|
प्रतीकात्मक तस्विर

काठमाडौं : आइसिसी टि- ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्न जाने नेपाली क्रिकेट टोलीलाई मंगलबार विदाइ गरिएको छ।

कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै एक कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले विदाइ गरेका हुन्।

नेपाली टोली आज दिउँसो १ बजे मलेसिया प्रस्थान गर्दैछ। सिङ्गापुरमा आयोजना हुने उक्त आइसिसी टि- ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोली सिङ्गापुर जानुअघि मलेशिया जान लागेका हुन्।

मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ। नेपाल र मलेसियाबीचको सिरिज यही असार २८ र २९ गते हुनेछ। टि- ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ।

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन्। नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ।

त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ। शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन्।

ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन्।

वैकल्पिकतर्फ खेलाडीमा सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.