|

तनहुँ :
‘मेरा इनार त त सत्तल पाटि क्यै छन्

जे धन् र चीजहरु छन् घरभित्र नै छन्।
यस् घाँसिले कसरि आज दिएछ अर्ती
धिक्कार हो मकन बस्नु नराखी कीर्ति।। 

कीर्ति राख्ने काम नगरी बस्नु धिक्कार हो भन्ने नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मघर संरक्षण अभावमा खण्डहर बनेको छ।

२०५ वर्षअघि हालको भानु नगरपालिका ४ को शिखरकटेरीमा भानुभक्त आचार्यको जन्म भएको थियो। भानु जन्मेको घर भत्किएर खण्डहर भएको मात्र देख्न सकिन्छ।

उनको घरभित्र साना ठूला रुख हुर्किँदै गरेका छन्। भानुभक्त आचार्यको नाममा उनको जन्मजयन्तीको अवसरमा हरेक वर्ष देश विदेशमा कार्यक्रम हुन्छन्। २०६औँ भानु जयन्तीको अवसरमा पनि देश तथा विदेशमा धेरै कार्यक्रम भइरहेका छन् तर भानु जन्मघरको संरक्षणमा भने कसैको चासो छैन। 

भानु जन्मस्थलको विकास र यो क्षेत्रको संरक्षणका लागि सरकारले गठन गरेको भानुजन्मस्थल विकास समिति पनि अहिले नेतृत्वविहीन बनेको छ। देश संघीय संरचनामा गएपछि उक्त विकास समिति स्थानीय तह मातहत राखिएपश्चात् समिति नेतृत्वविहीन भएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शंकर रानाभाटले बताए। 

‘विगतमा संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नै भानु जन्मस्थलको विकासका लागि बजेट विनियोजन गर्थ्योे। चालु आर्थिक वर्षदेखि कुनै बजेट आएको छैन’, रानाभाटले भने, ‘सबै व्यवस्थापन भानु नगरपालिकाले नै गरेको छ।’ गत वर्षदेखि नगरपालिकाले नै भानुको जन्मजयन्तीको कार्यक्रम लगायत अन्य सबै कार्यक्रमको आयोजना र व्यवस्थापन गर्दै आएको उनले बताए। 

भानुजन्मस्थल शिखर कटेरी पुग्ने जो कोही साहित्यिक स्रष्टाहरुको मन भानुभक्तको जन्मघरको अवस्था देखेर कटक्क खाने गरेको बताउँछन्। २०७३ साल चैत २२ गते पश्चिमाञ्चल विकास मञ्च नामक संस्थाले भानु जन्मघरको पुननिर्माण गर्ने घोषणा गरेको थियो। तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी, पूर्वमुख्यसचिव लिलामणि पौडेल र मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले भानु जन्मघरको शिलान्यास गरेका थिए।

त्यसपछि कुनै काम अघि नबढ्दा घरको संरक्षण गर्न र पुनर्निर्माण गर्नका लागि अन्य संस्थाको पहल समेत सफल नभएको जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक रानाभाटले बताए। आफूहरू समितिमा रहँदासम्म भानु घरको पुनर्निर्माण कार्य तुरुन्त सुरु गर्न उक्त संस्थाको ध्यानाकर्षण गरे पनि अहिले के पहल भइरहेको छ भन्ने बारेमा कुनै जानकारी नभएको उनले बताए।

६८ लाखको लागतमा गुरुयोजना सहितको भानुगृह पुनर्निर्माणको काम अगाडि बढाउने घोषणा गरे पनि त्यसपछि कुनै काम नभएको रानाभाटले बताए। मञ्चले भने खानेपानीको अभाव, भानुगृहसम्म पुग्ने सडकको अवस्था, व्यवसायीको सुरक्षा आदिको कारण देखाउँदै तत्काल पुनर्निर्माण कार्य सुरु गर्न समस्या रहेको बताएको छ। भानु जन्मस्थल विकास समितिसँगको सहकार्यमा २०५७ सालमा चलचित्र निर्देशक यादव खरेलले ‘आदिकवि भानुभक्त’ चलचित्र निर्माण गर्ने क्रममा एक लाख रुपैयाँको लागतमा भानु जन्मघरको पुनर्निर्माण गरिएको थियो। उक्त घर २०६१ साल जेठमा जंगलमा आगो लाग्दा ध्वस्त भएको थियो। 

जिर्णोद्धारको कुरा

‘भानुको जन्मस्थललाई साहित्यिक ग्राम बनाउने कुरा चलेको वर्षौं भइसक्यो तर उनको जन्मघर भग्नावशेषमा परिणत भएको छ,’ गण्डकी वाङ्मय तनहुँका अध्यक्ष सागर अधिकारीले भने ‘यो सारा नेपालीका लागि लज्जाको विषय हो।’ 
भवन जीर्णोद्धारको जिम्मा लिएको पश्चिमाञ्चल विकास मञ्चले हालसम्म भवनको पुनर्निर्माणमा ठोस कदम चालेको छैन। यसप्रति भानुभक्तका खनाति श्रीभक्त आचार्य दुःख प्रकट गर्छन्। राष्ट्रिय विभूतिको जन्मघरलाई संरक्षण गरी सायित्यक क्षेत्रको रुपमा विकास गर्ने भनिएको धेरै भएपनि पुरा गर्न सरकारले नसकेको उनी बताउँछन्। ‘साहित्यप्रेमीको आस्थाका केन्द्र भानुको जन्मघर यो हालतमा हुनु विडम्बना हो,’ उनले भने, ‘यसको पुनर्निर्माण चाँडो हुनु जरुरी छ।’

के गर्‍यो विकास समितिले?

भानुको जन्मथलोको विकासका लागि सरकारले भानु जन्मस्थल विकास समिति गठन गरेको थियो। तर, समिति गठन भएको दुई दशक नाघिसक्दा समेत विकासका लागि ठोस पहल हुन सकेको छैन। संघीयता लागु भएसँगै समिति पनि विघटन भएर भानुको जन्मस्थलको विकासबाट संघीय सरकारले हात समेत झिकेको छ।

समितिमा लामै समय नेतृत्वमा रहेका भानुकै खनाति पर्ने श्रीभक्त आचार्य बजेट कर्मचारीलाई तलब भत्ता समेत दिन नपुग्ने गरी आएकाले केही गर्न नसकेकोे बताउँछन्। ‘कर्मचारीलाई तोकिएको तलब पनि दिन सकिएको छैन,’ उनले भने, ‘यसरी कसरी विकास गर्न सकिन्छ र!’

नाम मात्रै भानुग्राम

श्रीभक्त तीनपटक अध्यक्ष बन्दा पनि यो योजनाअन्तर्गत कुनै काम हुन सकेन। उनीबाहेक अध्यक्ष भएकाले पनि थप केही काम गरेनन्। विगतमा तामझामसाथ हुने भानुजयन्ती कार्यक्रमसमेत ओझेलमा पर्न थाल्यो।

विगतमा देश–विदेशका साहित्यकार आउने भानुजयन्तीको कार्यक्रम दलगत निकट रहेका समितिलाई नेता रिझाउने ठाउँ बन्न थालेपछि साहित्यकार बर्खे झरीमा चुँदी जाने कष्ट गर्न छाडे।

भानु नगरपालिकाले पनि आगामी आर्थिक वर्षमा भानु जन्मस्थलको विकासका लागि एकमुष्ठ १८ लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाका उपप्रमुख आशा थापाले जानकारी दिइन्। 

रामायण भवन 

भानु जन्मस्थल खण्डहर बनेपनि त्यसैको आडैमा २ करोड ६५ लाखको लागतमा रामायण भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोगमा तीन तलाको उक्त भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। 

उक्त भवनमा भानुभक्त र रामायणसँग सम्बन्धित श्लोकहरू, विभिन्न सामग्री राखिने र सभाहल, कार्यक्रमस्थल पनि निर्माण गरिने निवर्तमान कार्यकारी निर्देशक रानाभाटले जानकारी दिए। आचार्यको जन्मस्थलको विकासमा संघीय सरकारले नै ध्यान दिनुपर्ने नगरपालिकाका उपप्रमुख थापाले बताइन्। ‘भानुभक्तको विकासका लागि आवश्यक बजेट नगरपालिकामा हुँदैन, भानुभक्तको योगदानलाई स्थायित्व दिन र देश विदेशमा समेत प्रचार प्रसारका लागि संघीय सरकारले नै उचित कदम चाल्नुपर्छ’, उनले भनिन्। 

यसैबीच भानु जयन्तीको अवसरमा भानु नगरपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ। भनुको सम्झनामा नगरपालिकाले विभिन्न कार्यक्रम गर्नेे थापाले जानकारी दिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.