|

काठमाडौं : सरकारले जारी गरेको निषेधित क्षेत्रमा नियम मिचेर पार्किङ गरेको सरकारी गाडी समात्दा ट्राफिक प्रहरीले गाली खानुपरेको छ । बुधबार बिहान साढे १० बजेको समयमा सिंहदरबारको पूर्वी गेटमा नियम मिचेर पार्किङ गरेको गाडीमा साङ्लो लगाउने ट्राफिक प्रहरीले गाली खानु परेको हो । 

पूर्वी गेट अगाडि अनधिकृत पार्किङ गरिएको गृह मन्त्रालयका सह-सचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा ह्वील लक गरेपछि ट्राफिक प्रहरीले गाली खानु परेको हो । 

सह-सचिव सुवेदीले प्रयोग गर्दै आएको बा २ झ ३४६ र बा २ झ ४३८८ नम्बरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले साङ्लो हालेर राखेपछि गृहमन्त्रालयका एक कर्मचारी आएर उनलाई हप्काएको प्रत्यक्षदर्शी याग्यामब श्रेष्ठले जानकारी दिएका छन्। 

ट्राफिक प्रहरीले गाडी लक गरेको खबर सुनेपछि खाना खान भनेर गएका प्रवक्ता सुवेदी चालकलाई लिएर गाडी लक गरिएको ठाउँमा आए । प्रवक्ता सुवेदीले आफू गृह मन्त्रालयको प्रवक्ता भएको बताउँदै ट्राफिक प्रहरीलाई चिट नकाट्न आदेश दिए। 

तर, ट्राफिक प्रहरीले सुवेदीको कुरा नसुनी गाडीका कागजपत्र देखाउन भने । कागजपत्र मागेपछि प्रवक्ताका चालकले आफ्नो गाडी गृह मन्त्रालयको भन्दै ट्राफिक प्रहरीलाई उल्टै सम्झाउन खोजे । तर, ट्राफिक प्रहरीले गाडीको ह्वीलमा लक हालिसकेकाले कागजपत्र नल्याएसम्म नछाड्ने बताए । 

ट्राफिक प्रहरीले अड्डी कसेपछि गृह प्रवक्ता सुवेदीले त्यहीँबाट फोन हाने। प्रवक्ता सुवेदी ट्राफिकका हाकिमलाई फोन गर्न व्यस्त रहँदा पनि सवारी चालक ट्राफिक प्रहरीलाई गाडी छाड्न आग्रह गर्दै थिए। यो विवादबीच त्यहाँ अन्य मान्छे भेला भएका थिए। 

गृहप्रवक्ताले फोन गरेपछि उताका व्यक्तिसँग ती ट्राफिकलाई पनि बोल्न भनियो। ट्राफिक प्रहरीले फोनमा केही बेर बोलेपछि उनी निराश देखिए। सुवेदीसँगै आएका अर्का व्यक्तिले ट्राफिक प्रहरीलाई कुरै नबुझी गाडी लक किन गरेको भन्दै गाली गर्नसमेत भ्याए।

फोनमा बोलेपछि ती ट्राफिक प्रहरीले गृह प्रवक्ताको गाडीको ह्वीलमा हालिएको लक खोलिदिए। गाडीको लक खोलेपछि त्यसैमा चढेर प्रवक्ता रिसाएर सिंहदरबारतिर हान्निए।  प्रत्यक्षदर्शी श्रेष्ठले भने प्रवक्ता गएपछि ट्राफिक प्रहरी भन्दै थिए, ‘म त काम गरेर खाने मान्छे हो, जहाँ सरुवा गरे पनि के भो र ?’

ट्राफिकमाथिको हप्कीदप्की हेरेका श्रेष्ठले कानुन पालना गराउने नै मनपरीमा उत्रेको भन्दै गुनासो गरे। 'कानुन पालना गराउने निकायले कानुनको पालना गराइरहेका प्रहरी दाइलाई दवाब दिएर कारवाही फिर्ता गराउन खोज्ने? त्यति मात्रै हो र फोनमार्फत् कुरा गराएर प्रहरीलाई तर्साउन खोज्ने ?', उनले भनेका छन्, 'जे होस् उनले कारवाही गरे, सलाम छ ती प्रहरीलाई।  तर यिनको सरुवा गर्ने होला तिमीले सरकार! होसियार हामीले हेरिराखेका छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.