|

पोखरा : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गण्डकी प्रदेश सरकारले विभिन्न पर्यटकीय गतिविधिलाई अघि बढाइरहेको छ। अहिले गण्डकी प्रदेश सरकार आन्तरिक भ्रमण वर्ष मनाई रहेको छ।

विश्वकै उत्कृष्ट अन्नपूर्ण पदमार्ग समेत रहेको गण्डकी प्रदेशमा आन्तरिकसँगै विदेशी पर्यटक पनि उत्तिकै आउँछन्। यस अघि गण्डकी प्रदेशमा भित्रिने विदेशी पर्यटकको एकिन तथ्यांक नभए पनि चालु आर्थिक वर्षमा भने सरकारले तथ्यांक उतारेको छ। गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निकालेको तथ्यांक मा चालु आर्थिक वर्षको ११ महिनामा २ लाख ८८ हजार चारसय ४५ जना विदेशी गण्डकी प्रदेश प्रवेश गरेका हुन्। 

पर्यटन मन्त्रालयले स्थल मार्गमा नेपाल प्रहरीको सहायतामा र हवाई मार्गमा पोखरा विमानस्थलको सहायतामा विदेशी पर्यटनको तथ्यांक लिएको मन्त्रालयका सूचना अधिकारी शिव परियारले जानकारी दिए। ‘अहिलेसम्म २ लाख ८८ हजार पर्यटन हाम्रो प्रदेश आइसकेका छन्’, उनले भने, ‘यो संख्या चालु आर्थिक वर्षको अन्त्य सम्ममा ३ लाख कट्ने देखिन्छ।’ 

गण्डकी प्रदेश घुम्न आउनेमा सबै भन्दा धेरै भारतीय पर्यटक छन्। भारतीय पर्यटक मात्रै १ लाख १६ हजार छ सय ९६ जना गण्डकी प्रदेशको पोखरा लगायतको ठाउँमा घुमेका छन्। त्यस्तै अमेरिका, यूरोप, चीन तथा एशियन मुलुकलगायत अन्य देशबाट आउनेहरू १ लाख ७१ हजार ७४९ जना पर्यटक छन्। यसरी आउने पर्यटकहरू सबै भन्दा धेरै अन्नपूर्ण क्षेत्रमा, धौलागिरी र मनास्लु क्षेत्र धेरै घुम्ने गरेका छन्। 

स्थलमार्गबाट गण्डकी प्रदेश भित्रिने पर्यटकको संख्या तनहुँको आँबुखैरेनी, पाल्पाको राम्दी, स्याङ्जाको गल्याङमा रहेको प्रहरी चौकीमा रेकर्ड राख्ने गरिएको छ। मन्त्रालयले अहिले राखेको तथ्यांकमा कान्छो जिल्ला नवरपुर आउने पर्यटकको संख्या समेटिएको छैन। नवलपुरमा सिजी धाम, मौलाकालिका लगायत थुप्रै पर्यटकीय स्थलहरू छन्।

आन्तरिक भ्रमण वर्ष मनाइरहेको गण्डकी सरकारले आन्तरिक पर्यटकको भने तथ्यांक राख्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.