|

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २५० वटा उजुरीमाथि अनुसन्धान थालेको छ।

विभागले पर्याप्त प्रमाण पुगेका सम्पत्ति शुद्धीकरण सम्बन्धमा परेका उजुरीमाथि अनुसन्धान अघि बढाएको हो। विभागले स्थापनाकालदेखि आठ वर्षको अवधिमा हालसम्म ५१ वटा उजुरीमाथि मात्र मुद्दा दायर गरेको समाचार राजधानी दैनिकमा छ।

विभिन्न क्षेत्रबाट संकलित प्रमाणका आधारमा दोषी ठहर भएपछि विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो। विभागका अनुसार ४९ वटा सम्पत्ति शुद्धीकरण र दुई वटा आतंककारी क्रियाकलापबाट सम्पत्ति आर्जन गरी लगानी गरेका मुद्दा छन्। ती सबै उजुरी अनुसन्धानकै क्रममा छन्। मुलुकभरबाट प्राप्त भएका कागजपत्र तथा विभागलाई प्राप्त भएका विभिन्न प्रमाणका आधारमा दोषी ठहर भएपछि मुद्दा दायर गरिएको विभागले जनाएको छ।

विभागले चालू आर्थिक वर्षमा ३ सय १४ वटा उजुरी संकलन गरेकोमा त्यसमध्येबाट नौ वटा मुद्दा अदालतमा पेस गरेको विभागका सूचना अधिकारी विनोद लामिछानेले बताए। विभागमा परेका करिब ९० प्रतिशत उजुरीको प्रमाण नै नपुग्ने सूचना अधिकारी लामिछानेले बताए।

विभागका अनुसार आर्थिक वर्ष २०७४\७५ सम्म कुल १ हजार ५ सय ८८ वटा उजुरी परेका छन् भने ४२ वटा मुद्दा अदालतमा दायर भएका छन्। त्यस्तै, विभागले ४ सय ८९ वटा उजुरी तामेलीमा राखेको छ भने ३३ वटा मुद्दा अदालतबाट फैसला भएको विभागले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.