तिहारसम्म पुनर्निर्माण सक्ने योजना

|

काठमाडौं : रत्नपार्क नजिकैको रानी पोखरी २०७२ वैशाखको भूकम्पपछि उदाश छ। पोखरीका लागि त पानी चाहिने हो तर रानी पोखरी रित्तै भएको चार वर्ष भइसक्यो। एकातिर बालगोपालेश्वर मन्दिर खण्डहर बनेको छ भने अर्कातिर रानी पोखरी फुटबल मैदान जस्तो फुङ्ग उडेको छ।

तर यही रानी पोखरी पुनर्जीवित हुने आशा केही समयदेखि बढिरहेको छ। रानी पोखरीभित्र केही महिनादेखि रंगीबिरंगी लुगामा सजिएका महिलाहरुको चहलपहल बढिरहेको छ। उनीहरु लाइन लागेर दिनभरी खटिरहन्छन्। कसैका हातमा इँटा र कसैकहाँ माटोका डल्ला छन्। उनीहरु धमाधम बालुवा मिसिएको माटो धमाधम ओसारिरहेका छन्। बालुवा मिसाएको कालोमाटो रानी पोखरीको पिँधमा भर्न उनीहरुलाई अहिले भ्याइनभ्याइ छन्। भक्तपुरकी चण्डेश्वरी बमनुसहित रानी पोखरीको स्वरुप फर्काउन अहोरात्र खटिरहेका छन्। 

असारको अन्तिम साता देशैभर सरकारलाई बजेट सक्ने चटारो छ। उस्तै चटारो रानी पोखरीमा खटिएका भक्तपुरे शिल्ली महिलाहरुलाई पनि छ।असारको महिना घरी पानी दर्किन्छ, घरी सिमसिम गर्छ। तर भक्तपुरका यी महिलाको गति भने उस्तै छ। कमिलाकै शैलीमा उनीहरु निरन्तर खटिएका छन्। सरकारी निकायले रानी पोखरीको पिँधमा पानी अड्याउन नसकेपछि त्यसको जिम्मा पाएका छन् भक्तपुरे आमाहरुले।  

पुर्खाले बनाएको पुरातात्विक सम्पत्ति, कला र संस्कृतिलाई पुनर्निर्माण गर्न पाउनु खुसी र गौरवको कुरा भएको चण्डेश्वरी बमनु बताउँछिन्। 'रानी पोखरी बाहिरबाट मात्र देखेको थिएँ', उनले सुनानइन्, 'भित्रै पसेर काम गर्दा रानी पोखरीको यस्तो अवस्था होला भनेर सोचेको पनि थिइनँ।'

उनीहरु रानी पोखरी छिर्दा डम्पिङ साइट जस्तै थियो, हेर्दा मनै कुँडिने। 'पहिलोपटक रानी पोखरी छिर्दा डम्पिङ साइट जस्तै  थियो। फोहरको थुप्रो मात्रै देख्दा चित्त दुख्यो', उनले भनिन, 'कुकुर मारेर फालेर गन्हाइरहेको थियो। फोहरका बोराले भरिएका थिए। झाडी पलाएको थियो।'

उनीहरुलाई हरियो घाँस मात्रै फाल्न एक साता लाग्यो। 'अहिले पानी जमेको देख्दा खुसीको सिमा छैन यो मनमा', उनले सुनाइन्, 'यस्तो बन्छ भनेर कल्पना पनि गरेको थिइनँ। ' हेर्दाहेर्दै झारको ठाउँ पानीले लिन थालेको उनले बताइन्। 

'देशको सम्पत्ति बचाउन पाउँदा एकदमै खुसी लागेको छ। पैसा ठुलो कुरा भएन। देश निर्माण गर्ने अवसर पाइएको छ', उनले खुसी हुँदै भनिन्। उनीहरुले एक दिनमा एक हजार ५० रुपैयाँ पारिश्रमिक पाउँछन। १० देखि १५ दिनको बीचमा ठेकेदारले एकमुष्ट पैसा दिन्छ।

उनीहरु तिहारसम्म रानी पोखरीमा पानी भर्ने गरी कम्मर कसेर लागेका छ्न। रानी पोखरीमा खटिएकी शर्मिला धोजुका दैनिक ६० जनाले काम गरिरहेका छन। उनीहरुले यसअघि भक्तपुरको पोखरी यसैगरी बनाइसकेका छन्। उनीहरुले सीता पोखरी र ब्राजा पोखरीमा यसैगरी पानी जमाइसकेका छन्। अनुभवी भएकोले रानी पोखरी निर्माण उपभोक्ता समितिले यहाँ बोलाएको हो।

कालो माटो राखेर पानी अडयाउने प्रविधि मजबुत रहेको अष्टलक्ष्मी दुवाल बताउँछिन। उनका अनुसार कालो माटो अन्य माटोको तुलनामा दह्रो हुन्छ। हात, खुटाले मुछेर बनाएको माटो कमसल हुन्छ। हाल मेसिनले बनाइएका कालो माटो प्रयोग भइरहेको छ। 

सुरुमा रानी पोखरी निर्माण गर्ने जिम्मा काठमाडौं महानगरपालिकाले पाएको थियो। महानगरले समयमा गर्न नसकेकाले सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मा दिएको छ। रानी पोखरी निर्माण हाल पहिलो चरणमा छ।

रानी पोखरी निर्माणको क्रममा पहिलो सतहमा माटो राख्ने काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनयर राजुराज मानन्धरले बताए। उनका अनुसार धमाधम पहिलो सतहमा माटो राखेर परीक्षण गरिँदैछन्। पानीलाई अड्याउन परीक्षण धमाधम हुँदैछ।

रानी पोखरीको चुनौती भनेको पानी अडयाउनु हो। पर्खाल लगाउने काम पनि अहिले चलिरहेको छ। मानन्धरका अनुसार कालो माटो छान्‍न ढिलो हुँदा काम अगाडि बढ्न सकिरहेको छैन। माटो मात्र राख्‍न सकेमा कात्किसम्ममा रानी पोखरीमा पानी भरिने उनको भनाइ छ।

पानी पर्दा पनि अहिले काम भइरहेको छ। इँटाको काम भएको ठाउँमा पाल लगाएर सुचारु गरिएको छ। 'पर्खाल र कालोमाटो लगाउ २ करोड खर्च भइसकेको छ', उनले भने, 'रानी पोखरी पुनर्निर्माणका लागि नौ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।'

काठमाडौं महानगरपालिकाले रानी पोखरी पुनर्निर्माण गर्न पुनर्निर्माण उपभोक्ता समिति निर्माण गरेको छ। महानगरको उपभोक्ता समिति अन्तर्गत रानी पोखरीको पुनर्निर्माण भइरहेको समितिका अध्यक्ष अजय स्थापितले बताए। उनका अनुसार पहिलो चरणमा कालो माटो राख्ने भएको छ। बालुवा मिसाएको कालो माटोकै कारण रानी पोखरीको पिँधमा पानी अडिएको हो। 

रानी पोखरीको पिँधमा माटो लगाउने काममा ढिला भइरहेको छ। कामदार थप्न वा परिवर्तन गर्न ठेकेदारसँग सल्लाह भइरहेको स्थापितले जानकारी दिए। कामको गति बढाउन पुरुष कामदार जरुरी रहेको उनले औँल्याए। कामलाई अहिलेकै गतिमा निरन्तरता दिन सके रानी पोखरीमा तिहारसम्म पानी भर्न सकिने उनले सुनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.