|

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा मंगलबार भारत र न्युजिल्याण्ड भिड्दै छन्।  इंग्ल्याण्डको म्यानचेष्टरमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। 

ओल्ड ट्राफोर्डमा मैदान उत्रदा दुवै टोलीको नजर फाइनल पुग्नु हुनेछ। दुवै टिमले सेमिफाइनलका लागि तयार भएको बताइसकेका छन्। यस खेलको विजेताले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछन्।

दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा भारत बलियो देखिएको छ। पाँच भेटमा भारतले ३ खेल जितेको छ । न्युजिल्याण्डले १ खेल जितेको छ। एक खेल नतिजाविहीन बनेको थियो ।

विश्वकपको इतिहासमा पहिलो पटक भारत र न्युजिल्याण्ड सेमिफाइनलमा खेल्न लागेका हुन्। यसै विश्वकपको लिग चरणको खेलमा पनि दुई टोलीबीच खेल भएको थिएन्। वर्षाले प्रभावित गर्दा दुई टोलीबीचको खेल रद्द भएको थियो ।

विश्वकपको सेमिफाइनलमा पहिलो पटक खेल्न लागेपनि दुई टोलीबीच यू–१९ विश्वकपको सेमिफाइनलमा भने प्रतिस्पर्धा गरेका थिए। सन् २००८ मा भएको उक्त यू–१९ विश्वकपको सेमिफाइनलमा भारतले जितेको थियो।  फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले उपाधि नै जितेको थियो।

यू–१९ विश्वकपको सेमिफाइनलमा रहेका दुवै देशका कप्तानहरु अहिले राष्ट्रिय टोलीको कप्तानी गरिरहेका छन् । न्युजिल्याण्ड केन विलियम्सनको नेतृत्वमा रहेको थियो भने भारत विराट कोहलीको कप्तानीमा रहेको थियो। सन् २००८ को सेमिफाइनलमा भारतले डिएल मेथडमा  न्युजिल्याण्डलाई ३ विकेटले हराएको थियो।

हालसम्म एकदिवसीय क्रिकेटमा दुई राष्ट्रबीच १०५ पटक प्रतिस्पर्धा गरेका छन्। जसमा भारतले ५५ खेलमा जित हात पारेको छ भने न्युजिल्याण्डले ४५ खेल जितेको छ। १ खेल बराबरी भएको छ भने १ खेल नितिजाविहीन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.