|

पर्सा : यो वर्षको मनसुन सुरु भएसँगै चार दिनदेखि आएको अविरल बर्षाका कारण पर्साका सबै नदीको वहाब बाहिरसम्म आउन थालको छ। शुक्रबार नदीमा आएको बाढीमा १० वर्षीय निखिल पटेलको मृत्यु भइसकेको पर्सामा अहिले नदीको पानी गाउँ र शहरसम्म आउन थालेको छ।

वीरगन्ज नजिकको सिर्सिया नदीको पानी वीरगन्ज महानगरपालिकातर्फ पनि सोझिएको छ। शहरको पानी नदीमा पठाउन निर्माण भएका नालाहरु पानीले भरिएका छन् भने नदीको ओभर फ्लोका कारण नदीसँग जोडिएका सडकबाट नै शहरसम्म पानी आइपुग्न थालेको छ। बजारको आदर्श नगरका सबै भुईतलाका सटरहरूमा पानी पसिसकेको स्थानीयले बताएका छन्। 

लगातारको वर्षाले अहिले पर्साको सुदूरपश्चिममा भने चिनिने ठोरी र सदरमुकाम वीरगन्जको सम्बन्ध छुटिसकेको छ। ३ नं प्रदेशको चितवनसँगको सम्बन्ध पनि ठोरी माडी सडकखण्डमा पर्ने एकदर्जन खोलामा आएको बाडीका कारण हिजोबाट छुटिइसकेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए। शुक्रबारबाटै भू-सतहबाट ठोरी चारैतर्फ सम्पर्कविहीन भएको उनले बताए।

ठोरीको ओडार र ठुटे खोलामा पुल भएर पनि पुल सञ्चालनमा नआउँदै वर्षात्ले सम्बन्ध विच्छेद बनाइदिएको स्थानीय प्रेम लामाले बताए। 'ओडार ढेडु लगायतका सानो खोलाहरू त झन बौलाएर आउन थालका छन्' उनले भने।  

ठोरीका ढेडु, ओडार खोला हुँदै जिल्लाका सिंघिया, नवरंगिया, सिर्सिया,  भुताहा खोलामा आएको बाडी नदीको सतहभन्दा माथि बग्न थालेको छ। जिल्लाको सबैभन्दा प्रभावित हुने ठोरीपछि पटेर्वा सुगौली ५ को मोरटोलबाट पीडित केही घर परिवारलाई नजिकको निचुटातर्फ सार्न थालिएको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारले थाहाखबरलाई बताए।

डुवान भएका क्षेत्रमध्ये वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० लालपर्सा र प्रसोतीपुरमा भेडाहा खोलाको पानी गाउँ पस्दा ११⁄१२ सय घर परिवार प्रभावित भएको पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। जगरनाथपुरका ६ घर बस्ने सक्ने अवस्थामा नभएको उनको भनाइ छ।

पर्साको ग्रामीण भेगमा भएका सवैठवा, बुढगाईं, खेस्राहा प्रहरी चौकीलाई समेत पानीको कारण अन्यत्र सार्नु परेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। बाढी जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गर्न नसक्ने अवस्था भएको उनको भनाइ छ।

महानगरपालिकाको अन्य क्षेत्रमा वीरगन्ज बजारको मुटु आदर्शनगर, रानीघाट, नगवा, गहवा, भिस्वा, राधेमाई मुर्ली, पानीटंयाकी एरिया सबै जलमग्न भएका छन्। आदर्श नगर, ठाकुरराम क्याम्पस एरिया, रानीघाट र राधेमाई चारै तिर नजिकको सिर्सिया नदीको पानी आइपुगेको प्रहरी उपरीक्षक राठौरले बताए। 

जिल्लाका अरु भू-भागहरूमध्ये पोखरिया नगरपालिकाको वडा नम्बर १, वडा नम्बर ७ को रानीगञ्ज, वडा नम्बर ८ को जगतपुर, र वडा नम्बर २ को जगरनाथपुरमा सर्वसाधारणका टाटी घर भत्कन थालेको र धेरै घरमा पानी पस्न थालेको छ।

त्यस्तै पूर्वको तिलावे र पश्चिमका साना नदिको पानी भरिएर विन्दवासी गाउँपालिकाको पनि बौहर्वा, गर्दौल, अमरपट्टी, बैरिया लगायतका क्षेत्रमा जलमग्न भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.