|

सिन्धुपाल्चोक : स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बित्यो। गाउँमा स्थानीय जनप्रतिनिधि आएका छन्। गाउँमा जनप्रनितिधि आएपछि जनताले केही विकासको मूल फुट्ने अपेक्षा राखे। केही स्थानीय तहले विकासको दिशा लिए। तर, केही स्थानीय तहले पार्टीगत रूपमा बजेट विनियोजन गरेर असार मसान्तमा बजेट सक्ने योजना मात्रै तयार गरे।

सिन्धुपाल्चोकमा चालू आर्थिक वर्षमा स्थानीय तहले सडक, शिक्षा, खानेपानी, कृषि, स्वास्थ्य, पर्यटन लगायतमा बजेट चलाएका थिए। परम्परागत रूपमा केही स्थानीय तहले काम नगरे पनि प्रायः बर्खे विकासको प्रक्रिया चलिरहेको छ। यतिबेला सिन्धुपाल्चोकको स्थानीय तहको कार्यालय र बैंकहरूमा उपभोक्ता समितिको लर्को लागिरहेको छ।

सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहमध्ये हेलम्बु गाउँपालिकाल चालू वर्षको विकासको योजना सम्पन्न गरेको थियो। अन्य स्थानीय तहहरूले करिब ६० प्रतिशतदेखि ९० प्रतिशतको हाराहरीमा विकास बजेट खर्च गरेका छन्। स्थानीय तहहरूलाई चालू वर्षको बजेट सक्न र आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमलाई भ्याइनभ्याई भइरहेको छ।

सिन्धुपाल्चोक जिल्लाको ठूलो (सदरमुकाम) समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाका हो। हालसम्म यस नगरपालिकाले ९८ प्रतिशत बजेट खर्च गरिसकेको प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले जनाए। सडक निर्माण, कालेपत्रेका, शिक्षा स्वास्थ्य खानेपानी, पर्यटन पूर्वाधारदेखि चियाखेती लगाउनको लागि समेत नगरपालिकाले बजेट खर्चेको छ।

यस्तै, मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले नगरपालिकाले नगरविकास गुरुयोजनाका तयार गरेर विकास कार्यक्रममा जोड दिइरहेको बताइन्। मेलम्ची र बाह्रबिसे नगरपालिकाले पनि परम्परागत रूपमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारमा केन्द्रित भएर बजेट खर्च गरेको छ।

इन्द्रावती गाउँपालिले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट सडक निर्माण तथा सुधार, काठेपोल हटाई सुरक्षित विद्युतीकरण कार्यक्रम संचालन एवं विभिन्न किसिमका विकास योजनाका साथै गाउँपालिकालाई पेपरलेस गाउँपालिका निर्माणको अभियानमा जुटेको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ बताए।

शैक्षिक सुधारका लागि शिक्षक व्यवस्थापन कार्यक्रमलाई कडाइका साथ लागू गरेपछि पढाइको स्तर सुध्रिएको, पालिकाभर प्रसूति सेवालाई सहज पार्ने कार्यक्रमअन्तर्गत हालसम्म ६ वटा बर्थिङ सेन्टर संचालन गरिएको, आयआर्जनमा सुधार ल्याउन अलैँचीखेती विकास कार्यक्रम र आलुखेतीलाई बढावा दिन कोल्डस्टोर सञ्चालन, शहीद पार्क निर्माण लगायतका विकास कार्यक्रमहरूलाई जोड दिएको त्रिपुरासुन्दरी गाउँपालिलका अध्यक्ष भूपेन्द्र श्रेष्ठको भनाइ छ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका योजना प्रमुख रामप्रसाद न्यौपानेले संघीय सरकारबाट बजेट समयमा नआएका कारण हालसम्म ८० प्रतिशत मात्र काम भएको बताए। भ्रष्टाचाररहीत गाउँपालिका बनाउने अभियानमा जुटेको उल्लेख गरे।

सिन्धुपाल्चोकका बलेफी, जुगल, सुनकोशी, भोटेकोशी, लिसंखुपाखर गाउँपालिकाले पनि करिब ८० प्रतिशतभन्दा धेरै बजेट चालु आर्थिक वर्षको खर्च गर्न सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.