|

एजेन्सी : कंगोका पूर्वविद्रोही नेता बोस्को नगाण्डालाई अन्तराष्ट्रिय न्यायालयले युद्धअपराधमा दोषी ठहर्‍याएको छ। अन्तराष्ट्रिय अपराध अदालत (आइसिसी) ले उनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको हो।

टर्मिनेटरका नामले चिनिने बोस्को १८ वटा आरोपमा दोषी पाइए। न्यायाधीशहरुले भनेका छन्, 'उनका सैनिकहरुले बच्चाहरुको टाउको फुटाउनेदेखि आन्द्राभुँडी निकाल्नेसम्मका अपराध गरेको पाइयो।'

बोस्कोले हत्या र बलात्कारमात्रै नभइ महिलालाई यौनदासी बनाएको तथा युद्धमा बालसैन्यको प्रयोगसमेत गरेको पुष्टि भएको छ। अन्तराष्ट्रिय अपराध अदालतले कसैलाई 'यौनदासी राखेको' आरोपमा दोषी ठहर्‍याएको यो पहिलो घटना हो।

वकिलहरुले बोस्कोको विगत सुनाउँदै उनी स्यमम् युद्धपीडित रहेको र जबर्जस्ती बालसेनाका रुपमा युद्धमा सामेल गराइएको जिकिर गरेका थिए। तर अदालतले वकिलहरुको दलिल खारेज गरिदियो। सन् २००२ मा गठन भएको आइसिसीले आफ्नो स्थापनायता युद्धअपराधमा दोषी ठहर्‍याएकामध्ये बोस्को चौथो व्यक्ति हुन्।

बोस्कोले सन् २०१३ मा कंगोस्थित अमेरिकी दूतावासमा आत्मसमर्पण गरेका थिए। उनले आफ्नो रक्षार्थ आत्मसमर्पण गरेको बताइन्छ। उनी नेतृत्वको एम–२३ विद्रोही समूह शक्ति संघर्षमा पछि पर्दै जाँदा उनी असुरक्षित बन्न पुगेका थिए।

सन् १९७३ मा रुवान्डामा जन्मेका उनी तुत्सी समुदायले नेतृत्व गरेको साम्प्रदायिक लडाईंमा सामेल हुन कंगो पुगेका थिए। १७ वर्षको उमेर छँदै युद्धमा सामेल भएका उनी सन् २००९ मा शान्ति प्रक्रियामा सामेल भई कंगोली राष्ट्रिय सेनाको जर्नेलसम्म बने। सन् २०१२ मा सेनाबाट पनि विद्रोह गरी निस्केका उनले सन् २०१३ मा आत्मसमर्पण गरे।

अन्तराष्ट्रिय अपराध अदालतको तीन सदस्यीय बेन्चले बोस्कोले सन् २००२ देखि २००३ बीचको अवधिमा युद्धअपराध गरेको ठहर गरेको हो। '४५ वर्षीय बोस्कोले निहत्था नागरिकलाई निशाना बनाउन निर्देशन दिने गरेको पाइयो,' फैसला सुनाउने क्रममा न्यायाधीश रोवर्ट फ्रेमरले भने। बालसेनामा किशोरीहरुलाई समेत भर्ती गर्ने गरेका बोस्को स्यमंले एक पादरीको हत्या गरेको फैसलामा भनिएको छ।

युद्धअपराधका मूल आधार

कंगोको एक केराघारीमा ४९ शव विकृत अवस्थामा भेटिए। एकजना गर्भवती महिला आफूलाई बलात्कारबाट जोगाउने कोसिस गर्दै गर्दा मारिएको पुष्टि भयो। महिला तथा १५ वर्षमुनिका बालिकाहरुलाई यौनदासी बनाएको पाइयो।

फैसला सुनाउँदै गर्दा न्यायाधीशहरुले बोस्कोका कु-कर्महरुको महत्वका साथ चर्चा गरेका थिए। बोस्कोलाई दोषी ठहर्‍याउने क्रममा अदालतले उल्लेख गरेका आधारहरुप्रति मानवअधिकारवादीले सन्तुष्टि जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.