|
फाइल फोटो

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ। 

गोरखापत्र दैनिकमा समाचार छ, सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो। यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन्। 

महाशाखाले बिहीबार विशेष भविष्यवाणी गर्दै ती २५ जिल्लामा कहिले हल्का, कहिले मध्यम तथा कहिले भारी वर्षाको अवस्था रहने जनाएको छ। महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले शुक्रबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जानकारी दिइन्। 

‘भारी वर्षाले पूर्वी, मध्य क्षेत्रको पहाडी भेग र तटीय क्षेत्रमा बढी प्रभाव पार्ने हुँदा उच्च सतर्कता अपनाउनुपर्छ। विशेष गरी तराईका पर्सा, चितवन र आसपासका क्षेत्रका आकाश घना बादलले ढाकेको छ’, उनले भनिन्। कँडेलले पश्चिमका दार्चुला, डडेलधुरा, कैलाली, कञ्चनपुरका क्षेत्रमा पनि लगातार वर्षाको सङ्केत गरिन्। 

शुक्रबारदेखि पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र महोत्तरी क्षेत्रमा साताको सुरु र मध्यमा सामान्यदेखि पूर्ण बदली रहने र अन्त्यतिर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ। केही स्थानमा भने भारी वर्षा हुने अनुमान गरिएको छ। 

तराई छुने बारा, पर्सा, चितवन, रुपन्देही, बाँके र कैलाली क्षेत्रका केही स्थानमा भारी वर्षा र अन्यमा मध्यम तथा सामान्य वर्षासहित साताभरि वर्षा हुने छ। मध्य र पहाडी क्षेत्रका धनकुटा, सङ्खुवासभा, दोलखा, धादिङ र काभ्रेपालाञ्चोक जिल्लामा पनि साताभर वर्षाको प्रभाव कायम रहने छ। 

पश्चिमतिर कास्की, पाल्पा, रुकुम, दाङ, सुर्खेत र डोटीमा साताको सुरुमा मध्यम र सामान्य वर्षा रहे पनि केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने छ। हिमाली भेगका विभिन्न स्थानमा हिउँ पर्ने र हिउँ पहिरोको सम्भावना रहेको कँडेलले बताइन्। जुम्ला, दार्चुला र मुस्ताङ क्षेत्रमा साताभरि नै मेघ गर्जनसहित वर्षा हुने छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.