|

प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनको दल भारतीय जनता पार्टीको समर्थन गर्ने बलिउड अभिनेता अनुपम खेरसँग अहिले कुनै पनि फिल्म छैनन्। भारतको उच्च सम्मान पद्म भूषणबाट सम्मानित तथा ५०० भन्दा बढी फिल्ममा अभिनय गरेका अनुपमको फिल्मी करिअरमा अहिले खालीपन आएको छ।

बलिउडमा मात्रै नभएर हलिउडमा पनि अभिनयमार्फत चम्किएका अनुपमसँग हाल एक पनि फिल्म नभएको बीबीसी हिन्दीले लेखेको छ। उनले अभिनय गरेको पछिल्लो फिल्म 'वन डे जस्टिस डिलिवर्ड' भने शुक्रबारबाट प्रदर्शनमा आएको छ।

उक्त फिल्ममा अनुपम एक न्यायाधीशको भूमिकामा छन्। उक्त फिल्ममा ईशा गुप्ताको मुख्य अभिनय रहेको छ।

फिल्मसँगै राजनीतिमा पनि सक्रिय अनुपम भारतीय जनता पार्टीलाई खुलेर समर्थन गरिरहेका छन्। उनकी पत्नी किरण खेर भाजपा सांसद हुन्। भाजपालाई समर्थन गरेकै कारण आफूलाई बलिउडमा अलग थलग गर्ने प्रयास भएको अनुपमको बुझाइ छ।

अनुपम खेरले भनेका छन्, 'धेरैभन्दा धेरै मविरुद्ध मान्छेहरू के गर्लान्? मलाई काम नदेलान्। म ९९.९ प्रतिशत मान्छेहरूका बीचमा लोकप्रिय छु। ०.०१ प्रतिशत व्यक्तिहरू जो मलाई अलग थलग गर्न चाहन्छन् उनीहरूको मलाई आवश्यकता छैन।'

बलिउडका केही व्यक्तिले आफूलाई फिल्ममा लिन नचाहेको अनुपमको भनाइ छ। उनी भन्छन्, 'तर म उनीहरू भन्दा कम छैन। मेरो नाम हलिउडका १० प्रभावशाली व्यक्तिको नाममा आउँछ।'

भारतीय लोकसभा निर्वाचनभन्दा केही पहिले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित फिल्म 'द एक्सिडेन्टल प्राइम मिनिस्टर' मा अनुपम देखिएका थिए। उक्त फिल्म भाजपालाई सहयोग पुर्‍याउन निर्माण गरिएको आलोचकहरूको भनाइ थियो। जसमा अनुपम मनमोहन सिंहको भूमिकामा देखिएका थिए।

भारतीय फिल्म उद्योगमा ३५ वर्षदेखि निरन्तर लागिरहेका ६५ वर्षीय अनुपम अहिले भाजपाका कारण बलिउडमा अटाउन सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.