|

बागलुङ : मध्येपहाडी लोकमार्गको बागलुङ बुसर्तिवाङ खण्डअन्तर्गत जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बनेको कृत्रिम ताल आसपासमा सडक भासिएसँगै पहिरो खसेको छ।

वर्षा हुने क्रम बढेसँगै तालमा पानीको बहाव बढेकाले मध्यपहाडी लोकमार्ग कटानमा पर्दै गएको छ। कतिपय स्थानमा सडक भासिन थालेको छ। सडक भासिएर पहिरो खसेमा गत वर्ष पहिरोले थुनिएर बनेको कृत्रिम ताल फुट्न सक्ने खतरा देखिएको स्थानीयले बताएका छन्। गत वर्ष सोही पहिरोमा परि एक महिलाको ज्यानसमेत गएको थियो।

पहिरोले विद्युतको केन्द्रीय प्रसारण लाइनका पोल र तारमासमेत क्षति पुर्‍याएको छ। विद्युतका पोल र तार सडकमा छरपष्ट भएको र पहिरोका कारण मध्यपहाडी लोकमार्गसमेत अबरुद्ध हुन थालेको स्थानीय दिनेश शर्माले बताए।

‘तलबाट कृत्रिम तालले सडक भासिने अवस्था र माथिबाट पहिरो खस्ने दुवै जोखिम बढेको छ,’ शर्माले भने, ‘अहिले सम्भावित दुर्घटना जोखिमलाई ध्यानमा राखेर सडक छेउतर्फ ढुंगा राखेर कुना तर्फबाट सवारी र पैदल यात्रुलाई आवत जावतको व्यवस्था मिलाइएको छ।’

गत वर्ष भदौ २९ गते राति लोकमार्गभन्दा ५०० मिटर माथिबाट भीषण पहिरो खस्दा बडिगाड खोला करिव ६ घण्टा थुनिएर ताल बनेको थियो। जसलाई स्थानीयले तुरतुरे ताल नाम दिएका छन्। लगभग तीन सय मिटर लामो ड्याम हुँदा त्यसले वर्षे खोला पनि थेग्न सक्ने अनुमान गरि ताल फुटाइएको थिएन।

तुरतुरे पहिरोको केही भाग चर्किएकै अवस्थामा छ। यो तालमा हिउँदको समयदेखी केही दिन अघिसम्म दैनिक डुंगा सयर गराएर स्थानीय कुमाल समुदायले आम्दानीसमेत गर्दै आएका थिए।

तुरतुरे क्षेत्र, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको संगमस्थल हो। माथिबाट पहिरो खसेमा ढोरपाटन नगरपालिकाको भाग डुवानमा पर्ने र ताल फुटेमा बडिगाडलगायत गुल्मीका तटीय क्षेत्रमा ठूलो क्षेति पुग्ने देखिएको भिमगिठे प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब उपरीक्षक ऋणबहादुर वैदावारले बताए।

‘पहिरो खस्ने क्रम जारी छ,जुनसुकै बेला ठूलो पहिरो खस्न सक्ने जोखिम बढेको छ,’ प्रनानि वैदारले भने, ‘अहिले प्रहरीलाई ड्युटीमा राखेर आवश्यक सजगता अपनाइएको छ, तालको दुवैतर्फ जोखिमबारे सन्देशमूलक बोर्ड राख्ने तयारी पनि छ।’

जोखिमयुक्त ताल र आसपासको मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कम्पनी, ढोरपाटन नगर र बडिगाड गाउँपालिकाका जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन्।

तस्वीरः स्थानीय जीवन पाण्डेको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.