|

बाँके : नेपालमा दर्ता नभएका औषधि बिक्री वितरण गरेको आरोपमा दुईजनाविरुद्ध मुद्दा दायर गरिएको छ। बर्दियाको गुलरिया नगरपालिका–६ स्थित मिन्सु सेवा क्लिनिकका सञ्चालक शैलेन्द्रकुमार गुप्ता र बझाङ जयपृथ्बी नगरपालिका–९ का रोहित धामीमाथि मुद्दा चलाइएको औषधि व्यवस्था विभाग नेपालगन्जले जनाएको छ।

गुलरिया नगरपालिका–८ का २७ वर्षीय गुप्ताले अवैधरूपमा सञ्चालन गरेको औषधि पसलमार्फत नेपालमा दर्ता नभएका औषधिहरू गैरकानूनीरूपमा बिक्री गर्दै आएकोले औषधि व्यवस्था विभाग नेपालगन्जले जिल्ला अदालत बर्दियामा मुद्दा दर्ता गरेको छ।

विभागको टोलीले अनुगमन गर्दा औषधि ऐन २०३५ को दफा १० को बर्खिलाप गरि पसल दर्ता नगरि मेडिकल सञ्चालन गरेको पाइएको भन्दै नेपालगन्ज शाखाकी प्रमुख निनु श्रेष्ठले नेपालमा दर्ता भएका औषधि र फर्मासिस्टबिना औषधिको कारोबार गरेकोले अनुसन्धान गरेर पसल सञ्चालक गुप्तामाथि मुद्दा चालइएको बताइन्।

‘औषधि ऐन २०३५ को दफा ३४ को उपदफा १ र २ को उपदफा घ बमोजिम ५ वर्षसम्मको कैद र जरिवाना मागदाबी गर्दै गुप्तामाथि मुद्दा दायर गरिएको छ,’ उनले भनिन्।

यसैगरी, नेपालमा दर्ता नभएका ४४ प्रकारका औषधि झोलामा बोकेर ओसारपसार गरेको आरोपमा बझाङको जयपृथ्बी नगरपालिका–९ का धामीमाथि मुद्दा दर्ता गरिएको छ। औषधि ऐन २०३५ को दफा ३४ को उपदफा १ बमोजिम ३ बर्षसम्मको कैद र जरीवाना मागदाबी गर्दै उनीमाथि कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार साहले बताए।

अवैध औषधिहरू गैरकानूनीरूपमा भारतबाट नेपाल भित्र्याएका धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरि थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग नेपालगन्ज पठाएको थियो।

नेपालमा दर्ता नभएका औषधिहरू अवैध तरिकाले भारतबाट नेपालमा निकासीपैठारी गरेको कसुर पुष्टि भएकोले उनीमाथि मुद्दा चलाइएको फार्मेसी निरीक्षक यादवप्रसाद ढकालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.