इटहरी : बर्खायाममा उर्लने सप्तकोसीले धेरैका भोकनिद्रा खोस्छ। सप्तकोसीको किनारसम्म ढेउ (स्थानीय भाषामा छाल) आएसँगै स्थानीयबासी त्रसित हुने गर्छन्।
बाढीको डरसँगै एउटा खुसी पनि सँगै बगेर आउँछ। कालो बादलमा चाँदीको घेरा भने जस्तै बाढीसँगै बगेर आउने काठ, दाउरा यहाँका स्थानीयको आम्दानीको स्रोत हो।
बाढीले कटान गरेर जमिन लगेको पिर स्थानीयले दाउरासँग साट्ने गरेका छन्। कोसीले कटान गरेर दुःख दिए पनि वर्षभरि पुग्ने दाउरा यही बेला निकालिन्छ।
तन्नेरीहरु उर्लँदो कोसीको भेलमा पौडी खेलेरसमेत दाउरा निकाल्छन्। बालबालिका र महिलाहरूले बाँको टाँगोले दाउरा निकाल्छन्। सक्नेले कोसीबीचमा बनेका टापुसम्म पुगेर दाउरा ल्याउँछन्। जुन एकदमै जोखिमपूर्ण काम पनि हो।
बल्छीको टुप्पोमा अर्को काठलाई जोडेर दाउरा अड्क्याउने बनाइएको हुन्छ, जसले त्यतिकै बगेर आएको दाउरा तान्ने वा भुहुँरोमा आएकोलाई निकाल्छ। दाउरा खोज्नकै लागि डुङ्गाको समेत प्रयोग गरिन्छ। बाढीले आफ्नै ठाउँमा कटान गरे पनि स्थानीयहरू बाढीमा बगेर आएका दाउरा निकालेर लाभ लिने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।