इलाम : मनसुन सक्रिय भएपछि आइतबार रातिको वर्षाले इलामको सन्दकपुर गाँउपालिका ३ र ५ जोडने माइखोलाको निर्माणाधीन पुल बगाएको छ। ढलान गर्न ठिक्क पारेको पुलको जगै खोलाले बगाइदिएको हो। स्थानीय तहको निर्वाचनको बेला साविक जिल्ला विकास समितिको प्राविधिक कार्यालयमार्फत ०७३/०७४ मा सम्झौता भएर दिवा शंकर त्रिशक्ति जेभीले पुल निर्माणको जिम्मा पाएको थियो।
३ करोड १७ लाख रुपैयाँको लागतमा १ वर्षमा पुल निर्माण सक्ने सम्झौता भएको थियो। तर, सम्झौता अवधिको पुलको आधा पनि काम भएको थिएन। पुलको दुवैतर्फ पिलर हालेपछि लामो समयसम्म बजेटको समस्या देखाउँदै ठेकेदार कम्पनीले पुल निर्माणको काम अघि बढाएको थिएन।
बाढीको बोझ धान्न सकेन
गत वैशाखबाट पुल निर्माण थालिएको थियो स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत २२ मिटर पुल बने त्यस क्षेत्रका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा राखिएको थियो। पुल बगाएपछि काठेपुलबाट जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हट्ने स्थानीयको चाहनामा फेरि ठेस पुगेको छ।
'आइतबार राति सामान्य बाढी आएको थियो, ढलान गर्न लागिएको पुल त बगाएछ’ सन्दकपुर गाउँपालिका ५ का वडाध्यक्ष जितबहादुर साँवाले भने, ‘भर्खरै मात्र बन्न थालेको थियो। पुल बन्यो, ढुक्क भइयो भनेको त बाढीको बोझ धान्न सकेन।’
दैनिक डेढ दर्जन धेरै सवारीसाधान आउजाउ गर्ने यस स्थानमा वर्षौंदेखि पक्की पुलको माग भए पनि ढिलो गरी निर्माण सुरु भएको थियो । सो पुल निर्माणाधीन स्थान हुँदै भारतको दार्जिलिङसँग सिधा सम्पर्क भएकाले राणा शासन कालमा नै यो बाटो पूर्वका विभिन्न जिल्लाका बासिन्दाले उपयोग गर्दै आएका थिए ।
बाढीले पुलको होमपाइपहरू, रड, फर्माहरू बगाएको छ भने पिलर ढालेको छ। ठेकेदार कम्पनीका अनुसार पुल पूर्णरुपले क्षति भएको छ।
ठेकेदार सुवास चिपालुका अनुसार निर्माणाधीन पुलले एक महिनाअघि पनि माइखोलाको बहाव थेग्न नसकेर भत्केको थियो। ‘बल्लबल्ल उठाएका थियौं, अहिले त पूरै क्षति भएको छ, पुनर्निर्माण नै गर्नुपर्ने भएको छ,’ उनले भने। उनका अनुसार स्ल्याब ढलान मात्र गर्न बाँकी राखेर काम सकिएको थियो।
सम्झौताअनुसार गत वर्षको मंसिरमै पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, जिल्ला पूर्वाधार कार्यालयले समयमा बजेट निकासा गर्न नसक्दा काम रोकिएको निर्माण व्यवसायी संघ इलामका अध्यक्ष समेत रहेका चिपालुले बताए।
साबिक सुलुबुङ र जमुना गाविस जोड्ने माइखोलामा पक्की पुल नहुँदा बर्खायाममा स्थानीयलाई सास्ती हुने गरेको छ। काठेपुलको सहायताले गाडी आउजाउ गरे पनि बाढीले बगाइरहने हुनाले स्थानीय समस्यामा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।