|

काठमाडौं : सरकारका पछिल्ला गतिविधिलाई नियाल्ने हो भने ऊ आफ्नै कतिपय निर्णयमा अडिग रहन सकेको छैन। सरकारले कानुन बनाउनका लागि ल्याएका केही विधेयकमा चरम असन्तुष्टि छ र आन्दोलन भइरहेको छ। यस्तै सरकारका कतिपय निर्णय पनि विवादित बनेका छन्।

दुईतिहाइको सरकारले जनताको अपेक्षाकृत काम गर्न नसकेको भन्दै सर्वत्र गुनासा छन्। जनताले अनेकौँ प्रश्न गर्न थालेका छन्। त्यो प्रश्नमा पनि सत्तापक्षले विरोध नै देख्ने गरेको छ। सरकारका कामको विरोध हुनु र विवादमा पर्नुको कारण खोज्नुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले सरकारका निर्णयको रक्षाका लागि अरिंगाल र सिपाही बन्न निर्देशन दिन्छन्। तर, अरिङगाल र सिपाही बोल्न थाल्दा नथाल्दै सरकारका निर्णय फिर्ता हुन्छन् ।

सरकारका काम विवादमा पर्नुमा प्रधानमन्त्रीका सल्लाहकारको पनि भूमिका छ। प्रधानमन्त्रीका हरेक कदमका पछि उनका सल्लाहकारको महत्त्वपूर्ण भूमिका रहन्छ। देशमा भइरहेका गतिविधि र सरकारले चाल्नुपर्ने कदमका बारेमा प्रधानमन्त्रीलाई उनका सल्लाहकारले सल्लाह प्रदान गर्दछन्। अहिले प्रधानमन्त्री सर्वाधिक आलोचनाको पात्र हुनुमा सल्लाहकार नै जिम्मेवार भएको आमबुझाइ छ। तर, यति धेरै आलोचना हुँदा पनि सल्लाहकार नफेरिनु वा यसबारे सल्लाहकार पंक्ति मौन रहनुले सल्लाहकारहरू लाचार कबच हुन् कि भन्ने शंका पनि उब्जिएको छ।

को–को छन् सल्लाहकार?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएअनुसार विष्णुप्रसाद रिमाल, राजन भट्टराई, अच्युत मैनाली र कुन्दन अर्याल प्रधानमन्त्री ओलीको सल्लाहकारमा नियुक्त छन्।

यिनीहरूबाहेक अरू पनि प्रधानमन्त्रीका सल्लाहकार छन्। जो भित्रीरूपमा प्रधानमन्त्रीलाई सल्लाह प्रदान गर्ने गर्दछन्। उनीहरूले हर तरहबाट प्रधानमन्त्रीलाई सहयोग गरिरहेका छन्। त्यसमा दलबाहिर र भित्र सर्वाधिक आलोचित बनेका विष्णु पौडेल हुन्।

सल्लाह कमजोर, परिणाममाथि आलोचना
सल्लाहकारहरू व्यापारी, आसेपासे, भरौटे, झोले लगायतले बजाएको तालमा नाचिरहेजस्तो देखिन्छ। सरकारका निर्णय विवादमा पर्ने क्रम बढ्दै जाँदा प्रधानमन्त्रीको ‘टोन डाउन’ हुने स्थिति तयार हुँदै छ। यो सरकारका लागि गम्भीर विषय हो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार एकाबिहानै निकै आक्रमक ट्वीट गरे। कसलाई लक्षित गरिएको भन्ने नखुले पनि उनले विरोधीहरूलाई ‘छौँडा’को संज्ञा दिएका छन्।

 

यस्तै, केही दिनअघि अर्का सल्लाहकार राजन भट्टराईले पनि ट्वीट गर्दै जनअसन्तुष्टिलाई सरकारविरुद्ध प्रयोग गर्न खोजिएको भन्दै इतिहास दोहोर्‍याउने कुचेष्टा भएको बताएका छन्।

 

भारतलगायत तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा भन्सारमा विषादी परिक्षण गर्ने सरकारको निर्णय सार्वजनिक भएको दुईदिन नबित्दै फिर्ता लिएकोमा शनिबारको नेकपा संसदीय दलको बैठकमा विरोध भएको छ।

यस्तै, प्रतिपक्षी नेपाली कांग्रेसले पनि उक्त निर्णयलाई जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड भन्दै आपत्ति जनायो। गुठी विधेयक, आइफा अवार्ड, मिडिया काउन्सिल विधेयक, मास्क प्रकरणमा सरकारको विरोध भइरहेको छ। सल्लाहकारका अभिव्यक्तिबाट पनि अनुमान लगाउन सकिन्छ प्रधानमन्त्रीलाई घेराबन्दी गरिँदै छ।

सामाजिक सञ्जालमा टिप्पणी
केही दिनअघि एक कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौंमा धुलो कम भएको तर सरकारकै विरोध गर्नाका लागि मास्क लगाउने गरेको टिप्पणी गरे। उनको उक्त अभिव्यत्तिको आलोचना भयो। सामाजिक सञ्जालमा मानिसहरू पक्ष–विपक्षमा देखिए। प्रधानमन्त्रीलाई सल्लाह दिनेले नै गलत सल्लाह दिइरहेको भन्दै आलोचना पनि भएको छ।

विद्वता बोकेर प्रधानमन्त्रीलाई सल्लाह दिन गएकाले नै आफ्नो हैसियत बिर्सिए भन्ने आरोप पनि लाग्ने गरेको छ। ट्वीटरमा प्रदीप भट्टराई ह्याण्डलबाट गरिएको ट्वीट प्रधामन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले रि-ट्वीट गरे। त्यसमा सुफल काफ्ले ह्याण्डलबाट गरिएको ट्वीटमा अर्यालको विद्यार्थी हुनुमा आफूलाई धिक्कार लागेको उल्लेख छ।

त्यसो त यस्ता आलोचना र क्रियाप्रतिक्रियालाई राजनीतिक रंग दिने गरिन्छ भने मन नपरेको विषयमा टिप्पणी गर्‍यो भने विरोधी भन्ने गरिन्छ। स्वास्थ्यलाई ख्याल गर्दै मास्क लगाउनुलाई पनि विरोधीको संज्ञा दिनु कत्तिसम्म वाञ्छनीय छ ?

आफ्नैको विरोध भारी पर्‍याे!
सोमबार र शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा सरकार र पार्टी नेतृत्वको खुलेर विरोध भएको छ। नेकपा सांसद रामकुमारी झाँक्रीले संसदीय दलको बैठक बसेकोमा खुसी व्यक्त गर्दै कम्तीमा संवादको सुरुवात भएको बताइन्। उनले संवाद हुन थालेपछि विषयहरू आफैँ कम हुँदै जाने बताइन्।

नेकपा एकताको १३ महिना बितिसकेको छ। तर, पार्टीका बैठक नियमित छैनन्। नेता तथा कार्यकर्ताले जिम्मेवारी पाएका छैनन्। उनीहरूले पार्टी र सरकारलाई दिन चाहेका सुझाव र सल्लाह दिन पाएका छैनन्। अर्कोतर्फ आफ्ना समस्या सुनाउन पाएका छैनन्। यसबाट पनि कार्यकर्तामा अटसपटस र छट्पटाहट छ। के उनीहरू छौँडा बनेकै हुन् त?  

सरकार र पार्टी नेतृत्वको विरोध हुनुका पछाडि यी पनि कारण हुन्। सरकार चिप्लिँदा नेता कार्यकर्ताले समात्न पाएका छैनन्। नेकपाका नेता विष्णु रिजालले आइतबार बिहानै ट्वीट गर्दै भनेका छन् सरकारले ढंग नपुर्‍याउँदा नराम्ररी चिप्लियो। काम गर्नुपर्छ भाषण गरेर मात्रै हुँदैन।

सल्लाहकार जस–अपजसको भागिदार
प्रधानमन्त्री सफल र असफल हुनुमा सल्लाहकारको भूमिका रहन्छ। उनी सफल र असफल भएको जस–अपजस पनि सल्लाहकारले लिनुपर्छ। अन्तर्राष्ट्रियरूपमा हेर्ने हो भने सल्लाहकार हुनका लागि विज्ञ हुनुपर्छ र विज्ञ टिम नै सल्लाहकार हुने गर्दछन्। अध्ययन,अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा सल्लाह दिनुपर्छ।

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रेस सल्लाहकार भएर काम गरिसकेका नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायका अनुसार नेपालमा सल्लाहकारको भूमिका सल्लाहकारको जस्तो हुँदैन। उनी भन्छन्, ‘यहाँ खासगरी पछिपछि दौडिने खालको र सल्लाह मागे दिने नमागे बेरोजगार बस्ने खालको देखिन्छ।’ उनले थाहा खबरसँग भने, 'सल्लाहकार प्रधानमन्त्रीको सफलता र असफलतामा जस र अपजसको भागिदार बन्नुपर्छ।'

त्यसो त सत्तारूढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)मा विभिन्न गुट छन्। जसका कारण एकपक्षले ओलीको गुणगान गाइरहँदा अर्कोपक्ष आलोचनामा त्यति अस्वाभाविक होइन। वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका सल्लाहकारले एकाबिहानै गरेका ट्वीटको नेकपाले खुलेरै विश्लेषण गर्ने बेला आएको छ।

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुभन्दा समयमै उचित सल्लाह दिने लिने कि? प्रधानमन्त्रीसँग आँखा जुधाएर सल्लाह दिनसक्ने सल्लाहकारभन्दा जागिर खान गएकाहरू र यथार्थभन्दा इच्छामूताविकको राय टक्रयाउने  पंक्तिले समस्या बढेको देखिन्छ।

त्यसैले कहिलेकाहीँ प्रधानमन्त्रीले जागिरे सल्लाहकार र स्वार्थी समूहको सानो घेराबाट बाहिर निस्किएर समाजका विविध विचार र पक्षका मानिसहरूसँग राय परामर्श लिनु पनि लाभदायक हुन्छ।


सम्बन्धित समचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.