|

काठमाडौं : देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास गरिएको छ। सम्भावित हवाई दुर्घटनाका क्रममा चाँडो भन्दा चाँडो उद्धार गर्नका लागि यो अभ्यास गरिएको हो ।

हवाई उडान तथा सुरक्षा, मेडिकल र उद्धारसँग सम्बन्धित सरकारी निकायले एक साथ ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरेका हुन्। अभ्यासका क्रममा विमानस्थल प्रशासनले शुक्रबार दिउँसो ३० मिनेटसम्म हवाई उडान बन्द गरेको थियो। अभ्यासका क्रममा दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स र विमानस्थल सुरक्षासँग सम्बन्धित कर्मचारी र सुरक्षाकर्मीले भाग लिए।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले यस्तो अभ्यास दुई वर्षमा गर्नुपर्ने नियम बनाएको छ। विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले सम्भावित दुर्घटना र आक्रमणबाट कम भन्दा कम क्षति गराउनका लागि यस्तो अभ्यास प्रभावकारी हुने जानकारी दिए। 

हवाई उडानसँग सम्बन्धित विभिन्‍न निकायले अन्तर्राष्ट्रिय टर्मिनलतर्फ ट्याक्सी वे क्षेत्रमा बोइङ ७५७ को ‘प्रतिमूर्ति’ बनाएर आपत्कालीन उद्धार अभ्यास गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.