|

गत आइतबार दिउँसो एक व्यक्ति अचानक आकाशबाट खसेकाे अवस्थामा लण्डनको आवासीय क्षेत्रको एक बगैंचामा फेला परे। जमिनमा खसिसक्दा उनको मृत्यु भइसकेको थियो। तर, उनको शवमा कुनै चोटपटक लागेको थिएन। एक प्रत्यक्षदर्शीका अनुसार उनको शव बरफजस्तै थियो।

प्रहरीका अनुसार मृत व्यक्ति नैरोबीबाट हिथ्रो एयरर्पोट आइरहेका थिए। उनी केन्या एयरवेजको जहाजमा विनाटिकट लुकेर यात्रा गरेका हुन्। उनी ल्याण्डिङ गियरमा लुकेर यात्रा गरेका थिए। ल्याण्डिङ गियर जहाज अवतरणका क्रममा खुल्ने गर्छ। सोही क्रममा उनकाे खसेर मृत्यु भएकाे हाे।

हाल जमिन र समुद्रको बाटोबाट बढी मात्रामा मानिसहरू युरोप जाने कोसिस गरिरेहका छन्। तर, न्यून मात्रामा मानिसले जहाजको ल्याण्डिङ गियरमा लुकेर यात्रा गर्ने गरेको भेटिन्छ। उड्डयन मामलामा रिपोर्टिङ गर्ने पत्रकार डेविड लीवारमाउन्टका अनुसार यसरी गरिने यात्रामा जीवित रहने सम्भावना धेरै कम हुन्छ।

यस्तो यात्रामा के हुन्छ?
पत्रकार लीवरमाउन्टले बिबिसीलाई दिएको जानकारीअनुसार ल्याण्डिङ गियरमा लुकेर विनाटिकट यात्रा गर्नु सबैभन्दा खतरा हुन्छ। यसरी यात्रा गर्दा जहाज 'टेकअफ' हुने क्रममा जहाजका पांग्राभित्र आउने क्रममा थिचिएर मर्ने खतरा पनि हुन्छ। उनका अनुसार त्यँहा जलेर मर्ने सम्भावना पनि हुन्छ। किनकि गर्मीको सिजनमा त्यहाँकाे तापक्रम बढी हुने गर्छ।

यसबाट जोगिए पनि 'हाइपोथर्मिया' अर्थात् कम तापक्रम वा अक्सिजनको कमीको सामना गर्नुपर्ने हुन्छ। लीवरमाउन्टका अनुसार ल्याण्डिङ्ग गियरमा जहाजको क्याविनमा जस्तो अनुकुल वातावरण हुँदैन। यहाँ विल्कुल फरक वातावरण हुने गर्छ।

लामो दूरीको यात्रामा जहाज उचाइमा पुग्दा ल्याण्डिङ गियरको तापक्रम ५० देखि ६० डिग्री सेल्सियससम्म पुग्दछ। यस्तै चिसो क्षेत्रको उचाइमा अक्सिजनको कमी र हावाको दबाब कम हुने हुँदा श्वास लिन पिन अप्ठ्यारो पर्ने  गर्छ। अक्सिन करिब शून्य अवस्थामा हुने हुँदा समस्या हुने गर्छ।

ल्याण्डिङ गियरमा यात्रा गरिरहेकाे यात्रु जहाज अवतरणको क्रममा जोखिममा पर्ने गर्छ। जहाज अवतरण गर्ने क्रममा ल्याण्डिङ गियरको भाग खुल्ने हुँदा खस्ने खतरा हुन्छ। पत्रकार लीवरमाउन्टका अनुसार अधिकांश व्यक्ति यही अवस्थामा खस्ने गर्दछन्। अक्सिजनको कमी र तापक्रम बढी हुँदा उनीहरू कमजोर बनेका हुन्छन्। यही कारण पनि उनीहरू खस्ने सम्भावना धेरै हुन्छ।

कति जीवित रहन्छन्?
उड्डयन मामिलाका जानकार विशेषज्ञ एलेसटेयर रोसेनशीनका अनुसार यसरी यात्रा गर्नेहरू मध्ये जीवित रहनेको संख्या प्राय शून्य हुन्छ। अमेरिकी संघीय उड्डयन प्राधिकरणले सन् १९४७ जुलाइ २ देखि २०१९को बीचमा घटेका यस्ता घटनाको तथ्यांक संकलन गरेको छ। जसमा ११२ उडानसँग जोडिएका १२६ घटना दर्ज भएका छन्।

अनुसन्धानमा १२६ विना टिकटका यात्रु मध्ये ९८ जनाको मृत्यु भएको छ। २८ जना कुनै तरिकाले बाँचेका छन्। बाँचेकाहरूलाई गिरफ्तार गरिएको छ। अधिकांशको मृत्यु जहाज उडान र अवतरणका क्रममा भएको छ। केहीको जहाजको पांग्राले किचेर पनि मृत्यु भएको छ।

प्राधिकरणको तथ्यांकअनुसार यस्ता घटना ४० देशमा भएका छन्। जसमा क्युवा ९, चीन ७, डोमिनिकन रिपब्लिक ८, दक्षिण अफ्रिका ६ र नाइजेरियामा ६ रहेका छन्।

आकाशबाट खसेर मृत्यु
हिथ्रो एयरर्पोट नजिक भएको घटना आकाशबाट खसेर मृत्यु भएको पहिलो भने होइन।  सन् २०१५ जुनमा पनि पश्चिम लण्डनमा एक व्यवसायीको शव यस्तै अवस्थामा फेला परेको थियो। पछि थाहा लागेको थियो कि उनको मृत्यु ४२७ मिटरको उचाइबाट खसेर भएको थियो।

उनका सहयात्री गम्भीर अवस्थामा भेटिएका थिए। उनका अनुसार ब्रिटिश एयरवेजको जहाजमा जोहनेसबर्गबाट उनीहरू लुकेर आएका थिए। योभन्दा तीन वर्षअघि सन् २०१२ को सेक्टेम्बरमा पनि एक व्यक्ति लण्डनकै सडकमा मृत भेटिएका थिए। उनको पनि अंगोलाबाट हिथ्रो आउने एक जहाजबाट खसेर मृत्यु भएको थियो।

सोही वर्ष अर्का एक व्यक्ति पनि हिथ्रोनजिकै मृत फेला परेका थिए। उनी केपटाउनबाट आउँदै गरेको जहाजमा लुकेर यात्रा गरेका थिए।

कति जीवित रहन्छन्?
विशेषज्ञका अनुसार यस तरिकाको यात्रामा मृत्यु करिब निश्चित छ। तर, केही अपवादका रूपमा जीवित पनि रहन्छन्। बाँचे पनि उनीहरूकाे स्वास्थ्यमा गम्भीर समस्या आउने गर्छ। छोटो दूरीको उडानमा बाच्ने सम्भावना रहन्छ।

सन् २०१० मा २० वर्षका एक रोमानियका नागरिक भियनाबाट उठेको निजी जहाजमा हिथ्रो एयरर्पोट पुग्न सफल भएका थिए। सन् २०१५ मा जोहनेश्बर्गबाट लण्डन उडेको जहाजमा १२ हजार ८७५ किलोमटिरको यात्रा गर्दै एक व्यक्ति ल्याण्डिङ गियरमा बेहोस अवस्थामा फेला परेका थिए।

जो जीवत रहे 
१९६९–२२ वार्षिय अर्मान्डो सोकारास रमीरेज क्युवाको हवानाबाट मेड्रिड उडानमा सुरक्षित।
१९९६– २३ वार्षिय प्रदीप सैनी दिल्लीबाट लण्डनको १० घण्टाको उडानमा सुरक्षित। उनका भाइ विजयको हिथ्रो एयरपोर्ट नजिकै मृत फेला।
२०००– तहिसीबाट लसएन्जल्सको उडानमा रहेको बोइङ ७४७ को ४ हजार माइलको उडानमा फिन्देल मारुही जीवित।
२०००– क्युवाबाट क्यानडाको मोन्ट्रियलसम्मको ४ घण्टाको उडानमा २२ वार्षिय विक्टर अलवारेज मोनिला जीवित।
२०१४– क्यालिफोर्नियाको सैन जोशेबाट के माउइसम्म बोइङ ७६७को ल्याण्डिङ्य गियरमा यात्रा गर्ने १५ वार्षिय याहया आब्दी जीवित।

कसले गर्छ, यस्तो जोखिमको यात्रा?
पत्रकार लियरमाउन्टका अनुसार टेकअफ हुनुभन्दा पहिले जहाजको चेकजाँच गरिन्छ। यो प्राय:जसो ग्राउण्ड स्टाफ र क्रु मेम्बरले गर्छन्। लुकेर यात्रा गर्नेले चेकजाँचपछि मात्र आफू लुक्ने स्थानसम्म पुग्ने गर्छन्।

यसकारण लुकेर यात्रा गर्नेहरू उनीहरूका नजिका व्यक्ति हुने सम्भावना रहन्छ। जसले अन्तिम समयमा जहाजको चेकजाँच गर्छ। यसरी यात्रा गर्ने पनि उनीहरूकै मान्छे हुन्छन् भनिन्छ। किनकि यस्तो संवेदनशील अवस्थामा जहाजसम्म ग्राउण्ड स्टाफ वा क्लियरेन्स स्टाफको मात्रै पहुँच हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.