|

पोखरा : गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्की स्थापना भएपछिको पहिलो आयोजनाको मंगलबार उद्घाटन भएको छ।

प्रदेश पहिलो सिंचाई आयोजना समेत रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिकाको पौवाखोला-सिमलबेँशी सिंचाई आयोजना मंगलबार भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका हुन्। २०७५ भदौ २८ गते उद्घाटन गरी गएको पुस महिनामा सरस्वती निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको उक्त आयोजना निर्माण सम्पन्न भएपछि ल्वाङघलेलका ३४७ घरधुरीका ३० हेक्टर खेतीयोग्य जमिनमा सिंचाई पुगेको छ।

२०७६ मंसिरसम्म निर्माण सम्पन्न गरिसक्नेगरी सम्झौता भएपनि छ महिना अघि नै उक्त आयोजना सम्पन्न भएको हो। ‘हिजोको हाम्रो काम गर्ने परिपाटीलाई छोडेर आज यो आयोजना सम्झौता समयअगावै सम्पन्न गर्‍यौँ’ भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले भने, ‘एक करोडको योजनालाई वर्षाैँ लाग्ने परिपाटी त्यागियो। अलिकति आफैँलाई सुधारेका छौँ। कामगर्ने कर्मचारी, उपभोक्ता निर्माण ब्यवसायी सबै सुधारिएर समृद्धि हाम्रै पालामा ल्याउनुपर्छ भनेर अगाडि बढेका हौँ।’

एक करोड ३५ लाख रुपैयाँको उक्त सिंचाई आयोजना निर्माण सम्पन्न भएको हो। विकास गर्न धेरै समय नलाग्ने उदाहरण पौवाखोला–सिमलबेँशी सिंचाई आयोजनाले पुष्टि गरेको भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए। ‘विकास गर्न धेरै समय लाग्दो रहेनछ भन्ने यो आयोजनाले पुष्टि भएकोे छ’, मन्त्री बस्नेतले भने, ‘उपभोत्ता समिति, उपभोत्ता, निर्माण ब्यवसायी, कर्मचारी सबै मिले विकास गर्न धेरै समय लाग्दै लाग्दैन। विकास ढिलासुस्ती गर्ने, निर्माण नसक्ने बानी सबैमा छ। यसलाई त्याग्नु पर्छ।’ 

कतिपय निर्माण ब्यवसायीले समयमै काम नसक्ने, ढिलासुस्ती गर्ने र लापरबाही गर्ने गरेकोले विकास निर्माणमा लापरबाही भइरहेको उनको भनाई छ। उनले समयमै निर्माण सम्पन्न गर्ने निर्माण ब्यवसायीको खाँचो रहेको पनि बताए। 

सिंचाई आयोजना निर्माणपछि स्थानीय पनि खुसी भएका छन्। ‘यहाँ नहर नहुँदा कति त खेत बाँझै हुन लागेका थिए। कति बेला पानी पर्ला र खेत रोपौँला भन्ने स्थिति थियो’, स्थानीय बलबहादुर गुरुङले भने, ‘पानी नभएकोले बर्खे पानीमा धान मात्रै रोप्दै आएका थियौँ। अब त बाह्रै महिना बाह्रैकाल पानी आउने भयो। जुन महिनामा पनि खेती गर्दा हुने भयो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.