|

धनकुटा : अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले-लेगुवा-भोजपुर सडकखण्डमा यातायात अवरुद्ध भएको छ। 

जिल्लका ग्रामीण क्षेत्रका कच्ची सडक पनि अवरुद्ध भएका छन्। पहिरोले अधिकांश सडक अवरुद्ध भएको हो। जिल्लाको मूलघाट-त्रिवेणी सडक, तमोर करिडोर सडक र सिधुवा-लेगुवा सडक अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए।

उक्त सडकमा धरानबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा जिल्लामा यातायात सञ्चालन हुने गर्दछ। यातायात अवरुद्ध भएपछि यात्रु अलपत्र परेको छन्। 

मूलघाट-त्रिवेणी सडक र तमोर करिडोर सडकका थुप्रै स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ। यस्तै, सिधुवा-लेगुवा सडकमा पर्ने माङमाया खोलामा आएको बाढीले सडक बगाएपछि सडक अवरुद्ध भएको कोइरालाले बताए।

यस्तै, पहिरोका कारण तीन घरमा क्षति पुगेको छ भने एक विद्यालय भत्किएको छ। धनकुटाको पाख्रिबास नगरपालिका-५ का वडाध्यक्ष गोपालबहादुर थापा, घोर्लिखर्कका युवराज कार्की र चक्रबहादुर निरौलाको घर पहिरोले क्षति पुर्‍याएको स्थानीय प्रशासनले जनाएको छ।

सहिदभूमि-३ मा रहेको अजम्बरी प्राथमिक विद्यालयको भवन भत्किँदा पठनपाठन अवरुद्ध भएको छ। पहिरोले कक्षाकोठा भत्किएको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र राईले जानकारी दिए। 

पहिरोका कारण केही कोठा भत्किएको छ। अधिकांश कक्षा कोठा चर्किएपछि पठनपाठन बन्द गरिएको उनले बताए। विद्यालयमा बालविकासदेखि कक्षा ३ सम्म २८ जना विद्यार्थी अध्ययनरत रहेका छन्। कक्षा कोठा मर्मत भएपछि मात्र पठनपाठन सुचारु गरिने प्रअ राईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.