|

अफगानिस्तानको क्रिकेट बोर्डले एकदिवसीय विश्वकप क्रिकेटका दौराना अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य तथा तीव्र गतिका बलर अफ्ताब अलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ।

अफगानिस्तानले विश्वकपका दौरान नै अभद्र व्यवहार गरेको भन्दै अलामलाई विश्वकप भइरहेको समयमा नै स्वदेश फर्काएको थियो। उनको स्थानमा साइद अहमेद शिरजाडलाई टिममा राखिएको थियो। अफगानिस्तान क्रिकेट बोर्डले ‘आइसिसीको आचारसंहिताविपरीत काम’ गरेको भन्दै उनलाई स्वदेश फर्काइएको तत्कालीन समयमा स्पष्टीकरण दिएको थियो।

बोर्डले अफ्ताबमाथि २ साता अनुसन्धान गर्दै उनी दोषी पाएको बताएको छ । उनले साउथह्याम्टनको एक होटलमा महिला पाहुनामाथि अभद्र व्यवहार गरेको बोर्डको ठहर छ।

त्यस्तै, उनले भारत र पाकिस्तानबीचको खेलमा खेलाडी बस्न नमिल्ने भिआइपी रुममा कब्जा गरेको जनाइएको छ। त्यहाँ आफूसँगै साथीलाई पनि लगेर राखेपछि उनी थप विवादमा फसेका थिए।

खेलाडीको कार्ड दुरुपयोग गरेर निषेधित क्षेत्रमा गएपछि सुरक्षाकर्मीले त्यहाँ नबस्न आग्रह गरे पनि उनले बेवास्ता गरेका थिए। तर उनका साथी भने बाहिर निस्किएका थिए। दायाँ हाते बलर अफ्ताबले अफगानिस्तानका लागि विश्वकपमा ३ खेल खेलेका थिए। उनले न्युजिल्यान्डविरुद्ध ३ विकेट र भारतविरुद्ध १ विकेट लिन सफल भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.