|

उदयपुर : अविरल वर्षापछि आएको बाढीका कारण उदयपुरस्थित त्रियुगा नदीको बाँध फुट्दा १० घर परिवारमा डुबानमा परेका छन्। चौदण्डीगढी नगरपालिका–५ बेल्हापट्टीको बाँध भत्किदा खैराटोलमा बसोबास गर्दै आएका १० घरपरिवार अहिले बाढीको घेराबन्दीमा परेका छन्।

बाढीमा फसेकाहरु घरको छानो र टाँडमाथि रहेका बसेका छन्। बस्तीमा बाढी पस्दा घर भत्किनुको साथै गाईवस्तु बगाएको छ। मानिसहरुबारे केही जानकारी नआएको स्थानीय भाष्कर चौधरीले बताए। उनका अनुसार स्थानीय युवाहरुले उद्धारको प्रयास गरे पनि बाढीको बेगको कारण उद्धार हुन सकेको छैन।

त्यस बस्तीमा राई समुदायको बाहुल्यता रहेको छ। नेपाल टेलिकमको फोनमा समस्या हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँगथ सम्पर्क भएको छैन। स्थानीयहरुले उद्धारको लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

यस्तै, त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा दुई जनाको घर त्रियुगा नदीको बाढीले भत्काएको छ। विष्णु मगर र प्रथम डुमको घर बाढीले भत्काएको हो। 

निरन्तरको वर्षातले उदयपुरको ताप्ली गाउँपालिकाको विभिन्न स्थानमा पहिरो जानुका साथै घर पुरिएका छन्। पहिरोले ताप्ली गाउँपालिका–५ गैरिगाउँका रबी रम्तेल र वडा नम्बर २ धारापानीमा पृथ्वीबहादुर परियारको पहिरोले पुरेको छ। रम्तेलको क्षतिको विवरण आउन बाँकी रहेको छ भने परियारको दुई तले घर बगाउँदा २ लाख बराबरको क्षति भएको छ। सोही वडाको कबासेटारमा पहिरो जान थालेपछि स्थानीयहरु घर छोडेर सुरक्षित स्थानमा सरेका छन्।

ग्रामीण सडक अवरुद्ध

चार दिनदेखिको निरन्तर वर्षाले उदयपुरका ग्रामीण सडकमा सवारी आवागमन अवरुद्ध भएको छ। स्थानीय खोला खहरेमा पानीको बहाव बढेको तथा अधिकांश सडक कच्ची भएका कारण यातायात आवागमन अवरुद्ध भएको हो।

यातायात अवरुद्ध भएपछि यात्रुलाई सास्ती पर्नुका साथै बिरामीले उपचार गर्न अस्पताल जानसमेत हम्मे परेको छ। सबैजसो नदी तथा खोला खोल्सीमा लगातार बाढी आएर सडक पूरै अवरुद्ध पारेको हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ।

यस्तै, पहिरो कारण सडकमा क्षति पुगेपछि बेतेनी–माझखर्क, नुनथला–रुपाटार ठानागाउँ, बेतेनी–सोरुङछबिसे–रुपाटार, लिम्चुङबुङ, मुर्कुची – गाईघाट, मुर्कुची–नेपालटार, उदयपुरगढी सडकखण्ड अबरुद्ध बनेका छन्।

गाईघाट डुबान

सदरमुकाम गाईघाटस्थित त्रियुुुगा र बरुवा खोलामा आएको बाढीले बस्ती आसपासको क्षेत्रमा कटान सुरु गरे पनि ठूलो जनधनको क्षति भएको छैन। बरुवा खोलामा आएको बाढीले गाईघाट–बेल्टार सडकखण्डको पूर्वी क्षेत्रको बसपार्कदेखि झण्डै ५० मिटर उत्तरतर्फको बाँधको स्परलाई सामान्य क्षति पु¥याएको छ।

निरन्तरको वर्षापछि नगर क्षेत्रको गाईघाट बजार जलमग्न हुनुको साथै साकेला टोल, मुसहर बस्ती डुबानमा परेका छन्। ती क्षेत्रका घरभित्र पानी पसेको छ। 

यस्तै, नगरपालिकास्थित त्रियुगा नदी र सप्तकोसी नदी अर्थात श्रीलंका टापु जलमग्न भएको छ। बेलका नगरपालिकाको वडा नम्बर २, ३ का गाउँ नै डुबानमा पारेको छ। गाउँमा पानी कम्मर कम्मर आएको बेलका नगरपालिका–२ का वडा सदस्य कुमार अधिकारीले जनाकारी दिए।

विद्यालय बन्द

अविरल वर्षाले गाईघाट बजार चार दिनयता जलमग्न हँुदै आएपछि गाईघाटका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ। 

लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण उदयपुर र सिन्धुलीको सीमामा पर्ने तावा र ककरु खोलाको बाँध फुटेको छ। उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिका भएर बग्ने तावा र ककरु खोलाको बाँध फुटेसँगै बस्ती र खेतीयोग्य जमिन पुरिन थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.