एकजनाको शव भेटिए पनि दुई अझै बेपत्ता
एकजनाको शव भेटिए पनि दुई अझै बेपत्ता
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मिसाक्षेत्रमा निरन्तर रुपमा बाढी पहिरोको प्रलय भइरहेको छ। बर्सेनि भोटेकोशी बाढीले करोडौँको क्षति हुने गरेको छ।
यसवर्ष पनि २१ असार शनिबार रातिको अविरल वर्षाको कारणले दुई जनाको ज्यान गएको छ। भने करोडौँको क्षति हुन पुगेको छ। शृंखलाबद्ध रुपमा भोटेकोशी बाढीले क्षति पुर्याउने गरेको छ।
हाइड्रोपावरमा कार्यरत दुई बेपत्ता
भोटेकोशी बाढीले निरन्तर रुपमा मानवीय, सडक, निजी आवास, हाइड्रोपावर लगायतमा क्षति पुर्याउँदै आएको छ। यस वर्ष पनि भोटेकोशी बाढीले निर्माणाधीन शीवश्री हाइड्रोपावरमा कार्यरत दुईजना बेपत्ता पार्यो। बेपत्तामध्ये एकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जनाए।
भेटिएको शव हाइड्रोपावरमा कार्यरत इलेक्ट्रिसियन रामअवतार चौधरी रहेको बताए। कम्पनीका साइट इन्चार्ज यादवप्रसाद काफ्लेको भने खोजीकार्य जारी रहेको जनाए। निरन्तरको वर्षात्ले बाढी नरोकिएको हुनाले धमिलो पानी भएकाले खोजीकार्यमा समस्या परेको डिएसपी काफ्लेको भनाइ छ। बेपत्ता भएका काफ्ले इटहरी र चौधरी बारा जिल्लाका हुन्।
बाढीले भोटेकाशीमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीसँगै चाकुखोला जलविद्युत् आयोजना, लाफिङ बुद्ध र शिवश्री हाइड्रोपावरमा क्षति पुर्याएको छ। गत दुई साल यताबाट भोटेकोशी बाढीले सिमाक्षेत्रमा श्रृखलाबद्ध क्षति पुर्याउँदै आएको छ। बर्खा लागेपछि भोटेकोशी नदी किनारा आवपासका स्थानीय त्रासमा हुन्छन्।
के गर्दैछ स्थानीय सरकार?
सीमाक्षेत्रमा अवस्थित रहेको भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाले प्रकोप नियन्त्रण गर्नको लागि महत्वपुर्ण योजना बनाएको छ। निरन्तर विपदको अवस्था सिर्जना हुने भएकाले स्थानीय सरकारले प्रकोप नियन्त्रणलाई प्राथाकिता दिएको हो।
भोटेकोशी गाउँपालिकाले प्रकोप नियन्त्रण गर्नको लागि जोखिमयुक्त क्षेत्रमा मेसिनरीबाल, जाली गारो लगाउन लागेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जनाए। ‘रिभर ट्रेनीङ’ निर्माणको लागि डिपिआर समेत तयार भैसकेको बताए। ‘हामीले त्यसको लागि सर्वे गरेका छौँ। त्यसको फाइल केहि दिनमा आउँदै छ’ उनले भने।
पहिरो नियन्त्रण हुने र आम्दानीको स्रोत हुने भएकाले बाँस र पाओनीयाको विरुवा रोप्ने काम सुरु भएको समेत बताए। यस्तै, बाह्रविसे नगरपालिकाले पनि प्रकोप नियन्त्रण गर्न बाँसको विरुवा रोपको छ।
अझै भेटिएनन् इन्जिनियर
जुगल गाउँपालिका २ घट्टेखोलास्थित गाउँघर उज्यालो लघु ऊर्जा जलविद्युत परियोजना निरीक्षणका लागि आएका एक इन्जिनियर अझै बेपत्ता छन्। शुक्रबार राति परेको अविरल वर्षा पछिको बाढीले बगाएको थियो।
दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका ८ का इन्जिनियर मुक्ती सिबाकोटी बेपत्ता भएको थिए। प्रहरीले शनिबार बिहानदेखि निरन्तर रुपमा खोजीकार्य गरे पनि भेट्न नसकेको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।