महिलामाथि महिलाबाटै आक्रमण!

|

काठमाडौं : संघीय राजधानी काठमाडौंमा युवतीहरुमाथि शंकास्पदरुपमा आक्रमणका घटना बढेका छन्। देशभर नै महिलामाथि हुने आक्रमणको प्रकृति घर झगडा,  दाइजोको बार्गेनिङ, एसिड आक्रमण, बलात्कार, बोक्सी आरोप हामीले सुनिरहेकका छौँ।

तर केही सातायता काठमाडौं उपत्यकामा महिलामाथि नयाँ शैलीमा सिरिन्ज आक्रमण भइरहेको छ। श्रृंखलाबद्ध रूपमा महिलामाथि 'सिरिन्ज आक्रमण' भइरहेकोले समाजमा त्रास बढेको छ।

लगातार 'सिरिन्ज आक्रमण' भइरहेपछि पीडितहरु प्रहरीकहाँ पुग्न थालेका छन्।  पीडित युवतीहरुले प्रहरीमा उजूरी गरेपछि अनुसन्धान अघि बढाइएको छ।

अनुसन्धानका क्रममा गएराति महाराजगन्जबाट महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीको टोलीले रामेछाप घर भइ नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको छ।

किन हुँदैछ आक्रमण?

महिलामाथि किन हुँदैछ श्रृंखलाबद्ध आक्रमण? पछिल्ला घटनाले नियतवश नै महिलामाथि आक्रमण गरौं भन्‍ने उद्धेश्य राखिएको बताउँछनि् अधिवक्ता स्वीकृति बराल।

'शारीरिक बनावटको हिसाबले पुरूषको भन्दा महिलाको केही फरक हुन्छ। त्यहीकारण आक्रमणकारीले महिलालाई निसानामा पार्छन,' उनी भन्छिन्, 'अपराध त महिलाले महिला माथि पनि गर्छन्। महिलाको शारीरिक बनोट कारण तत्काल प्रतिकार गर्न नसक्ने मनोविज्ञानका तयार भइरहेको छ। जसको  कारण महिलाहरू आक्रमणमा पर्ने गरेका छन्।'

शुक्रबार महानगरीय प्रहरी परिसरमा भएको पत्रकार सम्मलेनमा आक्रमणमा संलग्न सन्तोष कार्कीलाई सार्वजनिक गरिएको छ। काठमाडौं परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार कार्कीले रमाइलोका नाममा महिलामाथि श्रृंखलाबद्ध आक्रमण गरेको बयान दिएका छन्। रातको समयमा एकान्त ठाउँ पारेर आफू सुरक्षितरुपमा भाग्ने मौका भेटिएपछि कार्कीले आक्रमण गरेका सुवेदीले बताए। 

कार्कीले काँटी र तिखो सिन्काले महिलाहरूलाई घोचेको बताएका छन्। कुनै पनि महिलालाई रिसइवी भन्दा रमाइलो गर्ने नाममा आफूले यस्तो हर्कत गरेको उनले स्वीकार गरेका छन्।

समाजमा महिला वा पुरूष कसैलाई पनि रमाइलो गर्ने नाममा या नियतवश गरिने आक्रमणलाई प्रहरी टुलुटुलु हेरेर नबस्ने स्पष्टिकरण सुवेदीले दिएका छन्। 'बनेपामा पनि महिलामाथि सिरिन्ज आक्रमण भएको सुन्‍नमा आएको छ', सुवेदीले भने, 'त्यसको सत्यतथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान थालिसकेको छ।'

पक्राउ परेका कार्कीले घोच्न प्रयोग गरेको वस्तु सिरिन्ज या अरु थियो भन्‍ने एकीन गर्न तीन महिनापछि आउने विस्तृत मेडिकल रिपोर्ट हेरेर थाहा हुने चिकित्सकहरु बताउँछन्। 

धर्तीमाताको उपद्रव

केही दिनअघि आफूलाई धर्तिमाता बताउने बुटवलकी विष्णु कुँवरले एक युवतिलाई प्रहरी र भीडकै अगाडी भद्रकाली मन्दिरमा आक्रमण गरिन्। भूत पसेको भन्दै त्यसलाई हटाउन युवतीमाथि उनले आक्रमण गर्दा प्रहरी र अरु सर्वसाधरण रमिते बने। 

उनले युवतीमाथि कुटपिट गरेको भिडियो भाइरल भएपछि दबाबमा परेको प्रहरीले कुँवरलाई बालाजु बाइपासबाट पक्राउ गरेको छ।  सामाजिक सञ्जालमा भिडियो भाइरल हुँदा पनि प्रहरी केही दिन रमिते बन्यो। तर चौतर्फी दबाब परेपछि विष्णुलाई पक्रन प्रहरी बाध्य भयो।

'प्रहरीको काम अपराधी समात्ने मात्रै होकी अपराध भएको ठाउँमा टुलुटुलु नहेरी एक्सनमा जाने हो?', यो प्रश्न सुनेपछि एसएसपी सुवेदी बचाउमा उत्रिए। 'भद्रकालीमा युवतीमाथि कुटपिट भएको जानकारी आएपछि प्रहरी पुगेको हो', उनले भने, 'हामीले अक्रमणकारीलाई  कहिले संरक्षण गरेका छैनौँ।'

आक्रमणको श्रृंखला

देशकै सबैभन्दा सुरक्षित भनिएको राजधानी काठमाडौंमा लामो समयदेखि महिलाहरु हिंसामा परिरहेका छन्। काठमाडौंमै महिलामाथि एसिड आक्रमण, बोक्सी आरोपमा कुटपिट जस्ता अपराध भइरहेका छन्। प्रहरीले आफ्नो सक्रियता पनि बढाइरहेको बताएको छ। तर सिरिन्ज आक्रमणले नेपालमा अपराधको नयाँ शैलीको तथ्य उद्घाटित गरेको छ। 

यसको न्यूनीकरणका लागि प्रहरी प्रशासनले वृहत् कार्ययोजना ल्याउन जरुरी देखिन्छ। एसएसपी सुवेदीले यो विषयमा गम्भीररूपमा अगाडि बढ्ने बताएका छन्।

देशमा राजनीतिक परिवर्तन, महिला अधिकारको उपभोग र समावेशितालाई सरकारले लागू गरे पनि महिला माथिका हिंसाका घटना  कम भएका छैनन्। जसले महिलालाई समाजमा अझै पनि सुरक्षित हिँड्ने वातावरण बन्‍न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.