माफी नमागे वडाको सिलिङ बजेटसमेत रोकिदिने छु : नगरप्रमुख राई

|

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकामा वडा अध्यक्षहरूले ‘नीति, बजेट तथा कार्यक्रम’ पत्र घोषणासभामै च्यातेका छन्। चौदण्डीगढी नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को लागि नगरपालिकाकाले घोषणा गरेको नीति तथा कार्यक्रम घोषणासभामै च्यातेका हुन्।

शुक्रबार नगरपालिकाकाले आयोजना गरेको घोषणासभामा नगर प्रमुख खगेन्द्र राईले मनोमानी ढंगले ल्याएको नीति, बजेट तथा कार्यक्रमको घोषणापत्र वडा अध्यक्षले च्यातेका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुँमेगाईंले बताए। ‘नगर सभामा नेकपा आवद्ध वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले मनोमानी रुपमा मेयरले बहुमतको दम्भ देखाएर नीति, बजेट तथा कार्यक्रम ल्याएको भन्दै विरोध जनाउँदै च्यातेको छन्,’ उनले भने, ‘बहुमतको आधारमा पास भए पनि केही असन्तुष्ट समूहको कुरा नगरप्रमुखले नसुन्दा च्यातिएको हो।’

घोषणासभामा नगर उपप्रमुख रीताकुमारी चौधरीले नीति, बजेट तथा कार्यक्रम पढेर सुनाएपछि नेकपा सम्बद्ध जनप्रतिनिधिले विरोध जनाउँदै रोष्टमा गएर विरोध गरेका थिए। विरोध सकिएलगत्तै घोषणासभा कक्षबाट नीति, बजेट तथा कार्यक्रमको कागज च्यात्दै असन्तुष्ट जनप्रतिनिधि बाहिरिएको प्रमुख प्रशासकीय अधिकृत हुँमगाईंको भनाइ छ।

नगर प्रमुख राईले आफू अनुकूल बजेट विनियोजन गरेको र बहुमतको दम्भ देखाउँदै मनोपानी गरेकोले विरोध गर्दै नीति, बजेट तथा कार्यक्रम च्यात्नु परेको चौदण्डीगढी नगरपालिका ५ मा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा.) बाट निर्वाचित वडाअध्यक्ष देवनारायण चौधरीले बताए।

‘नगर सभा, नगर कार्यपालिकाको बैठक, छलफलमा समेत विरोध गर्दै आएका थियौँ’ उनले भने, ‘जनताको माग सम्बोधन भएको छैन, अबका दिनमा ऐन कानुन प्रयोग गर्दै वैधानिक रूपमा नगर प्रमुख राईको विरोध गर्दै जाने छौँ।’

नगरपालिकाको  आर्थिक बर्ष २०७६/०७७ सालको नगर सभामा नेकपा आवद्ध जनप्रतिनिधिले पेश गरे अनुसारको योजना र कार्यक्रमलाई नगरप्रमुखले डस्विनमा फ्याँकेको नेकपा सम्बद्ध जनप्रतिनिधीको गुनासो छ। ‘नगरसभामा समेत पटकपटक सच्याउन माग गर्दै आएका थियौ,’ विरोध गर्ने अर्का वडाअध्यक्ष कमलध्वज राईले भने, ‘नेपाली कांग्रेसका जनप्रतिनिधिले कांग्रेसीशैलीमा नगरमापालिका चलाउन खोजेपछि विभिन्न समस्या उत्पन्न हुँदै गएको छ, यो चौदण्डीगढी नगरपालिकाको लागि घाटा हो।’

नगरपालिकाले माग गरेबमोजिम वडा भेलाबाट माग गरिएका योजनाहरुलाई समेत समावेश नगरी आफूनिकटका जनप्रतिनिधिलाई मात्र योजना दिएको तथा नगरको समग्र  विकासमा कुनै ठोस योजना नल्याएका कारण नगरसभा बहिस्कार गरेका नेकपाका जनप्रतिनिधिको भनाइ छ। नगरसभामा पेश गरिएको कुल ६३ करोड २४ लाख रुपैयाँ बजेटमा नगरप्रमुख  र उपप्रमुखले आफू अनुकूलका वडा र योजनामा मात्र बजेट विनियोजन गरेको वडा अध्यक्ष प्रकाश राउतले बताए। ‘स्थानीय तह सरकारक सञ्चालन ऐनसमेत मिचेर ल्याएको नीति, बजेट तथा कार्यक्रमको कुनै तुक छैन,’ उनले भने, ‘काँशी जानु कुती बाटो’ भने झै मेयरले एकलौटी काम गरेपछि विरोध गर्न बाध्य भएका हौँ।’

कुल ५४ जना कार्यापालिका सदस्य रहेको चौदण्डीगढी नरपालीकामा १७ जना नेकपाबाट विजयी भएका जनप्रतिनिधि छन्। ३७ जना कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिले मनोमानी गरेको नेकपा सम्बध जनप्रतिनिधिको दावी छ।

यता, चौदण्डीगढीका नगर प्रमुख खगेन्द्र राईले नेकपाका जनप्रतिनिधिले भने अनुसारको केहि नभएको र सहमतिको आधारमा ल्याएको बजेट च्यात्नुको कुनै तुक नहरेको बताएका छन्। ‘नेकपाका जनप्रतिनिधिले गरेको विरोधको माफी नमागे वडाको सिलिङ बजेटसमेत रोकिदिने छु,’ उनले भने, ‘मैले ऐन नियमअनुसार ल्याएको छु।’

जनप्रनिधिबीच समन्वय र समझदारी नहुँदा बजेट विनियोजनमा समस्या देखा पर्दै आएको छ। गएको वर्ष पनि चौदण्डीगढी नगरपालिकामा नेकपा र कांग्रेसका जनप्रतिनिधिबीच पानीको बोतल हानाहान भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.