|

झापा : लगातारको वर्षाका कारण झापा जलमग्न भएको छ। लगातारको वर्षाले विभिन्न खोला तथा नदीमा पानीको सतह बढेको छ भने वर्षा नहुँदा रोपाइँ गर्न नपाएका किसानलाई फेरि चिन्तित बनाएको छ।

२८ खोलाबाट ५ हजार परिवार जोखिममा

झापाका मात्र २८ खोलानालामा आएको बाढीका कारण तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन्। नेपाल रेडक्रस सोसाइटीको तथ्यांकअनुसार झापामा साना–ठूला गरी २८ वटा खोलानदीको जोखिम रहने गरेको छ। झापामा सबैभन्दा बढी क्षति कन्काई नदीले पुयाउने गरेको छ।

कन्काईसहितका ८ ओटा खोलालाई बढी नोक्सानी पुर्‍याउने सूचीमा राखिएको छ। जसमा कन्काई, रतुवा, मावा, टाङ्टिङ–बिरिङ, कमल–बनियानी, निन्दा र मेची खोला रहेका छन्। यीबाहेक अन्य २० वटा खोलाले पनि बर्सेनि ठूलो धनजनको क्षति पुर्‍याउने गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए।

वर्षायाममा आउने बाढी, डुबान तथा कटानबाट हुने क्षतिका आधारमा उच्च जोखिममा रहेका बस्ती र परिवारको पहिचान गर्ने गरिएको छ। हाल झापामा ५ हजारभन्दा बढी परिवार बाढीको उच्च जोखिममा रहेका छन्। ढकालले भने ‘उच्च जोखिम भनेको पानी पस्ने वा डुबाउने मात्र होइन पूर्णरूपमा क्षति गर्नसक्ने अवस्था हो।’

उच्च जोखिमका परिवारमध्ये सबैभन्दा बढी कन्काई किनारमा रहेका छन्। कन्काईका पूर्वी र पश्चिमी तट गरी १ हजार ८ सय ७५ परिवार उच्च जोखिममा रहेका हुन्। बाढी पस्ने, केही समय डुबान हुने जस्ता समस्या भोग्ने परिवारको सङ्ख्या भने यसभन्दा बढी छ।

कमजोर पूर्वतयारी

झापामा बढी मात्रामा बाढीको जोखिम हुने स्थानीय तहहरुले आ–आफ्नै योजना बनाएका छन्। जिल्ला स्तरीय प्रकोप व्यवस्थापन समितिले पनि क्षति न्यूनीकरणका योजनाहरु बनाएको रेडक्रस झापाका सभापति ढकालले बताए। सबै स्थानीय तहहरुको बैठकमा पूर्वतयारी, क्षति न्यूनीकरण, राहत तथा उद्धार लगायतका बारेमा छलफल गरिएको उनको भनाइ छ।

यसै मेसोमा गौरीगञ्ज गाउँपालिकाले ७ थान टर्च र ३० थान लाइफ ज्याकेट प्रहरीलाई हस्तान्तरण गरेको छ। गौरीगञ्ज झापामा सबैभन्दा बढी जोखिम हुने मध्येको गाउँपालिका हो। उपाध्यक्ष दीपेन्द्र थापाले अघिल्लो वर्ष सम्पूर्ण प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि ५० लाख रुपैयाँ बिनियोजन गरेको जानकारी दिए।

यस्तै नेपाल रेडक्रस सोसाइटी उपशाखा लखनपुरका सभापति चन्द्र साहले जोखिमयुक्त क्षेत्रको पहिचान गरिएको र गाउँपालिकाको विपद्  व्यवस्थापन समिति उच्च सतर्कतामा रहेको दाबी गरे। मानवीय सहायताका लागि सामग्री तथा उद्धारका  लागि औजार तयारी राखिएको उनले बताए।

अव्यवस्थित बसोवासका कारण वर्षायाममा झापाका अधिकांश सहर र गाउँ डुबानमा पर्ने गरेका छन्। झापामा मात्र बढी समस्या भोग्ने ८५ ओटा बस्ती रहेका छन्। सहरी क्षेत्रमा बढी डुबानको कारण अव्यवस्थित जग्गा प्लटिङ र खोला नदीहरु मिच्नु रहेको छ भने ग्रामीण क्षेत्रमा भरपर्दो तटबन्ध नहुँदा स्थानीयले क्षति बेहोर्दै आएका छन्।

दमक, बिर्तामोड, भद्रपुर लगायतका सहरमा सामान्य वर्षामा पनि पानी जम्ने गरेको छ। यस्तै ग्रामीण क्षेत्रले भरिएका उदीयमान सहरहरु गौरादह, गौरीगञ्ज, सुरुङ्गा, शिवगञ्ज लगायतका क्षेत्रमा पनि डुबानकै समस्या छ। दमक–८ का धरणी गौतम भन्छन्, ‘अव्यवस्थित प्लटिङ नै सहरी क्षेत्र डुबानको मुख्य समस्या हो, पानीको उचित निकास नहुँदा सानो वर्षाले डुबानको समस्या निम्त्याउने गरेको छ ।’

खोलाको क्षेत्र मिचेर आवासीय घर, व्यवसायिक कम्प्लेक्स, विद्यालय जस्ता ठुला संरचना बनाउन थालेपछि दमकमा डुबानको समस्या बढ्दै आएको उनको भनाइ छ। झापाको मुख्य व्यावसायिक केन्द्र बिर्तामोडले समेत अदुवा खोला मिचिएका कारण निम्तिने समस्या बर्सेनि भोग्दै आएको छ।

अघिल्लो वर्षको असारको पहिलो साता झापाको कमल गाउँपालिका– ५ गुह्येश्वरी टोलमा रतुवा नदीमा बाँसको अस्थायी तटबन्ध गरिएको थियो। त्यस क्षेत्रका बासिन्दाले केही राहत महसुस गरेको वडा अध्यक्ष डम्बर निरौलाले बताए। स्थानीय स्तरमा तटबन्धन गर्ने, बिरुवा रोप्ने लगायतका प्रयास भए पनि पर्याप्त हुन सकेको छैन ।

प्रशासनले गरायो सतर्क

बिभिन्न खोला तथा नदीमा जलस्तर बढे पछि जिल्ला व्यववस्थापन समिति तथा प्रशासनले ति क्षेत्रका बासिन्दालाई सतर्क गराएको छ । झापा जिल्लाका कन्काइ नदी मैनाचुलीमा पानीको वहाव सर्तकता नजिक  र बढ्दो रहेको प्रशासनद्वारा जारी सुचनामा उल्लेख छ छ । मध्यान्न पछी वहाव सर्तकता तह पार हुन सक्ने सम्भावना समेत रहेकाले नदि किनार आसपास तथा जिल्लामा रहेका अन्य नदी, खोला किनार, विगतमा बाढी पसी रहने तथा डुवान प्रभावित क्षेत्रहरुमा बसोबास गर्नेलाई उच्च सर्तकता सहित सुरक्षित तवरले रहन भनिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.