|

बिहीबार साँझ एक पाकिस्तानी टेलिभिजनबाट प्रशारित भइरहेको नेतृ मरियम नवाजको अन्तर्वाता अचानक बन्द गरिएपछि इमरान खान नेतृत्वको पाकिस्तान सरकारमाथि प्रश्न उठेको छ। नवाज शरीफकी छोरी मरियमको अन्तर्वार्ता त्यहाँको 'हम न्यूज' च्यानलबाट प्रशारण भइरहेको थियो। उनी उक्त च्यानलका पत्रकार नदीम मलिकसँग वार्ता गर्दै थिइन्।

मरियमलाई मिडियामा आउन अवरोध गरिएको यो पहिलो घटना भने होइन। केही दिनअघि पनि उनले गरेको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रशारण गरेका सञ्चारमाध्यमसँग सरकारले स्पष्टिकरण मागेको थियो।

 

पत्रकार नदीम मलिकले ट्विट गर्दै जबर्जस्ती उक्त अन्तर्वार्ता रोक्न लगाइएको पुष्टि गरेका छन्।

 

नदीमको ट्विटपछि टेलिभिजन च्यानलले पनि ट्विटमार्फत नै जवाफ दिएको छ। हम न्यूजले भनेको छ, 'अभिव्यक्ति स्वतन्त्रता कायम राख्नु हाम्रो कर्तव्य हो। तर योसँगै हामी देशको संविधान र अदालतको पनि सम्मान गर्छौं।'

 

आखिर भएको के हो?

पूर्व प्रधानमन्त्री नवाज शरीफ अजीजिया स्टील मिल भ्रष्टाचार काण्डमा ७ वर्षको जेल सजाय काटिरहेका छन्। गत शनिबार मरियमले ट्विटरमा एउटा भिडियो पोष्ट गरिन् जसमा न्यायाधिश 'बाध्यतावस् त्यस्तो फैसला सुनाउनुपरेको' बताइरहेका देखिन्थे।

 

न्यायाधिश मलिकले कसैको दबाबमा आइ त्यस्तो फैसला सुनाएको मरियमको दावी छ। पाकिस्तान मुस्लिम लिग–नवाज(पिएमएलएन) की नेतृ मरियमले गत शनिबार सोही भिडियो सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्। भिडियोमा न्यायाधिस अरशद मलिक पिएमएलएन पार्टीका एक कार्यकर्तासँग कुराकानी गर्दै गरेको देखिन्छ, जहाँ उनले आँफूलाई ब्ल्याकमेल गरी उक्त फैसला सुनाउन लगाइएको बताइरहेका छन्।

 

शनिबार उक्त भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका न्यायाधिश मलिकले मरियमको आरोप झुटो भएको जिकीर गरे। अदालतले पनि प्रेस विज्ञप्ति जारी गर्दै भिडियोको खण्डन गर्‍यो। न्यायाधिस मलिकले 'भिडियो प्रकरणमा संलग्नहरूमाथि' कारबाहीको माग गरेपछि सरकारले भिडियोको फरेन्सिक जाँच गर्ने आदेश दियो।

'हम न्यूज'सँगको अन्तर्वार्तामा मरियमले भनेकी थिइन्, 'उक्त फैसलाप्रति न्यायाधिश मलिकले पश्चाताप गरेका छन् र नवाजसँग माफी पनि मागेका छन्।'

मरियमले आफ्ना पिता शरीफको सुरक्षालाई लिएर सरकारमाथि भरोसा गर्न नसकिने पनि बताइन्। ६९ वर्षीय पूर्व प्रधानमन्त्री शरीफ लाहोरको लखपत जेलमा सजाय काटिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.