|

सल्यान :  कपुरकोट गाउँपालिका वडा न ३ कपुरकोटका ३५ वर्षिय तिलक शर्मा झन्डै एक दशकदेखि नर्सरी व्यवसाय गर्दै आइरहेका छन्। खाद्यान्न र नगदेबालीबाट आम्दानी राम्रो नभएपछि व्यावसायिक रूपमा विभिन्न फलफूल विशेषगरी टिमुरका विरुवा उत्पादन गरी विक्री गर्न नर्सरी व्यवसाय अंगालेका उनको जीवनस्तर समेत उकासिएको छ।

सुरुका केही वर्ष नर्सरीबाट सोचेजस्तो आम्दानी हुन नसकेपनि निरन्तर व्यवसायमा लागेका शर्माले आजभोली वार्षिक १५ देखि २० लाख आम्दानी गर्दै आइरहेका छन्। आफुले चालेको पाइलामा सधै सफलता नै मिल्छ भन्ने नभएता पनि दृढ संकल्प हुने हो भने सफलता हात पर्ने उनको अनुभव रहेको छ।

धेरै मानिसहरू व्यवसाय फस्टाउन नसक्दा पलायन भएको बताउदै उनले भने,'एक दुई पटकको असफलताबाटै निरुन्तसाहित हुनु हुदैँन। निरन्तर लागि परेमा एक न एक पटक सफलता हात पार्न सकिन्छ।'

चापागाई नर्सरी उद्योग स्थापना गरी उनले चार रोपनी जग्गमा विभिन्न बिरुवा उत्पादन गर्दै आइरहेका छन्। आफ्नो नर्सरीमा अहिले सबैभन्दा धेरै टिमुरको विरुवा रहेको उनले बताए। टिमुरसँगसँगै सुन्तला, कागती, अंगुर अनार, सुगुन्ध कोकिला, सुगुन्धवाल, अम्रिसो लगायतका बेर्ना रहेका छन्।

वार्षिक २० लाख आम्दानी

आठ वर्ष अघि नर्सरी उद्योग सञ्चालन गरेका शर्माले वार्षिक २० लाख आम्दानी गर्दै आइरहेका छन्। गाउँघरका सयौं युवाहरू रोजगारीका लागि  विदेश पलायन भई रहेको समयमा स्वदेशमा पनि काम गर्न सके मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने नमुना बनेका छन् उनी।

नर्सरीबाट भएको फाइदाबाट उनले ३५ लाख बराबरको जमिन समेत किनिसकेका छन्। पैसा कमाउन विदेशनै जानुपर्छ भन्ने होइन मान्छेमा एउटा न एउटा सिप हुन्छ उक्त सिपलाई प्रयोगमा ल्याउन सक्ने हो भने स्वदेशमै बसेर राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन्।

घर खर्च, छोराछोरीको पालनपोषण तथा पढाई खर्च र मजदुरलाई पारिश्रमिक दिएर १५ लाख आम्दानी भइरहेको उनले बताए। उनी भन्छन्, 'केही गर्छु भन्ने इच्छाशक्ति हुने हो भने विदेश होइन स्वदेशमै प्रशस्तै पैसा छ।'

उनले आर्थिक हिसाबले समृद्ध बन्न तथा समाजमा नयाँ परिचय स्थापित बनाउन व्यवसाय गर्न युवाहरूलाई आग्रह गरे। विदेशभन्दा स्वदेशमै कुनै एउटा व्यवसाय गरेमा सन्तुष्ट र सफल हुने उनको दावि छ।

चारजनालाई रोजगारी

बिहान उज्यालो भएदेखि साझसम्म नर्सरीमै व्यस्त रहने शर्माले अन्य चार जनालाई समेत रोजगारी दिएका छन्। न्यूनतम पारिश्रमिक दिएर चार जनालाई रोजगारी दिएको उनी बताउछन्। वार्षिक १५ देखि २० लाख आम्दानी गर्दै आइरहेका शर्मालाई घरका आमा बुवा र श्रीमतीले समेत सघाउने गरेका छन्। बेराजगार भई विदेश जाने योजना बनाई रहेका युवालाई आफ्नै भूमिमा रोजगार दिलाउन आफू सफल भएको उनी बताउछन्।

४० जिल्लामा जान्छ टिमुरको विरुवा

व्यवसायिक टिमुरको बेर्ना उत्पादन गर्दै आइरहेका शर्माले महाभारत श्रृखलाका ४० जिल्लामा टिमुरका बिरुवा पठाउदैँ आइरहेका छन्। तीन लाख टिमुरको विरुवाको माग भएपनि अहिले सवा एक लाख मात्र पुर्‍याउन सकेको बताए। चार रोपनी क्षेत्रफलमा रहेका ६ वटा नर्सरीमा टिमुरको बिरुवा भएपनि बजारको मागलाई धान्न नसकिएको उनको दुखेको छ।

विभिन्न जिल्लाबाट माग बढेसँगै नर्सरी व्यवसायमा थप उत्साह मिलेको उनले बताए। आम्दानी बढेसँगै नर्सरी विस्तारलाई आफुले निरन्तरता दिएको बताउँछन् उनी।  ग्राहक नर्सरीमै आएर बिरुवा लिने बजारीकरणको कुनै समस्या नभएको शर्माले बताए।

स्थानीय सरकारले सहयोग गरेन

व्यावसायिक नर्सरी गर्दै आइरहेका शर्माले स्थानीय सरकार भएको अनुभव नभएको बताए। कृषकलाई लक्षित कार्यक्रम कुनै पनि छैन। टिमुरको विरुवा धेरै उत्पादन गर्ने नेपालकै आफू रहेको बताउँदै उनले स्थानीय सरकारदेखि कुनै पनि सरकारले आफूलाई सहयोग नगरेको दुखेसो गरे।

टिमुरको उमारशक्ति भनेकै १० देखि १५ प्रतिशत हो यस्तो जोखिम मोलेर व्यवसाय गरेका किसानहरूलाई सरकारले हेर्नु पर्छ की नाई? उनी प्रश्न गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.