सडक मर्मतदेखि तटबन्धसम्म भए काम

|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा प्रधानमन्त्री स्वरोगार कार्यक्रम प्रभावकारी भएको छ। जिल्लाका ६ मध्ये ५ वटा स्थानीयतहमा शुरु गरिएको यस कार्यक्रमार्फत तटबन्ध निर्माण, सडक मर्मत, पदमार्ग निर्माण, सिँचाइ कुलो निर्माण लगायतका दीर्घकालीन महत्वका कामहरूसमेत भएका छन्।

म्याग्दीको बेनी नगरपालिकाबाहेक अन्य पाँचवटा  गाउँपालिकामा यो कार्यक्रम शुरु भएको हो। कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामार्फत छोटो समयमा पनि विकासका राम्रा कामहरू भएका स्थानीयले बताएका छन्।

देशका कतिपय स्थानीय तहहरूमा कार्यक्रमको प्रभावकारितामा आशंका र विभिन्न किसिमका आलोचना भैरहेको बेला म्याग्दीमा भने यो कार्यक्रमको परिणाम राम्रो देखिएपछि स्थानीय र सरोकारवाला संघसंस्था र निकायले पनि प्रशंसा गरेका छन्।

सडक मर्मतदेखि तटबन्धसम्म

जिल्लाको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिकामा यस कार्यक्रममार्फत सडक मर्मतदेखि लिएर तटबन्ध निर्माणसम्मका कामहरू भएका छन्। यस आयोजनाबाट गाउँपालिकाका १२० जनाले रोजगारी पाएका धौलागिरि  गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए।

त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २८ लाख रुपैयाँ बजेट पाएको मंगला गाउँपालिकामा पनि यस कार्यक्रममार्फत निकै राम्रा कामहरू भएका स्थानीय श्रीराम पौडेलले बताए। यस कार्यक्रममार्फत मंगलामा १२२ जनाले रोजगार पाएका छन्। उनीहरूले सडका सोलिङ गर्नेदेखि लिएर बाटो मर्मत, सरसफाइ, नहर मर्मत लगायतका कामहरू गरेका छन्।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु ३० लाख बजेट प्राप्त गरेको मालिका गाउँपालिकाले सानो बजेटमा पनि राम्रा कामहरू गरेको पाइएको छ। मालिकामा गाउँपालिकाको बजेटले सम्बोधन गर्न नसकेका विकास निर्माणका कामहरू पनि यस कार्यक्रममार्फत सम्पन्न भएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले बताइन्।

मालिका गापाका विभिन्न वडामा यस कार्यक्रममार्फत पदमार्ग निर्माण भएको छ। सडक मर्मत गरिएको छ भने समुदायको लागि आवश्यक पर्ने ससाना विकास निर्माणका कामहरू भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वुद्धिराम शर्माले बताए।

समुदायमा अपनत्वको महसुस

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले त प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको बजेटमा गाउँपालिकाको समपुरक कोषबाट २५ प्रतिशत लगानी थप गरी कार्यक्रम संचालन गरेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा समुदाय र गाउँपालिकाको अपनत्वसमेत वृद्धि गर्न सहलगानी गरेको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो। रघुगंगा गाउँपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पदमार्ग निर्माण,बाढी पहिरोबाट वस्ती संरक्षण गर्न तटबन्ध निर्माण,सडक मर्मत,खेलमैदान निर्माण लगाएतका कामहरू गरेको छ।

त्यस्तै ८ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा पनि प्रत्येक वडामा २ लाख ३६ हजार रुपैयाँ बजेट छुट्याएर धमाधम काम भइरहेको छ। अन्नपूर्णमा १ सय ४० जनाले रोजगारी पाएका अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता एवं वडा नं ६ घारका वडाअध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए।

बेनी नगरपालिकामा कार्यक्रमका लागि रु ४७ लाख बजेट आए पनि काम हुन सकेको छैन। नगर प्रमुख–कार्यपालिका सदस्यहरू बीचको विवादका कारण विगत दुई महिनादेखि नगर कार्यपालिकाको बैठक बस्न नसक्दा यो कार्यक्रम नै अन्योलमा परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.