असारे भेलमा विकास बजेट बगाउँदै गाउँपालिका

|

ओखलढुंगा : समाचार लेखेकै विषयमा मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले पत्रकारहरूलाई चेतावनी दिएका छन्।

गत जेठ १० गते ३० दिने सूचना प्रकाशित गरी गाउँपालिकाको कार्यालयले घलेगाउँ-हर्कपुर-प्राप्चा-देवीटार-ढाँडे हुँदै देउराली गाउँपालिकाको कार्यालय-मगरगाउँ- दिप्लि-राँगादीप-वडा कार्यालयसम्म र विल्दु ठाडे सडक योजनाअन्तर्गत घलेगाउँ-घट्टेकुलो, ओपी गैरी-मगरगाउँ सडक खण्डको ट्रयाक निर्माण तथा स्तरोन्‍नतिको ठेक्का गाउँपालिकाले आह्‍वान गरेको थियो।

त्यही ठेक्काको विषयमा '१९ दिन बाँकी हुँदा सवा करोडको ठेक्का कसरी सम्पन्‍न हुन्छ?' भन्‍ने समाचार सञ्‍चारमाध्यमले सम्प्रेषण गरेका थिए। यही समाचारलाई लिएर गाउँपालिका अध्यक्ष राई आक्रोशित हुँदै धम्की दिएका हुन्।

बजेटको ठेक्काको विषयमा समाचार सञ्‍चार माध्ययममा आएपछि आक्रोशित भएका राईले पत्रकारहरूलाई आफू दोस्रो द्वारिकलाल बन्‍ने चेतावनी दिएका छन्।

समाचार संकलनका लगि मोलुङ गाउँपालिकास्थित बरुणेश्वरको रामपुर पुगेका जिल्लाका पत्रकारहरूलाई आफू दोस्रो द्वारिकलाल बन्‍ने चेतावनी दिएका हुन्। 'समाचार कसरी लेख्‍नु पर्छ भन्‍ने अब पत्रकारलाई म सिकाउँछु,' उनले भने।

असारभित्रै काम सम्पन्न गर्नुपर्ने गरी सडक ट्रयाक निर्माण र स्तरोन्‍नतिका लागि गाउँपालिकाले अघिल्लो हप्ता मात्रै ठेक्का दर्ता गर्ने अन्तिम म्याद तोकेको थियो।

यस विषयमा स्थानीय तथा राष्ट्रिय सञ्‍चार माध्यममा समाचार आएपछि अक्रोशित अध्यक्ष राईले  पत्रकारहरुलाई जम्मा गरेर चेतावनी दिँदै गाली गरेका थिए।

सञ्‍चार माध्ययमले अनियमतताको लागि खबरदारी गर्न पाउने कि नपाउने? भन्‍ने पत्रकारहरूको प्रश्नमा अध्यक्ष राईले चेतावनी दिँदै भने, 'जिल्लाका सबै पत्रकारलाई  समाचार कसरी लेख्नुपर्छ भनेर म सिकाउँछु' उनले थपे, 'गाउँपालिकाका गतिविधिबारे नचाहिने समाचार सम्प्रेषण गर्नेलाई कसरी ठेगान लगाउनुपर्छ त्यो मलाई राम्ररी थाहा छ।'

१९ दिनमा १ करोड २२ लाखको ठेक्का

असार १२ गते बिहीबार सुनुवार कन्सट्रक्सनसँग १ करोड २२ लाख ५८ हजार लागतमा ठेक्का सम्झौता भएको थियो। उक्त निर्माण कम्पनीले असारभरी काम गर्दा पनि १९ दिन मात्र काम गर्न पाउनेछ।

आर्थिक प्रशासन ऐनअनुसार बिलअनुसारको रकम प्राप्त गर्न असार २४ भन्दापछि सरकारी कार्यालयले चेक दिन नपाउने नियम छ। यदि २४ भन्दा अगाडि नै काम सक्नुपर्ने भएमा ठेकेदारले १२ दिन मात्र काम गर्न पाउने अवस्था छ। यसरी ढिलो बजेट प्राप्त हुने र हतारमा करोडौंको काम केही दिनमा गर्ने प्रवृत्तिले भ्रष्टाचारलाई बढावा दिएको सरोकारवालाको भनाइ छ।

के गर्दैछन् अरु  तह

ओखलढुंगाका अन्य स्थानीय तहको हकमा प्रदेश सरकारबाट आएको १ करोड ३५ लाख ससर्त अनुदान रकम लिखु र चम्पादेवीले उपभोक्ता समितिमार्फत वैशाख महिनामै सडक निर्माणको काम गरी सकेको गाउँपालिकाले जनाएको छ।

त्यस्तैगरी, खिजिदेम्बा गाउँपालिकाले वैशाखमा टेण्डर आह्‍वान गरी काम अन्तिम चरणमा पुर्‍याएको गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले बताए।

सडकमै खर्च

प्रदेश सरकारबाट ससर्त अनुदान आएको रकम प्राय सबै स्थानीय तहले सडकमै खर्च गरेका छन्। चिसंखुगढी गाउँपालिकाले जेठ अन्तमा काम सम्पन्न गरी ठेकेदार कम्पनीलाई अन्तिम किस्ता रकम दिन बाँकी रहेको बताएको छ।

सुनकोशी गाउँपालिकाले जेठ १३ मा ठेक्का लगाई असार २२ सम्ममा काम सम्पन्‍न हुने बताएको छ। खर्च गर्ने अनुमति ढिला भएको कारण काममा ढिलाइ भएको सुनकोशी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए।

मानेभञ्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाले पनि प्रदेश सरकारबाट अएको ससर्त अनुदान रकम असारे भेलसँगै धमाधम बगाइरहेका छन्। उपभोक्त समिति र ठेक्कामार्फत कसरी खर्च गर्ने अन्योल भएका कारण नै असारमा काम गर्नुपरेको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतीराज राईले बताए।

असारे विकासका रूपमा आर्थिक वर्षको अन्तमा एकैचोटि बझेट सकाउने होडबाजी प्रचलनको अन्त्य नहुँदा जनप्रतिनिधिले लगाएको सुशासनको नारा नारामै सीमित भएको छ।

सिद्धिचरण नगरपालिकाले मात्रै सदरमुकाम आसपासका चारवटा स्थानमा असारे विकासको बजेट सिध्याउन हतारहतार सडक निर्माण गरिरहेको छ। हतारमा गरिने यस्ता कामको गुणस्तर सबैभन्दा कमजोर हुने स्थानीयको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.