|

हेटौंडा : उच्च अदालत पाटन, हेटौंडा इजलासले आर्थिक वर्ष २०७५/०७६ को अन्तिम सम्ममा एक हजार १५५ मुद्दाको फर्छ्यौट गरेको छ। चितवन र मकवानपुर जिल्लाको मुद्दा हेर्ने इजलासले एक वर्षको अवधिमा ७९.४९ प्रतिशत मुद्दाको फछर्याैट गरेकोे हो। 

हेटौंडा इजलासमा ११ महिना २५ दिनको अवधिमा झण्डै ८० प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको अदालतका रजिष्ट्रार विकास श्रेष्ठले बताए। चालु आर्थिक वर्षको कुल मुद्दा एक हजार ४५३ मध्ये १ हजार १५५ मुद्दाको फर्छ्यौट भएको उनले बताए। श्रेष्ठका अनुसार अदालतमा २९८ वटा मुद्दा असार २५ गतेको मितिसम्म बाँकी रहेका छन्।

चालु आर्थिक वर्षको असार २५ बुधबार सम्ममा एक हजार १५९ वटा मुद्दा उच्च अदालत पाटन हेटौंडा इजलासमा परेका थिए। गत आर्थिक वर्षबाट २९४ वटा मुद्दाको जिम्मेवारी सरेर चालु आर्थिक वर्षमा आएकोे रजिष्ट्रार श्रेष्ठले बताए। हेटौंडा इजलासमा १८ महिना नाघेको ५ वटा मुद्दा भने अझै फर्छ्यौट हुन सकेको छैनन।यसैबीच उच्च अदालत पाटन, हेटौंडा इजलासले बिहीबार सञ्चारकर्मीसँग अन्तरक्रिया पनि गरेको छ।

अन्तरक्रियामा अदालतका मुख्य न्यायाधीश टेकराज नेपालले आफूहरू एउटा घेराबन्दीमा रहेर काम गर्नुपर्ने बाध्यतामा रहेको बताएका छन्। न्यायाधीशहरूले निष्पक्ष, स्वतन्त्रपूर्वक काम गर्दा पनि कहिलेकाहिँ विचौलियाले खेल्न खोज्ने गरेको बताएका छन्।

मुख्य न्यायाधीश नेपालले विचौलियाबाट न्यायधीशलाई कसैले प्रभावमा पार्न खोजेको जानकारी पाएमा कारबाही गर्ने भन्दै यस्ता विषयको जानकारी दिन आग्रह समेत गरेका छन्। न्यायालयमा भएको कमीकमजोरी सुधार गर्न तयार रहेको उनले बताए।

अन्तरक्रिया कार्यक्रममा उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीशहरू पुष्पराज कोइराला, चण्डिराज ढकाल, कृष्ण गिरी, गोपाल भट्टराई, महेन्द्रनाथ उपाध्याय लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.