|

चितवन : उपप्रमुखको असन्तुष्टिले भरतपुर महानगरपालिकाको चौथो नगरसभा बैठक प्रभावित भएको छ। विभिन्न विषयगत समितिको बाँडफाँडबारेको निर्णय आफूलाई समयमा जानकारी नगराएको भन्दै उपप्रमुख पार्वती साह ठकुरी असन्तुष्ट भएपछि नगरसभा प्रभावित भएको हो।

बिहीबार दिनभरजसो उपप्रमुख साहकै असन्तुष्टिलाई लिएर छलफल भए पनि बैठक सुचारु हुन सकेन। बैठक यही असार १४ गत्ते शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरीएको महानगरका प्रवक्ता एवं वडा न १० का अध्यक्ष अरुण पीडित भण्डारीले जानकारी दिए।

बहिष्कार हैन सहमतिमै स्थगित

भण्डारीले नगरसभा कसैले बहिष्कार भने नगरेको बताए। दिनभरिको छलफलबाट पनि उपप्रमुख कन्भिन्स नभएपछि सबैको सहमतिमा स्थगित गरिएको बताए। उनले भने ‘कांग्रेस निकटका वडा अध्यक्ष र अन्य सबैले आजको बैठक १४ गत्तेसम्म स्थगित गरौँ, सो दिन उपप्रमुख सहभागी नभए पनि सञ्चालन गर्ने प्रस्ताव आएपछि स्थगित गरिएको हो।’

प्रवक्ता भण्डारीले उपप्रमुखलाई जानकारी नगराउनु र फोन गर्दा नउठाउनु उहाँहरूको आन्तरीक समस्या भएकाले नगरसभा नै प्रभावित हुनु ठिक नभएको बताए।

यस्तो छ कारण

गएको असार ७ गत्ते बसेको २९ औँ बोर्ड बैठकले विभिन्न विषयत समितिमा सहमति जुटाउन वडा नं १० का अध्यक्ष भण्डारी र कांग्रेसका तर्फबाट वडा नं २१ का वडा अध्यक्ष चित्रसेन अधिकारीलाई जिम्मेवारी दिएको थियो। त्यसपछि नेकपा तर्फका ३ र कांग्रेसतर्फका ३ गरी ६ सदस्यीय समिति गठन गरी विषयगत समितिबारे पटकपटक छलफलपश्‍चात् टुंग्याएको थियो।

सहमतिअनुसार नेकपालाई पूर्वाधार विकास समिति, विधेयक समिति, वातावरण समिति, जिन्सी समिति, सामाजिक विकास समिति र दलित तथा सीमान्तकृत वर्ग उत्थान समिति गरी ६ वटा र कांग्रेसलाई लेखा समिति, आर्थिक समिति, सुशासन समिति र खेलकुद समिति गरि ४ वटा समिति दिने सहमति गरेको थियो।

उक्त निर्णयबारे कांग्रेसका तर्फबाट जिम्मेवारी लिएका वडा अध्यक्ष अधिकारीले ढिलो जानकारी गराएको भन्दै उपप्रमुखले असन्तुष्टि जनाउँदा बैठक प्रभावित भएको प्रवक्ता भण्डारीले बताए।

प्रवक्ता भण्डारीले भने ‘आज समितिको फाइनल गराउनुपर्ने भएकाले टुंग्याउने गरी बिहान समितिको बैठक बसेका थियौँ, त्यो बैठकमा अचनाक महानगर प्रमुख रेणु दाहाल पनि अर्कै काम विशेषले आउनुभयो, त्यसपछि सबैको सल्लाहअनुसार उपमेयरलाई पनि बोलाउन सबैले पटकपटक फोन गर्‍यौँ, उहाँले फोन

उठाउनुभएन, एकछिनपछि स्विचअफ गर्नुभयो, त्यसपछि हामीलाई दिएको जिम्मेवारीअनुसार विषयगत समितिको टुंगो लगायौँ, पछि दिउँसो उपप्रमुखले नगरसभामा एकैपल्ट प्रमुखसँग ढिलो जानकारी दिइयो भनेर असन्तुष्टि जनाउनुभयो, दिनभरि सभापति, वडा अध्यक्षलगायत सवैले सम्झाउने, बुझाउने गरे पनि कन्भिन्स नभएपछि बैठक स्थगित भयो।’

भण्डारीले थपे, ‘फोन नउठाउनु उहाँको कमजोरी हो, समयमा जानकारी पाउने नपाउने भन्ने विषय उहाँहरूको विषय हो तर आन्तरिक असन्तुष्टिले, व्यक्तिगत स्वार्थपूर्ण असन्तुष्टिले बैठक नै प्रभावित गराउनु राम्रो भएन।’

मेयरसँग होन वडा अध्यक्षसँग असन्तुष्ट

उता उपप्रमुख साहले आफ्नो असन्तुष्टि महानगर प्रमुख र अरू कसैसँग नभई कांग्रेसका तर्फबाट समिति टुंग्याउने जिम्मेवारी लिएका वडा न २१ का अध्यक्षसँग मात्रै भएको बताएका छन्। आफूलाई बैठकको निर्णय ढिला जानकारी दिएको उनको भनाइ छ।

उनले भने, ‘असन्तुष्टि रहेको विषयलाई थाँती राखेर पछि छलफल गरौँ भन्दा मेयरले जतिवेला पनि अवरोध, विवाद मात्रै निकाल्ने भन्दै आफूलाई अपशब्‍द प्रयोग गरेपछि नगरसभा बैठकमा बस्न सकिनँ।’ उनले बैठक आफूले अवरोध नगरेको दाबी गरे।

महानगरको हरेक कदममा बखेडा

उता, महानगर प्रमुख रेणु दाहालले आफैँले जिम्मेवारी दिएको वडा अध्यक्षले ढिलो जानकारी दियो भनेर नगरसभा नै अवरोध गर्नु राम्रो नभएको बताए। महानगरको हरेक कदममा उपप्रमुख साहले बखेडा झिकेर समृद्धिमा अवरोध गर्ने गरेको भन्दै प्रमुख दाहालले गुनासो गरेका छन्।

उनले भने, ‘आज सम्पन्न गराउनुपर्ने नगरसभा उपप्रमुखको आन्तरिक असन्तुष्टिले प्रभावित भएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.