोड, ९७ लाख ५० हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन्। गाँउपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका विषयलाई मुख्य प्राथमिकतामा राखेको छ।

भागेश्वर गाउँपालिकाले पनि आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गरेको छ। गाँउपालिकाका उपाध्यक्ष पदम बोहोराले ३० करोड, ९ लाख, २० हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।

जसमा चालु तर्फ ४ करोड ९२ लाख ७६ हजार बजेट विनियोजन गरिएको छ। यस्तै गाउँपालिकाले ‘उज्यालो भागेश्वर कार्यक्रम’का लागि १ करोड ५ लाख ७५ हजार रकम विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधीकृत खगेन्द्र भारतीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.