|

कञ्चनपुर : १६ औं धान दिवस दही चिउरासँगै मेसिन र गोरु जोतेर मनाइएको छ। 

आइतबार प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना र कृष्णपुर नगरपालिकाको संयुक्त आयोजनामा बञ्जरियामा आयोजित धान दिवस कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री पठान सिंह बोहराले धान रोप्ने आधुनिक मेसिन चलाएर खेतमै गएर धान रोपे। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले खेतमै गोरु जोतेर धान रोपाइँ मनाएका छन। 

धान रोपाई कार्यक्रममा सहभागी सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री पठान सिंह बोहराले परम्परागत खेती प्रणालीमा सुधार गर्दै आधुनिक खेतीलाई बढावा दिनु पर्ने बताएका छन। कृषिलाई आधुनिक बनाई यान्त्रीकरणमा जोड दिनु पर्ने उनको भनाई रहेको छ। जीवनस्तरमा सुधार ल्याउने कृषि प्रणालीलाई अवलम्बन गर्न नितान्त जरुरी रहेको चर्चा गर्दै उनले यसका लागि निर्यातमुखी कृषि प्रणालीलाई अगाडि बढाउनु पर्ने बताए।  

व्यवसायिक खेतीमा जोड दिँदै प्रदेशलाई समृद्धिमा लैजानका लागि व्यवहारमा देखाउन जरुरी रहेको उनले बताए।  प्रदेश सरकारले कृषिलाई आधुनिकीकरण गर्नका लागि पर्याप्त बजेट विनियोजन गरेको उनको भनाई रहेको छ।  सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशीले स्थानीय जातका अन्नका बीउ जोगाउनुमा सबैले लाग्नु पर्ने बताए।

नेकपाका केन्द्रीय सदस्य राजेन्द्र सिंह रावलले किसानलाई दिइँदै आएको अनुदान थोरै भएको बताए। कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले कृषिमा आधुनिकीकरण गर्नका लागि नगरपालिकाले किसान प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरका वरिष्ठ कृषि अधिकृत टिकाराम थापाल देशमा बाह्य क्षेत्र बाट चामलको आयात प्रतिवर्ष २५ अर्ब वरावरको आयात हुने गरेको बताए। 

आयातका कारण व्यापार घाटा बढदै गएको छ। त्यसले गरिवी पनि बढाउँदै लगेको छ। उनले भने,  'धानको उत्पादन बढाउनका लागि प्रति हेक्टर ३.२ मेट्रिन पुर्‍याउन आवश्यक छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.