मेसु भन्छन् : काम गर्न सक्ने अवस्थामा छैन, सिडियो भन्छन् : सुरक्षाको जिम्मेवारी म लिन्छु

|

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्।

चिकित्सकमाथि पटक–पटक आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै अस्पतालमा कार्यरत सबै चिकित्सकले अस्पतालको आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरेका हुन्।

घटना ...

यसअघि उपचारको क्रममा गत जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तोडफोड भएको थियो। अप्रेशन गरी शिशु जन्माएकी ताम्राकारको अस्पतालमा मृत्यु भएपछि अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा मृतकका आफन्तले प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए। मृतकका आफन्तसँग तीन बुँदे सहमति भएपछि त्यतिबेलाको विवाद सम्य भएको थियो।

त्यसपछि ....

असार १ गते अस्पतालमा काम गर्ने वातावरण नभएको र जतिबेला पनि आक्रमण हुने खतरा रहेको भन्दै अस्पतालका सबै चिकित्सक बिदामा बसेका थिए। अस्पतालमा कार्यरत ११ जना चिकित्सकले सुरक्षाको कारण देखाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेललाई बिदामा बस्ने पत्र बुझाएर बिदामा बसेका थिए।

मेडिकल सुपरिटेन्डेन्ट कँडेललाई बझाइएको पत्रमा डाक्टरहरुले प्रमुख जिल्ला अधिकारीबाट सुरक्षा दिनुको साट्टो उल्टो डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उल्लेख थियो। अस्पतालमा हुलदंगा गर्नेलाई कारबाहीको दायारामा नल्याएसम्म काममा फर्कने वातावरण नभएको कुरा पनि उक्त पत्रमा उल्लेख गरिएको थियो।

असार २ गते ...

अस्पतालमा कार्यरत चिकित्सकले सुरक्षाकर्मीको घेराभित्र रहेर उपचार सेवा सुरु गरे। यहाँका सरोकारवालाको आश्वासनपछि चिकित्सकहरू काममा फर्किए।

जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दा प्रमुख जिल्ला अधिकारीले नै धम्की दिएको आरोप लगाएर अस्पतालमा कार्यरत सबै चिकित्सकले सामूहिक बिदा मागेका थिए।

जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीको टोली अस्पतालमा खटाएपछि उनीहरु काममा फर्किएँ। चिकित्सकहरुमा त्रास कायमै रहेकाले बाहिर गोलघरमा सामूहिक ओपिडी सेवा दिन सुरु गरे।

पछिल्लो घटना ...

असार १२ गते नागरिक समाज डडेल्धुराको सर्वपक्षीय बैठकमा चिकित्सकमाथि कुनै खाले धरपकड नहुने भन्दै चिकित्सक काममा फर्के पनि पुनः बुधबार दिउँसो १२ बजेतिर स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकको आरोप छ।

आक्रमणपछि चिकित्सकले विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर आकस्मिक बाहेकका सेवा बन्द गरेका घोषणासमेत गरेका थिए।

प्रहरीले बुधबार बिहान ११:३० बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका मृतक रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पु¥याएको थियो। चिकित्सकहरूले ११:३५ तिर शव परीक्षण शुरु गरेका थिए।

वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली गर्दै हातपात र ढुङ्गा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा.जीवन खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वडा अध्यक्षको स्पष्टोक्ति …

बिहीबार बसेको सरोकारवालाको बैठकमा अमरगढी नगरपालिका–११ का वडाअध्यक्ष सूर्यप्रकाश खड्काले घटनामा आफूलाई जोड्नु गलत भएको बताए। आफन्तको मृत्युको शोकमा रहेका बेला गम्भीर प्रकृतिका आरोप लगाउनु गलत भएको अध्यक्ष खड्काले बताए।

अस्पतालका सेवाका विषयमा चिन्तित रहेको र गुणस्तर सुधारका लागि आफ्नो भूमिका निभाइरहेका बेला भ्रम सिर्जना गरि गलत प्रचार नगर्न समेत अध्यक्षले आग्रह गरे।

आफ्‍ना वडाका नागरिकले गरेको दुर्व्यवहारबारे चिकित्सकसँग क्षमायाचना गरेको र अध्यक्षको नेतृत्वमा आक्रमण भयो भन्नु गलत बुझाइ रहेको उनको भनाइ छ।

जनप्रतिनिधिले अस्पतालका डाक्टरको सुरक्षा गर्ने भन्दै अध्यक्ष खड्काले केही व्यक्तिहरुको राजनीतिक उक्साहटमा डाक्टर लाग्न नहुने बताए। डाक्टरले पोष्टमार्टम गर्दा दुर्व्यवहार गर्न खोज्नेलाई आफूले सोही स्थानबाट हप्काएर फर्काएको बताउँदै अध्यक्ष खड्काले डाक्टरलाई संयमित भएर सेवामा फर्किन आग्रह गरे।

अस्पतालमा शव पुर्‍याएको ५ घण्टासम्म पनि पोष्टमार्टम नभएपछि केही व्यक्तिहरुले लासघरको टिन र ढोकामा हानेको प्रत्यक्षदर्शीको भनाइ छ। उता अस्पतालले भने पोष्टमार्टमका लागि जिल्ला प्रहरीको आदेशपत्र नपाएकाले ढिलो भएको बताएको छ।

यही परिस्थितिमा काम ...

चिकित्सकमाथि आक्रमण हुँदा डा. दिनेश उपाध्यलाई घुँडामा चोट लागेर घाइते भएपछि आक्रमण गर्नेलाई कारवाही नहुञ्जेल नियमित काममा नफर्किने भनी चिकित्सकले काम छोडेको अस्पतालका मेसु डा जितेन्द्र कँडेलले जानकारी दिए।

‘बुधबार चिकित्सकमाथि आक्रमण भयो। त्यो क्रममा डा दिनेशको घुँडामा चोट लागेको छ। डाक्टरहरुले आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दा पनि कुनै ठाउँबाट सुनुवाइ भएन’ उनले भने, ‘डाक्टर सावहरु शुक्रबार बिहानदेखि काम छोड्नुभएको छ। अहिलेलाई म एकजना मात्रै छु अस्पतालमा।’

उनले आफू पनि यहीँ परिस्थितीमा काम गर्न सक्ने बताए। ‘यहीँ परिस्थितीमा म पनि काम गर्न सक्ने अवस्थामा छैन’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीज्यूलाई मेरो प्रशासनिक र आर्थिक जिम्मेवारी हजुर लिनुस् भन्छु!’

चिकित्सकको सुरक्षा ...

अस्पतालमा कार्यरत चिकित्सकको सुरक्षाको जिम्मेवारी आफूले लिने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।

‘अस्पतालमा उत्पन्न परिस्थितीका बारेमा सरोवारवालसँग छलफल गरिरहेको छौँ। यहीँ क्रममा डाक्टर सावहरुले काम छोडेको जानकारी पाएको छु’ उनले भने, ‘उहाँहरू काममा फर्काउन वा नयाँ व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिसकिएको छ र उहाँहरुको सुरक्षाको जिम्मेवारी सिडिओको हैसियतले म लिन्छु।’

सेवा बन्द भएपछि मारमा सेवाग्राही

अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएपछि टाढाटाढाका सेवाग्राहीले अहिले सास्ती भोगिरहेका छन्।

अस्पतालमा डाक्टर नहुँदा आफूहरुलाई समस्या भएको दार्चुलाको लेकम गाउँपालिका–५ का लक्ष्मण बोहराले बताए। ‘दार्चुला बाट यहाँ आए। आन्दोलनका कारण अस्पतालमा डाक्टर केही छैनन्’ उनले भने, ‘टाढाबाट यहाँ आए उपचार होला भनेर तर उपचार भएन। समस्या नै भो।’ आक्रोशित चिकित्सकले सेवा ठप्प पार्दा सेवाग्राही भने महँगो शुल्क तिरेर निजी अस्पतालमा जान बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.