|

भक्तपुर : सूर्यविनायक नगरपालिकाको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट चालु आर्थिक वर्षको तुलनामा ७१ प्रतिशतले वृद्धि भएको छ। चालु आवको लागि ७६ करोड ४५ लाख २७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको सूर्यविनायकले आगामी आवका लागि एक अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरको पाचौं नगरसभामा मंगलबार उपप्रमुख जुना बस्नेतले चालुतर्फ ६० करोड ८० लाख र पुँजीगततर्फ ६९ करोड २० लाख रुपैयाँ गरी कुल एक अर्ब ३० करोडको बजेट सार्वजनिक गरेकी हुन्।

बजेटको चालुतर्फ ११ करोड २८ लाख कर्मचारीको तलवभत्ता, सामाजिक सुरक्षातर्फ ८ करोड ९९ लाख, विषयगत शाखातर्फ ५ करोड १० लाख र शसर्त कार्यका लागि ३५ करोड ४३ लाख विनियोजन गरेको उपप्रमुख बस्नेतले जानकारी दिए।

बजेटको आयतर्फ आन्तरिक स्रोतबाट ४६ करोड ४६ लाख ७० हजार, प्रदेश सरकारको समानीकरण अनुदानतर्फ एक करोड १३ लाख, प्रदेश सरकारको सशर्त अनुदानबाट १० करोड, नेपाल सरकारको समानीकरण अनुदानतर्फ २० करोड ३८ लाख र नेपाल सरकारको सशर्त अनुदानबाट २४ करोड ८३ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ।

बजेटले पूर्वाधार विकासमा जोड दिएको उपप्रमुख बस्नेतले जानकारी दिइन्। उनका अनुसार नगरपालिकाको स्रोतलाई ठूला पूर्वाधार विकासमा लगानी गर्ने नीतिअनुरुप प्रत्येक वडामा कम्तिमा १ वटा १ करोड रुपैयाँभन्दा माथिको योजना पर्ने गरी ११ करोड ५० लाख रकम विनियोजन गरेको छ। नगरस्तरीय विभिन्न पूर्वाधार विकास आयोजनाका लागि थप १० करोड ७० लाख रकम विनियोजन गरिएको छ।

प्रस्तुत बजेटमा वडातहका लागि १२ करोड ७० लाख विनियोजन गरेको छ जसमध्ये १२ करोड पुँजीगततर्फ र विषयगत शाखा लक्षित वर्गमा प्रत्येक वडाका लागि कम्तिमा ७ लाखका दरले ७० लाखको क्षमता विकास तथा विविध आयआर्जनका कार्यक्रमको लागि विनियोजन गरेको छ।

सूर्यविनायकले आगामी वर्ष पूर्वाधार निर्माणका लागि ठेक्का प्रणालीलाई प्राथमिकतामा राखेको छ। नीति, कार्यक्रम तथा बजेटमा नगरपालिकाले आगामी वर्ष ५ लाख रुपैयाँभन्दा माथिका योजना ठेक्का प्रणालीबाटै गर्ने योजना राखेको छ। नगरपालिकाले उपभोक्ता समितिमार्फत सन्चालन गर्ने आयोजनामा कम्तिमा २५ देखि ३५ प्रतिशत लागत सहभागिता अनिवार्य गर्ने नीति लिएको छ। 

नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ। आगामी वर्ष वडा न. ६ र १० को समेत वडा कार्यालय भवन निर्माण गर्न ८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

नीति कार्यक्रममा नारै–नारा

सूर्यविनायक नगरपालिकाको पाँचौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम नारै नाराले भरिएको छ। नगरप्रमुख बासुदेव थापाले प्रस्तुत गरेको १३० बुँदे नीति तथा कार्यक्रममा २० वटा नारा समावेश गरिएको छ।

‘कृषि, शिक्षा, पर्यटन र पुर्वाधार–सूर्यविनायक संमृद्धिको मुल आधार’ भन्ने मुल नारा तय गरेको नीति तथा कार्यक्रममा ‘कृषि तथा पशुपालनमा आधुनिकीकरण–कृषकको जनजिविकामा रुपान्तरण’, शिक्षा, युवा तथा खेलकुद पूर्वाधार–सन्तुलित नगर विकासको आधार’, धर्म, संसकृति, पर्यटन र विज्ञान–जैविक विविधतासहितको राष्ट्रिय प्राणी उद्यान’, विकासको मुल आधार–वातावरणमैत्री दिगो पूर्वाधार’, सडक यातायात पूर्वाधार–तीब्र छिटो विकासको आधार’, हनुमन्ते कोरिडोर निर्माण व्यवस्थापन–ट्राफिक समस्याको दिगो समाधान’ लगायत नारा समावेश गरिएको छ।

त्यसैगरी व्यवस्थित शहरी विकास : आर्थिक सामाजिक समृद्धिको निकास, एकीकृत योजनाबद्ध वस्ती विकास : नागरिकका लागि दिगो र उत्थानशील आवास, स्वस्थ्य स्वच्छ शहर : आम नागरिकको रहर, वन तथा जलाधार : नगर स्वच्छताको पूर्वाधार, विपद जोखिम न्यूनिकरणको योजना : उत्थानशिल नगरको परिकल्पना, लैङ्गिक समानता र सामाजिक समावेशीकरण : यसबाट हुने छैनन कोही वञ्चितीकरण, संस्थागत क्षमता विकास र सदृढिकरण : मुस्कानसहितको नतिजामुखी सेवा वितरण, सूचना प्रविधि र आमसञ्चार, सेवा र सुविधाको पहुँचयुक्त प्रचार प्रसार, वित्तिय अनुशासन र मितव्ययिता : स्रोत परिचालन प्रभावकारिता, दिगो अधारसहितको स्रोत परिचालन : वित्तीय जोखिमरहित राजस्व प्रशासन, सहकारी वित्तिय क्षेत्र, उत्पादन र लगानी नागरिक पहुँच भित्र, पहुँच योग्य स्वास्थ्य विमासहितको सेवा : स्वास्थ्य नागरिक जीवनको लागि टेवा भन्ने नारा तय गरेको छ।

चालु वर्षको जेठसम्म ७६ प्रतिशत खर्च

सूर्यविनायक नगरपालिकाले चालु वर्षको लागि स्विकृत बजेट ७६ करोड ४५ लाख २७ हजार रुपैयाँ मध्ये जेठ मसान्तसम्म ७६ प्रतिशत खर्च भएको जनाएको छ। नपाले चालु वर्षको जेठ मसान्तसम्म चालु खर्चतर्फ स्विकृत ३९ करोड २४ लाख ४३ हजार मध्ये २९ करोड ९१ लाख ५९ हजार  पूँजीगततर्फको ३७ करोड २० लाख २४ हजार रुपैयाँ मध्ये २८ करोड ३८ हजार रुपैयाँ खर्च भएको जनाएको हो।

‘जेठ मसान्तसम्म चालु वर्षको स्वीकृत बजेटको ७६ प्रतिशत खर्च  र ९० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ,’ नगरप्रमुख बासुदेव थापाले भने। जेठभित्र वडास्तरीय पूँजीगत बजेटबाट १ सय ४०, नगरस्तरीय ८ वटा ठूला पूर्वाधार, ६०/४० लागत साझेदारीका १३ वटा र अन्य ५० वटा गरी कूल २११ वटा पूर्वाधार विकासका योजना सम्पन्न भएको नगरप्रमुख थापाले बताए।

आयमा तीन गुणा वृद्धि

चालु आर्थिक वर्ष सूर्यविनायक नगरपालिकाको आन्तरिक आयमा अनुमानित भन्दा तीन गुणा बृद्धि भएको छ। चालु वर्ष १२ करोड १० लाख आन्तरिक आय हुने अनुमान गरेको नपाले जेठ मसान्तसम्म ३१ करोड ३७ लाख २२ हजार २५३ रुपैंया आम्दानी गरेको जनाएको छ।

नगरपालिकाका अनुसार जेठ महिनासम्म नपाले १२ करोड ८१ लाख ३ हजार ४ सय ५४ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ भने घर जग्गा रजिस्ट्रेसन शुल्कवापत १५ करोड ४२ लाख १९ हजार २ सय ३२ रुपैयाँ, संघको राजस्व बाँडफाँटबाट ३ करोड १३ लाख ९९ हजार ५ सय ६७ रुपैयाँ, नगद लागत साझेदारीबाट एक करोड २० लाख, सामाजिक सुरक्षा भत्तावापत ६ करोड ५७ लाख ९० हजार, संघको समानीकरण अनुदानतर्फ १९ करोड ६१ हजार र प्रदेशको समानीकरण अनुदानतर्फ ९२ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ।

त्यस्तै संघको सशर्त अनुदानवापत २१ करोड १ लाख २५ हजार, प्रदेश सरकारको सशर्त अनुदानबाट ८ करोड ११ लाख ८० हजार, सडक बोर्डबाट ३७ लाख ६२ हजार ६ सय सात, प्रधानमन्त्री रोजगार कार्यक्रमवापत ५४ लाख ८७ हजार, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट एक करोड ५ लाख र अन्य आय २ करोड ४० लाख ९४ हजार गरी जम्मा रु. ९३ करोड २० लाख ४२ हजार आठ सय ६० रुपैयाँ नगरपालिकाको सञ्चित कोषमा आम्दानी दाखिला नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.