स्थानीय भन्छन्- पैसा पनि पाइयो टोल पनि सफा भयो

|

काठमाडौं : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकामा ८२ जनाले काम गरिरहेका छन्। यस  अभियानअन्तर्गत महानगरले बाटो, पोखरी सफा गर्ने र वृक्षरोपण गर्ने सडक तथा उद्दानमा झार उखेलेर सफाइ गर्ने कार्यक्रम गरिरहेको छ। महानगरको सरसफाइका क्रममा हालसम्म २० लाख रुपैयाँ बजेट खर्च भइसकेको प्रधानमन्त्री रोजगार संयोजक शाखा अधिकृत भरतकुमार वलीले बताए।

देशको सबैभन्दा ठूलो र पुरानो काठमाडौं महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा महिलाको उपस्थित धेरै भएको महानगरको विवरणले जनाएको छ।  बेरोजगारलाई रोजगारी दिने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको पाँच महिना भइसकेको छ। एक घर एक रोजगार भन्ने अभियानसहित प्रधानमन्त्री रोजगारको कार्यक्रम भव्यताको साथ उदघाटन गरिएको थियो।

जसअन्तर्गत ४५ महिलाले काम गरिरहेका छन्। १८९ महिलाले रोजगारको लागि फारम भरेका थिए। त्यसैगरी १३० मध्ये ३७ पुरुषले काम गरिरहेका छन्। काठमाडौं महानगरपालिकामा ३१९ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमको फारम भरेका छन् ।

१५ नम्बर वडाबाट सबैभन्दा बढी फारम भरिएको थियो। १५ नम्बर वडा स्वयम्भू क्षेत्रमा पर्छ। बढी महिलाले फारम भरेको वडा तीन नम्बर हो जसमा १५ महिलाले फारम भरेका  छन्। १८ नम्बर वडामा एकजनाले मात्र फारम भरेको महानगर स्रोतले जनाएको छ।

बाहिर जिल्लाबाट बसाइँसराइ आएका मानिसहरूले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएका छन्। पुरुषहरू अफिसमा काम गर्ने र विदेशमा काम गर्ने बढी छन्। घरमा त्यसै काम नगरी बसेको हुनाले महिलाले बढी मात्रामा फारम भरेर काममा आएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।

उनका अनुसार घरमा बिहानको काम सकेर दिनभर फुर्सद हुन्छ। दिनभरको समयलाई आम्दानीमूलक बनाउनको लागि। महिलाहरू पनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण हो।

उनले भने,'प्रधानमन्त्री रोजगार कार्यक्रमले महिलालाई बाहिर निस्कन अवसर दियो। श्रमको सम्मान गर्न सिकाएको छ।' नेपाली श्रम बजारमा कति रोजगारको खाँचो छ रहेको यसले पनि पुष्टि गर्ने उनको भनाइ छ। श्रम गर्न महिला र पुरुषबराबर छन् भन्ने प्रमाणित गरेको उनले प्रस्‍ट पारे।

महानगर सफा राख्छौं

दैनिक नेपालबाट हजारौ मानिस वैदेशिक रोजगारको लागि गइरहेका छन्। यो कार्यक्रमले काठमाडौंबासीलाई श्रमको महत्व बुझ्नको लागि ठूलो गर्ने उनको भनाइ छ। भारतीय नागरिकले नेपाली श्रम बजारमा काम गरिरहेका छन् भने नेपालीले किन गर्न नहुने? उनको प्रश्न छ। रोजगार कार्यक्रमले महानगरलाई सफा र वातावरणीय दृष्टिकोणले हरियाली बनाउनको उपयोग भएको डंगोलको भनाइ छ।

नेपाल सरकारले योग्यता अनुसारको काम दिएको प्रधानमन्त्री रोजगारमा सहभागी महिला सकुन्तला घिमिरे बताउँछिन्। उनका अनुसार पहिलो चरणको कार्यक्रममा सहभागी भएका छन्। आफ्नो टोल सफा र हरियाली पनि भएको छ।

उनले भनिन्, 'आफ्नो टोल पनि बनाउन पाइने र पैसा पनि पाइने। नेपाली महिलाले अवसर पाए काम गर्छन्। काम दिए महिलाले गर्छन्।'  उनका अनुसार महिलाले काम नपाएर काम नगरेका हुन्। काम पाए महिलाले काम गर्छन्। प्रधानमन्त्री रोजगारले महिलालाई आर्थिकरूपमा सक्षम बनाउन सहयोग गरिरहेको उनको भनाइ छ।

सरसफाइ, वृक्षरोपण र तथ्यांक संकलनका लागि काम गरिरहेका छन्। १५ नम्बर वडामा वृक्षरोपण र सरसफाइ भइरहेको छ। १३ नम्बर वडामा घर,स्कुल र परिवारको संख्याको लागत संकलन भइरहेको प्रधानमन्त्री रोजगार संयोजक शाखा अधिकृत भरतकुमार वलीले बताए। उनका अनुसार रोजगार कार्यक्रम असार महिनासम्म चल्छ। यस वर्षको कार्यक्रम एक महिनामा सकिन्छ। काठमाडौं महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि एक करोड रुपैयाँ आएको उनको भनाइ छ। 

२० लाख खर्च भइसक्यो, बाँकी फिर्ता जान्छ

उनले भने, 'अहिलेसम्म महानगरले रोजगार कार्यक्रमअन्तर्गत २० लाख खर्च गरिसकेको छ। अन्य बाँकी रकम भने फिर्ता जान्छ।' महानगरबासीलाई कार्यक्रमको बारेमा सचेतना दिन नसकेर पनि महानगरको बाक्लो उपस्थिति हुन नसकेको वलीले बताए।

जनप्रतिनिधिले नै कार्यक्रममाथि विश्वास नगरेको महानगरका एक अधिकारीले बताए। उनका अनुसार सेवाग्राहीले वडामा फारम भर्न जाँदा यो कार्यक्रम हुन्छ कि हुन्न भन्थे। कार्यक्रमको बारेमा महानगरपालिकामा व्यापक चर्चा हुन सकेन।

दक्ष कामदारले आठ घन्टाको नौ सय ६० रुपैयाँ र सामान्य कामदारले सात सय रुपैयाँ पाउने व्यवस्था रहेको वलीले जानकारी दिए। कामदारका लागि ओभरटाइमको पनि सुविधा रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.