अख्तियारले नियन्त्रणमा लिएपछि मोसो

|

 कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर सम्पर्क कार्यालयको टोलीले बिहीबार जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख उपसचिव अजितकुमार श्रीवास्तवलाई दुई लाख रुपैयाँ नगदसहित रंगेहात पक्राउ गर्‍यो।

श्रीवास्तवसँगै कार्यालयका सूचना अधिकारी इन्जिनियर गृष्मा ठगुन्नासमेत सोही आरोपमा पक्राउ परिन्।

पक्राउ परेका दुवै जनालाई अख्तियारको महेन्द्रनगरस्थित सम्पर्क कार्यालयमा राखिएको छ।  पक्राउ परेका दुवैलाई काठमाडौं लगिने भएको छ।

दुवैलाई बिहीबार जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइने र शुक्रबार हवाइजहाजमार्फत काठमाडौं लगिने कार्यालयका सूचना अधिकारी टोप बहादुर विष्टले बताए।

घटनामा बरामद गरिएको रकम र पक्राउ परेकाहरूको वस्तुस्थितिका विषयमा अहिले अख्तियारका कर्मचारीहरू प्रतिवेदन तयार गर्ने कार्यमा जुटेका छन्।

कसरी पक्राउ परे श्रीवास्तव

योजना सम्पन्न गरेपछि भुक्तानी दिने क्रममा श्रीवास्तवले घुस माग्ने गरेको उजुरी अख्तियारको कार्यालयमा परेपछि उनीमाथि निगरानी बढाउन यसअघि देखि नै शुरु गरिएको थियो।

भीमदत्त नगरपालिका १९ को चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी माग्न गएका उपभोक्ता समितिका पदाधिकारीसँग घुस माग्न थालेपछि उपभोक्ताले अख्तियारको कार्यालयमा जानकारी गराएका थिए।

जानकारीका आधारमा अख्तियारको टोली जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय पुगेपछि उपभोक्ताले घुसको रकम दिए। अख्तियारको टोली आएको सुइको पाएपछि हतारहतारमा रकम लगेर श्रीवास्तवले आफ्नो नीजि किचनमा राखिएको चामलको बोरामा लुकाए। सोही क्रममा उनी अख्तियारको फन्दामा परेका हुन्।

‘उपभोक्ताले जानकारी दिएपछि चामलको बोरामा पैसा राख्न लागेकै बेला नियन्त्रणमा लिएको हो’ अख्तियारका सूचना अधिकारी विष्टले थाहाखबरसँगको कुराकानीका क्रममा भने,  'सेवाग्राहीकै सूचनाका आधारमा समातेका हौँ। पहिला पनि घुस लिने गरेको उजुरीसमेत आएको छ। त्यसको पनि छानविन भइरहेको छ।’

अख्तियारले नियन्त्रणमा लिएपछि श्रीवास्तवमाथि मोसो

अख्तियारले नियन्त्रणमा लिई श्रीवास्तवलाई कार्यालयमा लैजाने क्रममा उनीमाथि मोसो दलिइएको छ। त्यसपछि हुलबाट जोगाउन श्रीवास्तवलाई प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो।

कार्यालयको पछाडिको ढोकाबाट निकालेर प्रहरीले उनलाई अख्तियारको कार्यालयमा पुर्‍याएको हो। 'कालो दलेपछि हुलले श्रीवास्तवमाथि हातपातसमेत गर्न खोजे', एक प्रत्यक्षदर्शीले भने, ‘सेवाग्राहीलाई कति दुःख दिएका रहेछन्, त्यो सेवाग्राहीको आक्रोशले देखाएको छ।’

शुक्रबार श्रीवास्तवलाई काठमाडौं लगिने 

श्रीवास्तव र कार्यालयका इन्जिनियर ठगुन्नालाई शुक्रबार हवाइजहाजमार्फत काठमाडौं लगिने भएको छ। अख्तियारले दुवै जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।

'घटनाको प्रतिवेदनसहित शुक्रबार दुवैजनालाई अख्तियाको काठामाडौंस्थित कार्यालयमा बुझाउ छौँ', सूचना अधिकारी विष्टले भने, ‘मुद्दा उतैबाट विशेष अदालतमा दायर हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.