|

तनहुँ : स्थानीय बीउको प्रयोग गर्ने किसानको तुलनामा उन्नत बीउको प्रयोगले मैकको उत्पादन बृद्धि हुन सक्ने अनुसन्धानले देखाएको छ। उन्नत बीउको प्रयोग गर्ने किसानको मकैको उत्पादकत्व ३०.२३ प्रतिशतले बढी भएको पाइएको अनुसन्धानमा सहभागी विद्यार्थी कैलाश पाण्डेले जानकारी दिए। 

तनहुँको व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे र बन्दीपुर गाउँपालिकाका मकै उत्पादक किसानमा सञ्चालन गरिएको अनुसन्धानले स्थानीय बीउ प्रयोग गर्ने भन्दा उन्नत जातको उत्पादकत्व बढी भएको पाइएको इन्टरनेशनल जर्नल अफ एप्लाइड एण्ड साइन्सेस वायोटेक्नोलोजीले जनाएको छ।

‘तनहुँमा मकैको उत्पादनको अवस्था, उन्नत बीउको प्रयोग र यसलाई प्रभाव पार्ने कारकहरू’ शीर्षकमा सञ्चालित अनुसन्धानले उन्नत बीउको प्रयोगले मकैबाट हुने वार्षिक आयलाई ५५ प्रतिशतले बृद्धि गर्न सक्ने देखाएको छ। 

अनुसन्धानका अनुसार ४० प्रतिशत किसानले उन्नत बीउको मात्र प्रयोग गर्ने गरेको, ४० प्रतिशत किसानले स्थानीय बीउको मात्र प्रयोग गर्ने गरेकोे र २० प्रतिशतले दुवै बीउ प्रयोग गर्ने गरेका छन्। उन्नत बीउको तुलनामा स्थानीय बीउको घरायसी खपत भने बढिरहेको छ।

उन्नतको तुलनामा स्थानीय बीउको स्वाद र भण्डारणको क्षमता किसानको प्राथमिकतामा पर्नु नै यसको मुख्य कारण भएको सोध पत्रमा बताइएको छ। 

कृषि प्राविधिकको पहुँच र मकैको बीउ परिवर्तन दरले किसानमा उन्नत बीउको ग्रहणशीलतालाई प्रभाव पार्ने पाइएको सोध पत्रमा उल्लेख गरिएको छ। उन्नत बीउकोे प्रयोगमा समयमा बीउ उपलब्ध नहुनु र सिञ्चाइको अभाव मकै खेतीको मुख्य समस्या रहेको सो सोधपत्रमा उल्लेख छ। 

इन्टरनेशनल जर्नल अफ एप्लाइड साइन्सेस वायोटेक्नोलोजीमा सोध कार्यको अनुसन्धानमा कृषि तथा वन विज्ञान विश्व विद्यालयका विद्यार्थी कैलाश पाण्डे र विजय श्रेष्ठ तथा त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङका विद्यार्थी कुशल नहर्कीको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.