|

यान (चीन) : प्रदेश ५ को घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तस्थित यान सहरबीच भगिनी सम्बन्ध स्थापित भएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणका क्रममा बुधबार यान सहरमा दुई नगरबीच मैत्रीपूर्ण सम्बन्धमा हस्ताक्षर भएको हो। 

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र यान सहरका उपप्रमुख काइह्युइ सङले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख नरूलालले घोराही उपमहानगरपालिकाको विशेषता जानकारी गराए। उनले कृषि क्षेत्रमा घोराही अगाडि बढ्न खोजिरहेको बताउँदै अझै यश क्षेत्रमा काम गर्न बाँकी रहेको बताए। 

यान र घोराही उपमहानगरबीच मैत्रीपूर्ण सम्बन्ध भएपछि यो सम्बन्धले घोराहीको विकासका लागि पनि मद्दत मिल्ने उनले अपेक्षा राखे। 'हामीलाई एकदमै खुसी लागेको छ, यसले हामी दुवै नगरलाई थप राम्रो बनाउन मद्दत मिल्नेछ', उनले भने।

कार्यक्रममा यानका मेयर जीन जोउले यान सिटीको विशेषता बताए । उनले पानी, माछा, चिया, पाण्डाका लागि यान प्रसिद्ध रहेको बताए। यहाँको पर्यावरण राम्रो रहेको भन्दै उनले स्वास्थ्य विषयमा नेपाललाई सहयोग गर्न सक्ने र एउटा स्कुलसँग यसबारे कुरा भइरहेको बताए। 

उनले चिया, पर्यटन र स्वास्थ्यका क्षेत्रमा घोराही उपमहानगरलाई सहयोग गर्नसक्ने प्रतिबद्धता जनाए।उनले प्रदेश ५ र घोराहीको पर्यटकीय भिजिट गर्न सक्ने बताए।

नेपाल भ्रमणको निम्तो

कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भौगोलिक कारण छिमेकी भएर पनि नजिकको सम्बन्ध बिस्तार हुन नसकेको चीन बिआरआइका माध्यमबाट पछिल्लो समय बिस्तारै नजिक भइरहेको बताए।

आजभन्दा ७ सय वर्ष पहिले चिनियाँ मन्त्रीले लुम्बिनीको भ्रमण गरेर पुस्तकमा उल्लेख गरेका कारण पनि लुम्बिनीको पहिचान गर्न थप सहज भएको भन्दै उनले चिनमा जस्तै नेपालमा पनि हिमाली क्षेत्रमा रेड पाण्डा पाउने बताए।

उनले चिन र नेपाल परम्परागत मित्र भएको र आधुनिक विश्व निर्माण गर्न पनि मित्रका रुपमा रहिरहने समेत बताए। नेपाल र चीनका दुई पार्टी, सरकार र २ देशका जनताबीच थप सम्बन्ध विस्तार सुमधुर हुने मुख्यमन्त्री पोख्रेलले अपेक्षा गरे। नेपालका प्रधानमन्त्री केपी ओलीले पनि यही मान्यता राखेको भन्दै उनले यानका मेयरको टिमलाई ५ नम्बर प्रदेशको भ्रमणको  निमन्त्रणा दिए।

सोमबार चीन भ्रमणमा आएको प्रदेश ५ का मुख्यमन्त्रीसहितको टोली असार २५ गते स्वदेश फर्कनेछ। टोलीमा संघ-प्रदेशका सांसदहरु, नेकपाका विभिन्न तहका नेताहरू, स्थानीय सरकार प्रमुख, पत्रकार लगायत सहभागी छन्।

मंगलबार प्रदेश नम्बर ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापित गर्दै सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो। भ्रमण टोली सिचुवानपछि गोइझाउ प्रान्तको भ्रमण गरेर स्वदेश फर्कनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.