फिचर

'त्यो बेला रोगीलाई जिउँदै जलाउनसमेत पछि परेनन्'
SHARES

रोग सर्ला भनेर गाउँका मान्छे बाटो हिँड्न छाडे

असार २५, २०७६

    डडेल्धुरा : 'करिब चार दशक समय बित्यो आएदेखि कहिल्यै गाउँ फर्किइन। सायद म जन्मेको दार्चुलाको मार्मा अहिलेको संघीयता व्यवस्थाले के नाम दिएको छ थाहा छैन।' दार्चुलाको मार्मामा जन्मिएका राइसिंह धामीको कथा हो यो।

    अपहेलित हुने डरले बसाइँ

    उनीजस्तै थुप्रै गाउँबस्तीहरू छोडी आजभन्दा ४० देखि ५० वर्षको समय अवधिमा गाउँ छोड्दै बसाइँ सर्नेको संख्या भने धेरै छ। मानिसहरू विभिन्न कारणले बसाइँ सर्ने गर्छन्।

    शहर बजार, व्यवस्थित बस्ती, कृषि, पशुजन्य वस्तुको राम्रो उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर भएका स्थानहरूमा प्रायः मानिसहरू बसाइँ सर्दै आएका छन्। तर, धामीको कथा फरक छ। समाजमा अपहेलित हुने र सामाजिक कुरीतिहरू सहन नसकेपछि बसाइँ सरेका हुन् राइसिंह।

    समाजमा कुष्ठरोगीहरूले ओडारमा वा जंगलको छेउमा स–साना कटेराहरू बनाई बस्नुपर्ने बाध्यता अहिले पनि सुदूरपश्चिमका पहाडी जिल्लाका दुर्गम गाउँबस्तीमा यथावत रहेको समाचार सुन्न, पढ्न र देख्न पाइन्छ। यो रोग आफूलाई पनि सर्छ भन्ने डरले समाजबाट लखेटिनुपर्ने जस्ता कारण बसाइँ सर्दै डडेल्धुरा आइपुगेको उनको भनाइ छ।

    सन् १९६० मा डडेल्धुराको अमरगढी नगरपालिका-७ र ६ को सिमाना खोला दुमडागाउँनजिक केही विदेशी मिसिनरीहरूले टिम नामक अस्पताल सञ्‍चालन गरे। भारतको उत्तरप्रदेशबाट आएका दुईजना अमेरिकन महिला नागरिकले अस्पताल स्थापना गरेसँगै सन १९६८ मा डा. मिनार्ड सिमन र डा. पिटर गरि दुईजना विदेशी नागरिकहरूले खासगरी कुष्ठरोगीहरूलाई लक्षित गर्दै निःशुल्क आवास, उपचार र कुष्ठरोगी परिवारका मानिसका परिवारहरूलाई पढाउने कामसमेत गरियो।

    रोग सर्ला भनेर बाटो हिँड्न छाडे

    अस्पतालनजिकै स–साना टहरै टहराले जोडिएको एउटा गाउँ नै बन्यो। सुदूरपश्चिम तथा कर्णलाी प्रदेशका पहाडी जिल्लाहरूबाट बसाइँ सरेर उपचार गराउन आउने कुष्ठरोगीहरूको संख्या बढ्दै गयो। तर, यहाँ पनि अरू मानिसहरूले आफूलाई पनि रोग सर्छ कि भनेर त्यो बाटो नै हिँड्न छोडे। कालिकोट, हुम्ला, जुम्ला, बझाङ, बैतडी, दार्चुला जस्ता विकट क्षेत्रका यी बासिन्दाहरू त्यो समयमा पैदल मार्ग हुँदै महारोगको उपचार डडेल्धुरामा हुन्छ भन्ने सुन्दै आइपुगेका थिए।

    अस्पतालले कुष्ठरोगीहरूका लागि बनाइदिएको त्यो गाउँ अन्ततः ४० देखि ५० परिवारहरू बस्ने एउटा ठूलो गाउँ बन्यो। आफ्नो विगतलाई सम्झदै राईसिंह धामीले भने, ‘म जन्मेको गाउँमा त मलाई ओढारमा बस्न भनिएको थियो। मेरो फुपूले मेरो भदालाई ओढारमा राखे म कहिल्यै माइत आउने छैन भनेर घर र गाउवासीलाई भन्दै अस्पताल लैजान आग्रह गरिन्। फुपूले भनेको कुरा सम्झँदै राइसिंहले सुनाए।

    'म माइत आउँदा मेरो बाटोमा पर्ने ओढारभित्र मेरो भदालाई म कसरी हेरौला? बरु डडेल्धुरा लैजाउ उपचार हुन्छ। मार्माबाट ६ दिनरात गरि हिँडे पछि डडेल्धुरा आइपुगियो। यतै विवाह पनि भयो म अहिले डडेल्धुरा अस्पतालमा फुलमालीको काम गर्दै छु। मार्माको याद आउँछ र देउडा गीत गाएर चित्त बुझाउँछु' उनले विगत सुनाए।

    घर मेरो दार्चुला जिल्ला वाँ मेरो केई छैन ।

    परदेश मरन्याको रोई दिन्या कोई छैन ।।

    त्यो समयमा कुष्ठरोग देवीदेवताको श्राप वा पापको कारण हो भन्ने मान्यता कायम थियो। जसका कारण कतिपय मानिसहरू ओढारमै बस्ने मात्रै नभई त्योभन्दा पनि ठू–ठूला सजायहरू भोगिरहेका हुन्थे।

    जिउँदै जलाउनसमेत पछि परेनन्

    समाजबाट तत्कालीन क्षयरोग तथा कुष्ठरोगको क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तारा पन्त भन्छन्, ‘हामीले हाम्रो अस्पतालमा आउने थुप्रै यस्ता मान्छे पनि भेटायौँ जसलाई जिउँदै जलाउनसमेत समाजका मान्छेहरू पछि परेनन्।

    एकातिर कुष्ठरोगी अर्कोतिर खोलामा हाम फालेर पनि बाचिन् एकजना महिला उनले होसमा आउँदा आउँदै आफ्नो छोरा र आफूले पालेको भैँसी कस्तो छ? भनेर सोधेको त्यो दिन म कहिल्यै बिर्सिन्नँ। उपचारपछि उनी निको भइन् अहिले राम्रो व्यवस्था छ।’

    श्रीमती र दुवै छोरा मार्ने योजना

    त्यस्तै अर्को घटना दार्चुलाको मार्माकै सुनाउँदै स्वास्थ्यकर्मी पन्त भन्छन्, आफ्नी श्रीमतीलाई कुष्ठरोग भएको श्रीमान र घरपरिवारलाई थाहा भएपछि श्रीमती र दुईवटै छोरालाई मार्ने योजना बनाएका रहेछन्।

    त्यो सुनिसकेपछि ती कुष्ठरोग लागेकी महिला आफ्ना २ वटा छोरालाई काखीमा च्यापेर राती नै घरबाट भागिन्। निकै दिन लागेपछि भोकले छटपटिएकी उनी अस्पताल पुगिन्। तत्कालीन टिम अस्पतालले दिएको कुष्ठरोगीको नयाँ जीवन भने निकै परिवर्तन भइसकेको छ।’

    यसरी रोगका कारण बसाइँसरी डडेल्धुरा पुगेर उपचार गराई यतै बसेका सयौं परिवार डडेल्धुरा सदरमुकाममा छन्। यि मध्ये मिसन अस्पताल टिम अस्पतालको सहयोगमा नेपाल सरकारले कञ्चनपुरको दैजी सिसैया क्षेत्रमा जमिन प्रदान गरी राम्रो जीवनशैली चलाइरहेका छन्।

    भने कतिपयले तत्कालीन अवस्थामा महारोग, पूर्वजन्मको पाप भनी समाजमा हेला गर्दा आत्महत्या गरी ज्यान गुमाएको ल्याप्रोसी पन्त बताउँछन्। मिसन अस्पतालका रूपमा कुष्ठ रोगको उपचारका लागि स्थापना भएको अस्पताल नै अहिले सदरमुकाम तुफानडाँडामा विषेश विषेशज्ञ चिकित्सक सेवासहितको अस्पतालका रुपमा डडेल्धुरा अस्पताल बन्न पुगेको छ।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]