|

काठमाडौ : उपत्यकामा तीन दिनदेखि अविरल वर्षा भइरहेको छ। बौद्बदेखि चावहिलतर्फको केही भागमा कालोपत्रे भए पनि बाँकी भाग अझैसम्म कालोपत्रे हुन सकेको छैन। पुनः बौद्बवासी मारमा पर्न थालेका छन्। बौद्ब गेटको आसपासमा कालोपत्रे नभएर सडक खण्डमा हिलैहिलो मात्र भएको छ।  

सडकको केही भाग कालोपत्र गरे पनि  धेरैजसो बाँकी रहेको स्थानीय व्यापारी सन्तोष मानन्धर बताउँछन्। 'वैशाखमा आन्दोलन गरेपछि ह्यात होटलदेखि कालोपत्रे भएको उनले सुनाए। त्यहाँदेखि यता केही काम नभएको उनले प्रतिक्रिया दिए।  'बेलाबेलामा कामदार आएको देखिन्छ। एकछिन काम गरेजस्तो गर्छन् सडकको काम कहिले सकिने हो थाहा छैन' उनले भने।

घाम लाग्‍दा धुलो र पानी पर्दा हिलो हुने यहाँका सडकको मुख्‍य समस्या हो। आफूले व्यापार पसल गरेदेखि यहाँको सडक सफा देख्न नपाएको व्यापारी मानन्‍धरको  गुनासो छ। सडकको हिलो र धुलोका कारण आफ्नो व्यापारमा प्रभाव परेको उनी बताउँछन्।  

पर्यटकसमेत लडिसके

सडक हिलाम्मे हुँदा यस क्षेत्रमा आवतजावत गर्ने पर्यटकहरूलाई समेत प्रभाव परेको छ। यसै त हिलो बाटो त्यसमा पनि निरन्तरतको वर्षाले थप समस्या भएको छ। वातावरणीय दृष्टिकोणले समेत बौद्ध क्षेत्रलाई प्रभावित पारेको यहाँका व्यापारीहरूको भनाइ छ। पसल अगाडिको बाटोका कारणले घुम्‍न आउने विदेशी पर्यटकहरू कैयौँपटक लडिको आफ्नै आँखाले देखेको व्यापारी मानन्धरले सुनाए।

वर्षाका कारण रोकियो कालोपत्रे

स्थानीयको व्यापक जनदबाबपछि जनप्रतिनिधिले पनि बौद्ब सडकखण्डको लागि गम्भीर भएर काम गरेको पाइएको छ। निरन्तर पानी परिरहेकाले टुसाल गेटदेखि बौद्ब सडकको केही भागमा कालोपत्रे हुन नसकेको काठमाडौं महानगरपालिकाको वडा अध्यक्ष दीपेन्द्र लामाले बताए। बौद्ब गेटदेखि वडा कार्यालयसम्म ६ सय मिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको उनले बताए।

ठेकेदारले सहयोग गरिरहेका भए पनि वर्षाकै कारण काम रोक्नुपरेको र  पानी रोकिनेबित्तिकै बाँकी सडकमा कालोपत्रे गरिने लामाले सुनाए। ठेकेदार पक्षबाट पनि तत्कालै सडक निर्माण हुने आश्वासन पाएको लामाको भनाइ छ। 

सडक विभागलाई पनि वर्षाकै निहुँ

सडक विभाग कार्यालय पनि वर्षाकै निहुँ देखाएर पन्‍सेको छ। 'वर्षाकै कारण बौद्ब जोरपाटी सडकखण्डको बाँकी सडक कालोपत्रे गर्न नसकिएको हो' काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले बताए। उनका अनुसार ठेकेदार कम्पनीले अलकत्रा ठिक्क पारेर राखेको छ। पानी परेको समयमा लगाउँदा सबै बगाएर जान्छ।

पानी रोकिएपछि काम सुरु हुने श्रेष्ठले जानकारी गराए। चावहिलतिर भने अझै केही समय ढिलो हुने उनको भनाइ छ। 

धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले वैशाखमा यातायात अवरुद्ध पारी सडक कालोपत्रे गर्न माग गरेका थिए। बौद्धदेखि चावहिलतर्फको सडकमा वैशाखमा आन्दोलन भएपछि उक्त सडकमा कालोपत्रे भएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.