|

पर्वत : पछिल्ला केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईका बीचमा अरोप प्रत्यारोपको दोहोरी चलेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सार्वजनिक कार्यक्रममा डा. भट्टराईलाई व्‍यंग्‍य गर्दै आफ्ना भनाई राख्दै हिँडेका छन् भने समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसको प्रतिरोध गर्दै आएका छन्।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. भट्टराईप्रति व्‍यंग्‍य गर्दै ‘भ्यागुताको कथा’   सुनाएपछि उनीहरु दुईजनाबीचको ‘वाकयुद्ध’ प्रस्‍ट देखिएको छ।

  नेपाल समाजवादी पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका नेताहरुलाई शुक्रबार स्वागत गर्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भ्यागुता फुलेर फुटेको कथा सुनाउँदै   भट्टराईको पार्टी ठूलो नभई फुटेको दाबी गरे। उनले दुईतिहाई अटेको नेकपामा बाबुराम भट्टराईको सिंगो पार्टी अट्न सक्ने पनि बताएका थिए।

प्रधानमन्त्री ओलीको व्यंग्य

‘कसैले भैँसी किन्न खोज्यो भने, दूध कति दिन्छ? भनेर सोध्यो भने, सिङ हेर्नु कति राम्रा छन्। त्यस्तै गरेर डिग्री हेर्न डिग्री डिग्री डिग्री। अनि हो की क्या हो डिग्री। डिग्रीले क्रान्ति गर्ने होइन। निष्ठाले क्रान्ति गर्ने हो, दृष्टिकोणले क्रान्ति गर्ने हो।

डिग्रीले यदि सम्हाले भने, सम्हाल्यो भने राम्रै हुन्छ। सम्हाल्यो भने तेले ठिकै गर्छ। सम्हालिएर डिग्रीको सदुपयोग गर्‍यो भने राम्रै हुन्छ। तर, दम्भ पाल्यो भने दम्भले अनेक प्रकारका ठक्करहरु ल्याउँछ। नेपालमा पिएचडी गरेका थुप्रै छन, मानिलिऊँ एउटा मात्रैले पिएचडी गरेको जस्तो डाक्टर, डाक्टर, डाक्टर। त्यसैले धोका दियो।

एउटा भ्यागुताको बच्ची घुम्न गइछ, माछो देखिछ, आएर आमालाई भनिछ, ‘आमा यत्रो ठूलो जनावर हुँदो रहेछ।’ हुन त माछै थियो तर, उसले देखेको आमाभन्दा कति हो कति ठूलो। आमा भ्यागुतीले भनिछ, ‘कसरी हुन सक्छ म भन्दा ठूलो?’ भन्दै बच्ची भ्यागुतीलाई कत्रो थियो? भनेर आप्mनो भुँडी फुलाएर देखाउँदै प्रश्न गर्दै जाँदा आमा भ्यागुतीको भुँडी फुटेको थियो। अहिले भएको पनि त्यस्तै हो।’

बाबुरामको जवाफ

भ्यागुताको कथा हालेर आफूलाई व्‍यंग्‍य गरेको सुनेपछि डा. भट्टराईले त्यसको प्रतिरोध गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ!’

प्रधानमन्त्री ओलीको भनाइप्रति कटाक्ष गर्दै उनले भ्यागुताको कथासंगै निदुली नाम गरेका बाहुन कसरी ज्योतिषी कहलिएला? भन्ने बारेको कथा पनि सुनाएको भए अझै ठूलो हाँसो फुट्थ्यो कि? प्रश्नको साथमा सुझाएका छन्।

बाबुरामले लेखे निदुल बाहुनको कथा

‘हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ! त्योसँगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि? कथा यस्तो छ।

निदुली बाहुन साँझमा ससुराली पुगेछन्। सासू भित्र सेलरोटी पकाउँदै रहिछन्। ज्वाइँ बाहिर पिँढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन्! पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन्! ज्वाइँले भनेछन, ‘रोटी पाके दुई बीस चार, ज्वाइँका भागमा किन चार?’ ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्।

गाउँमा धोबीको गधा हराएको रहेछ। धोबीले ज्वाइँसँग हराएको गधा पत्ता लगाइदिन भनेछन्! अब पर्‍यो  फसाद! भोलिपल्ट बिहानैको शुभ साइतमा आउन आग्रह गर्दै मध्यरातमा सबै सुतेपछि ज्वाइँले टाप कसेछन्। भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन्! के खोज्छस् दृष्टिविहीन, आँखा! ज्वाइँ ससुराली घर फर्केर सुतेछन! भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन्! अब के चाहियो? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ। राजाले दरबारमा बोलाएछन् र हराएका हीरा–जवाहरत पत्ता लगाउन भनेछन्।

बस्न कोठा दिएछन! अब पर्यो महाफसाद! भागौं, पहरा छ! कोठामै बर्बराएछन्, ‘रोटी गनीगनी जैसी कहाएँस धोबीको गधा उखुवारी पाएँस अब आयो निदूली तेरै काल!’ पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ! उसको नाउँ पनि निदूली रहेछ! उसले रूँदै आएर भनिछ, ‘बाजे मेरो ज्यान बचाइदिनोस्, हीरा मोती मैले चोरेर फलानो ठाउँमा राखेकी छु।’ निदूली राजज्योतिषी बनेर धनधान्य भएछन! अब आफैँ बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.