कयौँ नेताहरु अमेरिकानजिक रहेको दाबी

|

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफूलाई अमेरिकासँग जोडेर प्रोपोगान्डा गरिएको गुनासो गरेका छन् । गगन थापा अमेरिकन दूतावासका मुख्य सम्पर्क सूत्र भनेर विभिन्‍न सञ्चारमाध्यममा समाचार आएपछि गगनले शुक्रबार यस्तो स्पष्टीकरण दिएका हुन्। 

विश्वका विभिन्‍न काण्डको खुलासा गर्दै आएको विकिलिक्समा रहेको पुरानै सूचनालाई कपी गरेर आफूलाई मात्रै बदनाम गराउने नियतका साथ समाचार लेखिएको दाबी उनले गरेका छन्। 

२०६८ सालमै विकिलिक्समा रहेको तथ्यांकलाई लिएर आफ्नो राजनीतिक प्रतिष्ठा सिद्ध्याउने योजनाका साथ आफूविरुद्ध समाचार प्रकाशित गरिएको उनले बताए । 'विकिलिक्समा हजारौँ व्यक्तिको तथ्यांक छ। नेपालका पनि धेरै नेताको नाम त्यहाँ छ', उनले भने, 'मलाई अमेरिकन दूतावासको 'कि कन्ट्याक्ट' का रुपमा मुछेर केही अनलाइनहरुले नियतवश प्रहार गर्न खोजेका छन्।'

कि एम्बेसी कन्ट्याक्टकारुपमा आफूलाई जासुसको काम गरेको आरोप लगाइएको कुरा गलत रहेको उनले बताए । नेपाली कांग्रेसको गोप्य कुरा अमेरिकी दूतावासलाई उपलब्ध गराएको कुराको पनि उनले खण्डन गरे। 

'त्यसो भए भीम रावल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, सुजाता कोइराला र दर्जनौँ नेता तथा पत्रकारको नाम त्यो दस्तावेजमा 'क्लोज कन्ट्याक्ट' का रुपमा उल्लेख छ। उनीहरुको नाम कहीँ कतै आएन', उनले भने, 'विष्णु रिमाल र केपी ओलीबारेमा लेखिएको कुरा उठ्दैन। प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईबारे त्यहाँ लेखिएको कुरा उठ्दैन। तर सयौँजनाको नाम त्यो डकुमेन्टमा हुँदा मेरो मात्रै नाम राखेर समाचार लेखिनु उनीहरुको गलत नियतले हो।'

आफूलाई अमेरिकाले पालेकैले हार्वर्ड विश्वविद्यालयमा पढ्न गएको, विश्व आर्थिक मञ्चमा पनि त्यहीकारण गएको भनी लगाएको आरोपको पनि उनले खण्डन गरेका छन्। 
'म कुनै पनि कुरामा चुकेको छैन। मैले बदमासी गरेको छैन। म अझै पढ्न सिंगापुर र अक्सफोर्डमा जाँदैछु। मैले जहाँ जहाँ गएको छु, त्यहाँ जाँदा कसले स्पोन्सर गरेको या सहयोग गरेको कुरा प्रष्ट राखिएको हुन्छ', उनले भने, 'यदि मैले गल्ती गरेको भए त त्यसकै आधारमा मलाई धेरै अगाडि हात खुट्टा बाँधेर राखिसक्थे।'

उनले आफू शुक्रबारै बेलायत जान लागेको बताउँदै कुनै देशमा जाँदैमा अतिरञ्जित गरेर बदनामी गर्न खोजिनु गलत भएको बताए । 'मैले कुनै अस्वभाविक काम गरेकै छैन। यो कुरा समाचार लेख्नेलाई पनि थाहा छ । मसँग केही साथीहरु रिसाएका छन्। तर यो विषयबाट गगनलाई क्षति पुगेन भन्‍ने लाग्यो भने आजैबाट उनीहरु अर्को विषयमा लाग्नेछन्', उनले भने, 'प्रधानमन्त्रीले भने जस्तै एउटा अरिंगलको जथ्था फेरि मविरुद्ध लाग्छ। तर म नबिराइ, नचुकी नेपालको परिचय बदल्न लागिरहेको छु।'

आफू कुनै कुरामा नचुकेको बताउँदै उनले यदि गल्ती गरेको भए यति शक्तिशाली सरकारले जे गर्नुपर्ने गरिसक्ने दाबी गरे। 'म कुनै गल्ती कमजोरी गर्दिँन, गल्ती कमजोरी भए सच्याउन प्रेरणा चाहिन्छ। तपाईंहरुका प्रत्येक प्रश्नको उत्तर दिन तयार छु', उनले भने, 'विकिलिक्समा पहिले नै आइसकेका कुरालाई लिएर यसरी उराल्नुको अर्थ छैन। यति खुला सम्बन्ध पाइरहेका बेला यो मञ्चलाई प्रयोग गरौँ, जसले गर्दा प्रायोजित ढ‌ंगबाट अवस्थालाई बिटुल्याउन खोज्नेलाई रोक्न सकियोस्।'

सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रम फैल्याउनेलाई ५ वर्ष जेल र १५ लाख जरिवानाको प्रस्ताव आउँदा पनि आफु त्यसको विपक्षमा रहेको बताए । उनले सामाजिक सञ्जालबाट सबैभन्दा पीडित आफु भएको बताउँदै तर प्रजातन्त्रको आधारभूत अधिकार खोसिनुहुन्‍न भन्‍ने पक्षमा आफू रहेको गगनले स्पष्ट पारे। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.