कम्पनीले पैसाको लोभ देखाएर स्वार्थ उठायो  : गाउँपालिका अध्यक्ष

|

दैलेख : जिल्लाको नौमूले गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको पदमखोला लघु जलविद्युत् आयोजनाले वातावरणीय संरक्षणमा लापररबाही गर्दै प्राकृतिक सम्पतिको दोहन गरेको पाइएको छ।

निर्माणाधीन अवस्थामा रहेको ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनतर्फ ध्यान नदिएर सडकभन्दा दुई मिटर तल पाइप गाड्नका लागि भित्तातिरको जमिन खन्दा अहिले त्योभन्दा माथिको सबै भाग पहिरोको रुपमा खसेको छ। भने उक्त पहिरोनजिकै रहेको पदम खोलामा डुंगा माटो फालेपछि १ किलोमिटर खोला पूर्णरूपमा पुरिएको देखिन्छ।

पैसाको लोभ देखाएर स्वार्थ उठायो

विद्युत् उत्पादनको जिम्मा लिएको निकायहरूले लापरबाही गरेकाले बर्खा सुरू भएसँगै गाउँ  नै पहिरोले बगाउने खतरा रहेको गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए।

निर्माण कम्पनीले जनतालाई पैसाको लोभ देखाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप लगाउँदै उनले आयोजनाले कुल लागतको ०.७५ प्रतिशत रकम पूर्वाधारलगायतका अन्य क्षेत्रहरूमा खर्च गर्नुपर्ने प्रावधान भए पनि सामान्य रकम मात्र लगानी गरेको र अन्य रकम टाठाबाठा बोल्ने व्यक्तिलाई बाँड्ने काम गरेको

आरोप लगाउँदै गाउँपालिकासँग कुनै पनि समन्वय नगरी काम गरिरहेको र सामान्य सूचना पाउने सबै जनताको अधिकार भए पनि हाइड्रो निर्माण गर्दा कसले निर्माण गर्दै छ। कति लागतमा निर्माण हुँदै छ स्थानीय सरकारलाई पनि जानकारी नभएको र दुर्गमका सोझा जनतालाई गुमराहमा राखेको बुढाले बताए।

उक्त गुनासो जिल्ला समन्वय समितिमा आएलगत्तै स्थालगत अध्ययनपछि खोला पुरिएको देखिएको र तत्काल खोला खोल्न जैविक विविधता संरक्षण गर्न आयोजना निर्माणको काम गर्दा वातावणीय प्रभाव मूल्यांकनतर्फ ध्यान दिएर मात्र काम अगाडि बढाउन आफूले निर्देशन दिएको जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले बताए।

निर्माणको जिम्मा लिएको दोल्ती पावर कम्पनीका सञ्‍चालक समिति सदस्य कुमार कार्कीले निर्माण कार्य सुरु गर्दा पहिरो आएपछि माटो फाल्ने अन्य ठाउँ नभएका कारण खोलाको प्रयोग गरिएको र अहिले खोलामा फालिएको ढुंगा माटो पन्छाउने काम भइरहेको बताएका छन्।

गाउँ नै पहिरोको जोखिममा

आयोजनाको लापरबाहीका कारण निर्माणस्थलभन्दा माथिल्लो भूभागमा रहेको नौमूले गाउँपालिका ५ को नौ गाउँनै पहिरोको उच्च जोखिममा परेको छ। १५ देखि १८ घर रहेको उक्त वस्ति बर्खाको भेलसँगै बग्ने खतरा रहेको गाउँपालिकाका अध्यक्ष भदे बुढा मगर बताउँछन्। आयोजना निर्माण गर्दा क्षति पुग्ने क्षेत्रमा मुआव्जा वितरण गर्दा आयोजनाले स्थानीय सरकारसँग कुनै पनि समन्वय नगरी बोल्ने र बाठाहरूलाई बढी पैसा बाँडेको र सोझा गरिब नबोल्ने जनतालाई ठगेको गुनासो गाउँपालिकामा आउने गरेको बताए।

हाइड्रोको पाइपलाइन खन्दा खोला पुरिएका कारण बर्खामा आउने बाढी पहिरोले नौमूले बजारनै बगाउने खतरा बढेकाले विकासको बारेमा सबै बोल्ने गरेको भए पनि विनासको विषयमा कुनै पनि निकायले चासो नदेखाएको बताउँदै राजनीतिक दलको संरक्षणमै निर्माण कम्पनीले प्राकृतिक सम्पतिको दोहन गर्दा जुनसुकै बेला पनि प्राकृतिक विपत्ति निम्तिन सक्ने देखिएको बताउँदै गाउँपालिकाका अध्यक्ष बुढाले राजनीतिक दलको संरक्षणमा हाइड्रोले विपत्ति आउनसक्ने खतरा निम्त्याएको बताए। 

७२ करोडको लागतमा निर्माण गर्न लागिएको उक्त आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै सकाउने गरी काम भइरहेको निर्माण कम्पनीले जनाएको भए पनि वातावरणीय प्रभाव मूल्यांकनतर्फ ध्यान नदिएर हेलचेक्रयाइँ गरेको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.