प्राविधिक योजनाबिनै खनिएका सडक बने उकालो

|

रुकुम :  ग्रामीणस्तरमा खनिने सडकहरूमा मनोमानी तरिकाले खनिने गरिएको पाइएको छ। कृषि तथा वडास्तरीय सडकहरूमा इन्जिनियरिङ मापदण्डलाई ख्यालै नगरी उपभोक्ता समिति र डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने गरेको पाइएको हो।

असार १४ गते शनिबार रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा निर्माण गरिएको सिम्ली तल्लो माथिल्लो आमडाँडा चिन्तु तिमिले सडकको अनुगमन क्रममा यस्तो अवस्था देखिएको हो।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा नेतृत्वको अनुगमन टोलिले मापदण्डविपरीत सडकहरु खनिएको भेट्टाएको हो। अनुगमनमा सहभागी सब ओभरसियर करण खड्काले सडक निर्माणमा क्रममा चौडाइ कम भएको, घुम्तीहरू साँघुरो भएको र सडक सवारीसाधनहरूलाई असहज हुने तरिकाले खनिएको बताए।

‘विशेषगरी सडक ग्रेडको उचाइ धेरै देखिएको छ यो राम्रो पक्ष होइन’, उनले भने, ‘कृषि सडकमा ग्रेड हाइट बढीमा १२ सम्म हुनुपर्छ तर अनुगमनका क्रममा २० ग्रेडसम्म भेटियो, सरल भाषामा भन्दा यो गाडी चढ्न मुस्किल हुने ठाडो सडक हो।’

एकतिर कच्ची ग्रामीण क्षेत्र र साँघुरो सडक भएका कारण दुर्घटना बढ्ने धेरै सम्‍भावना हुने रहेको छ। अर्कोतिर नयाँ खनिने सडकहरू झनै गाडी चढ्न नै नमिल्ने गरि ठाडो खनिँदा झन् दुर्घटनाको सम्‍भावना बढेको छ।

अनुगमनमा सहभागी जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले प्राविधिक टोलीले दिएको सुझावअनुसार तत्काल सडक सुधारको काम गर्नुपर्ने बताए। जिल्लाका विभिन्न ठाउँमा प्राविधिक सल्लाहअनुसार बाटो नखनेको पाइएकोले सुधार नगरेसम्म त्यस्ता सडक निर्माणको भुक्तानी रोकिनेसमेत उनको भनाइ थियो।

‘सडक निर्माणको समयमा पनि स्थानीय सरकार र त्यहाँका प्राविधिक टोलिबाट कमजोरी भएको देखिएको छ’, उनले भने, ‘जिल्लाको अनुगमन टोलीभन्दा सुरुमा स्थानीय सरकारहरुले पनि चनाखो भएर निर्माण कार्यको अनुमगन र परिचालन गर्नुपर्छ।’

सडक निर्माण उपभोक्ता समितिका सचिव देउराम ओलीले निकै चनौतीबीच सडक निर्माणको काम गरिएको बताए। प्राविधिक स्टिमेटअनुसार सडक निर्माण गर्न आफूहरूले नचाहँदानचाहँदै पनि स्थानीय जनताले सहजरूपमा आफ्नो जग्गामा सडक खन्न नदिँदा घुम्तीमा साँघुरो र सडक ठाडो हुने समस्या देखिएको बताए।

‘सडकका घुम्ती फराकिलो बनाउन धेरै जग्गा फाल्नुपर्ने हुन्छ तर स्थानीयले दिँदैनन्’ उनले भने, ‘जसले गर्दा सडकका घुम्ती साँघुरो र केही ठाडो भएको हो तर क्रमश जग्गाधनीलाई सम्झाइबुझाई बाटो फराकिलो बनाइन्छ।’

निर्माणको बेला आफ्नो जग्गामा बाटो लिन नदिने ठूलो समस्या भएका कारण सुरुमा प्राविधिकले सडक खन्न नापेको भन्दा अर्को तरिकाले खन्नुपर्दा धेरै समस्या आउने गरेको उनको भनाइ छ। कृषि ज्ञान केन्द्र रुकुममार्फत उक्त कृषि सडक निर्माणको लागि करिब ३० लाख बजेट छुट्टाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.