|

काठमाडौं : कोपा अमेरिकाको ४६ औ संस्करणको भोलि फाइनल खेल हुँदैछ। १२ वर्षपछि आयोजक ब्राजिल उपाधीका लागि पेरुसँग भिड्दैछ। अन्य प्रतियोगिता र संस्करणको फाइनलभन्दा कोपाको २०१९ को फाइनल अलिक भिन्न हुनेछ। 

फाइनल खेलको पूर्वसन्ध्यामा अफिसियल बलसमेत सार्वजनिक भइसकेको छ। कालो-सेतो र सुनौलो रंग मिश्रित नाइक कम्पनीको मेर्लिन रविस्को फाइनल खेलको अफिसियल बलको रुपमा खेलाइने छ। नाइकले कोपा अमेरिकाको लागि भनेर रविस्को नाम दिएर बल निर्माण गरेको थियो। मेर्लिन रविस्को बलमा खेल हुने मिति, रंगशाला र प्रतिस्पर्धी राष्ट्रको झन्डासमेत अंकित छ।

नाइक रविस्कोमा देशभर फैलिएको भित्तेचित्र र सडक संस्कृतिको महत्व दिनका लागि डिजाइन गरिएको थियो। बलमा अंकित ५ वटा ताराले ब्राजिलको पाँचौ आयोजनाको संकेतको रुपमा देखाइएको छ। जुन कोपा अमेरिकाको आधिकारीक लोगो र फिफाको गुणस्तरको प्रमाण चिह्नसमेत हो। फाइनल म्याचमा प्रयोग गरिने बल अन्य खेल दौरान प्रयोग गरिएको बलकै जस्तो विशेषता रहेको छ। नाइक रविस्को ठूलो प्रभावशाली सतहको साथ बनाइएको छ। जो १२ बाट घटाएर ४ प्यानलको रहेको छ। यसको सिलाइको संख्या अन्य बलको तुलनामा ४० प्रतिशतले घटाइएको छ। निश्चित सटका लागि आर्दश बिन्दु रहेको छ।

कोपा अमेरिकाको लागि बनाइएको बलमा परम्परागत रबरलाई प्रतिस्थापन गर्दै लेटेक्सस (जुन मेडिकल क्षेत्रमा प्रयोग हुने ग्लोब बनाइने रबर) लेयर राखिएको छ। जसले निरन्तर हावाको दबाब र आकारलाई सुरक्षित राख्छ। पहिलो पटक अल कन्ट्रोल कन्डिसन (एसिसी) प्रविधिको प्रयोगबाट बनाइएको यो बल सबै प्रकारको मौसम र मैदानको अवस्थामा सहज रुपमा खेल्न सक्ने प्रमाणित गरिएको छ।

ब्राजिल र पेरु भिड्दै कसले जित्ला उपाधि?

विश्वकै सबैभन्दा ठूलो माराकाना रंगशालामा हुने फाइनलमा आयोजक ब्राजिल र पेरूबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ। फाइनलमा घरेलु मैदानमा आयोजक टोली उपाधि रक्षा गर्ने रणनीतिमा हुँदा पेरू उपाधी जित्दै आफूलाई प्रमाणित गर्न चाहन्छ।

विश्व फुटबलमा छुट्टै इतिहास बनाएको ब्राजिलले २००७ को कोपापछि ३ वटै संस्करणको सेमिफाइनलसम्म पुग्न सकेको थिएन। ऊ १२ वर्षपछि विश्वकै सबैभन्दा पुरानो प्रतियोगिता जितेर साख कायम राख्न चाहन्छ।

कोपा इतिहासमा उरुग्वे र अर्जेन्टिनापछि ब्राजिलले सर्वाधिक सफल टोली हो। उसले दक्षिण अमेरिकी च्याम्पियनसिप र कोपा गरी ८ पटक उपाधि आफ्नो पक्षमा पारेको छ।

यता, पेरू तेस्रो पटक कोपा अमेरिका जित्ने लक्ष्यमा हुनेछ।  पेरूले हालसम्म २ पटक कोपा अमेरिकाको उपाधि जितेको छ। पेरूले पछिल्लो पटक दक्षिण अमेरिकी च्याम्पिनयसिपबाट कोपामा रुपान्तरण भएको पहिलो संस्करण १९७५ जितेको थियो। त्यसयता पेरू पहिलो पटक डिफेन्डिङ च्याम्पियन चिलीलाई हराउँदै फाइनल पुगेको हो। 

ब्राजिल र पेरू चिरपरिचित प्रतिद्वन्दी हुन्। दुई टोलीबीच हालसम्म ४४ खेल भएको छ। जसमा ब्राजिल हाबी भएको छ। ब्राजिलले ३२ खेल जितेको छ भने पेरूले ४ खेल जितेको छ। दुई टोलीबीच ९ खेल बराबरीमा टुङ्गिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.